१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

मिथिला र मण्डनाभित्र नेपाल भारतको छवि

काठमाडौं – नेपालको तराई भेगबाट उत्पत्ति भएको मिथिला कला र भारतको गुजरातको मण्डना कलाको इतिहास झन्डै समान छ । मिथिला कला तराई क्षेत्रको संस्कार र संस्कृतिको जग हो । त्यस्तै गुजरातको गन्धर्वपुरमा मण्डना घरघरै देख्न पाइन्छ । यी दुई कलाको संगम यतिबेला राजधानीको नेपाल कला परिषद्मा देख्न पाइन्छ।

इन्डो नेपाल भिजुअल आर्ट कला प्रदर्शनी र कार्यशालामा नेपालको मिथिला कलासँग मिल्ने भारतको मण्डना कलालाई तुलना गर्दै अवलोकन गर्न सकिन्छ । नेपालका तर्फबाट प्रदर्शनीको संयोजन गरेका कलाकार अजित शाहले मिथिलासँग मिल्ने भएकाले त्यसको जानकारी दिन पनि कला प्रदर्शनीले सहयोग गर्ने बताए । ‘मिथिला कलामा हरेक रंगको मिसावटले रंगिन बन्छ भने मण्डना उस्तै शैली भए पनि रंगरोगनमा केही फरक रहेको पाएँ,’ शाहले भने, ‘नेपाली र भारतीय कलामा एकरुपतासँगै भिन्नता पनि रहेछ।’

भारतका तर्फबाट संयोजन गरेका कलाकार अतुल पडियाले मिथिला कला जस्तै घरघरमा सिगार्ने मण्डना लोप हुँदै गएको खुलाए । ‘कंक्रिटका ठूला घर बन्न थाले र यस्ता घरमा मण्डना होइन बजारिया रंग लगाउन थालिए,’ पडियाले भने, ‘यसले गर्दा मौलिक गाउँको कला हराउँदै गएको छ ।’ उनका अनुसार माटोका घरमा सेतो, रातो र निलो मौलिक रंगलाई विभिन्न आकार दिएर सिंगार्ने गरिन्छ।

नेपालको मिथिला कलाले भने मिथिला क्षेत्रको घर आँगन मात्र सिंगार्ने मात्र हैन । स्थानीयको जीवनशैली संस्कृति संस्कार, प्रथा परम्परा आदिलाई पनि कलाभित्र समेटेर प्रस्तुत गर्ने चलन रहेको छ । प्रदर्शनीमा कलाकार रञ्जु यादवले दाइजो तथा तिलक प्रथा झल्काउने मिथिला कला प्रदर्शनीमा राखेकी छिन् । एकातिर बेहुला र अर्कोतिर उसको तौल जत्तिकै तिलकका रुपमा बेहुलीका पक्षले दाइजो तुलामा जोख्दै गरेको चित्रले तराइको विकृत प्रथाको चित्रण गर्छ । ‘यो तराइ क्षेत्रमा चलिरहेको कुरिती हो,’ यादवले भनिन्, ‘त्यसैले यसविरुद्ध जागरण फैलाउन चित्र कोरेकी हुँ।’

अजितले मिथिला कला धान्ने पहिलो स्रोत मिथिलाका महिला भएकाले उनीहरूकै गतिविधिलाई चित्रमा स्थान दिएका छन् । भारतको तर्फबाट पडियाको माण्डनामा गणेशको चित्र बनाइएको छ । रातो रंगको गणेशले स्थानीयता बोल्दछ । सपना शाहले मिक्स मिडियाको प्रयोग गरेकी छिन्।

प्रदर्शनीमा नेपालका देवेन्द्र थुम्केली, सरोज लामिछाने, नरबहादुर विश्वकर्मा, कुमार दोर्जेलगायतको १२ कलाकृति छन् । त्यस्तै भारतका १५ कलाकृति रहेका छन् । कला प्रदर्शनीसँगै आयोजित कला कार्यशालामा नेपाल र भारतका कलाकारले आफ्ना कलात्मक सीप साटासाट गरे । मिथिला, कन्टेम्पोरेरी, ल्यान्डस्केप लगायतका विविध कलाका विधागत प्रविधि एकअर्कामा साटफेर समेत गरेका हुन् । गत बुधबारदेखि सुरु भएको कला प्रदर्शनी आइतबार सकिएको छ ।
 

प्रकाशित: ११ असार २०७५ ०४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App