२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

‘बलात्कार सुन्दर हुँदैन’

काठमाडौं – आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘कथा काठमाडौं’को गीत ‘रातका कुरा’ सार्वजनिक भएपछि भिडियोमा रहेको प्रियंका कार्की र प्रमोद अग्रहरिको ‘बोल्ड दृश्य’ले निकै चर्चा पायो । गीतमा गायिका इन्दिरा जोशीको स्वर र अभिनय भए पनि प्रमोद र प्रियंकाको अन्तरंग दृश्यले फिल्म क्षेत्र गर्मायो।

यो भिडियो रिलिजपछि प्रियंका र प्रमोदले प्रशंसा कम  गाली ज्यादा खाए । यही गीतकै कारण प्रियंका र निर्माण टिमबीच खटपट रहेकोेसमेत समाचार आए । नभन्दै प्रियंका फिल्म रिलिजको संघारमा पनि मिडियामा देखिइनन्। फिल्मको गीत र ट्रेलर सार्वजनिक कार्यक्रममा समेत नदेखिएकी प्रियंका आइतबार भने पत्रकारसँग कुराकानी गर्न तयार भइन् । उनले फिल्मका कारणले नभइ आफ्नै कारणले मिडियाबाट टाढा रहेकोे बताइन् । ‘गीत र ट्रेलर रिलिजपछि मैले बोलिन भन्ने कुरा आयो । हामीले पूर्व योजना अनुरुप नै काम गरेकाले मैले केही कुरा बोल्न चाहिन,’प्रियंकाले खुलाइन्,‘हरेक कुराको प्रतिक्रिया जनाउनुपर्छ भन्ने छैन। त्यसकारण हामी पूर्व सल्लाह अनुरुप नै म मौन रहें।’

प्रियंकाले फिल्मको स्क्रिप्ट हातमा परेपछि र सुटिङ पश्चात फिल्मको दृश्यले आलोचना र चर्चा पाउँछ भन्नेमा आफू पहिले नै सचेत रहेको बताइन् ।  ‘सामाजिक सञ्जाल र युट्युबमा के कस्ता प्रतिक्रिया आउँछन्, त्यो म कहिल्यै हेर्दिन । तर मलाई भेट्नेहरूले गीत र ट्रेलरका केही दृश्यलाई सभ्य तरिकाले पनि प्रस्तुत गर्न सकिन्थ्यो नि भन्ने प्रतिक्रिया दिए,’प्रियंकाले भनिन्,‘तर सत्य के हो भने बलात्कार सुन्दर हुँदैन । फिल्ममा कोही बलात्कृत भइरहेको देखाउनुछ भने त्यहाँ सजावट, आर्कषण केही हुँदैन।’

प्रियंकाले फिल्मको कथा पृथक रहेको  पनि दाबी गरिन् । ‘हाम्रो समाजको हरेक तह र तप्कामा नारीले जुनसुकै कुरा पनि सहनुपर्छ भन्ने सोचाइ र मान्यता छ,’उनले भनिन्,‘हामीले यो फिल्मपछि समाजमा परिवर्तन आउँछ भन्न खोजेका होइनौं । समाजमा अझैं पनि अनेक किसिमका घरेलु हिंसा छन् । जुन हिंसा मानव अधिकारको आधारभूत सिद्धान्तको विपरित छन् भन्ने देखाउन खोजेका हौं।’

फिल्ममा प्रियंकाको जोडीका रुपमा देखिएका कलाकार प्रमोदले फिल्ममा आफ्ना तीन अवतार रहेको खुलाउँदै चरित्र निभाउन लामो अध्ययन गरेको बताए । ‘मैले नेपालगञ्जदेखि बुटवलसम्मको यात्रामा मेरो पात्रलाई प्रत्यक्ष भेटेको छु । फिल्ममा मेरो दुव्र्यसनी चरित्रलाई न्याय दिनकै लागि वास्तविक जीवनका पात्रले ठूलो सहयोग गरेका छन्,’प्रमोदले भने,‘गीत र ट्रेलर रिलिजपछि उनीहरूले सकारात्मक प्रतिक्रिया दिए । कतिले गाली पनि गरे । रमाइलो कुरा के रह्यो भने मलाई पुरुषभन्दा महिला फ्यानले फोन गरेर नेचुरल किसिमको अभिनय गर्नुभएको रहेछ भन्दै बधाई दिएका छन् । म गाली र ताली दुवैको भोको हो।’

फिल्मकी निर्देशक संगीता श्रेष्ठले करियर बनाउन काठमाडौं आउँदा आफूले भोगेको पीडालाई फिल्ममा देखाएको बताइन् । ‘काठमाडौं किन बिग्रियो भनेर सोध्दा जोकोहीले पनि उपत्यका बाहिरबाट आएका मानिसले बिगारे भनेर दोष दिन्छन् । काठमाडौंमा बस्ने जोकोहीले पनि उपत्यका बाहिरका मान्छेलाई दोष दिन थालेपछि यो विषयमा बोल्नुपर्छ भनेर मैले कथा तयार पारेको हुँ,’फिल्मकी लेखकसमेत रहेकी संगीताले भनिन्,‘काठमाडौं बाहिरका मान्छेलाई अपराधी जस्तो बनाइयो । काठमाडौं आएपछि मानिसहरू आफूलाई कुन हदसम्म पु¥याउँछन् भन्ने थाहा पाउन दर्शकले यो फिल्म हेर्नुपर्ने हुन्छ ।’ उनले फिल्ममा राखिएका दृश्यहरू प्रचारका लागि राखेको भन्ने आफूमाथि लागेका आरोप गलत रहेको जनाइन्।

विजय राई निर्माता रहेको फिल्मले तीन फरक पात्रले काठमाडौंमा भोग्ने समस्यालाई प्रस्तुत गरेको छ । फिल्ममा प्रियंका र प्रमोदसँगै सन्ध्या केसी, सञ्जोग कोइराला, आयुष्मान देशराज जोशी श्रेष्ठ र प्रेक्षा अधिकारीको अभिनय छ।

प्रकाशित: ९ आश्विन २०७५ ०६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App