२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
कला

‘नेपाली साहित्य दलालीतर्फ जाँदैछ’

समालोचक तथा कवि नेत्र एटम (नेत्रमणि सुवेदी) पेसाले त्रिभुवन विश्वविद्यालयमा  प्राध्यापन  गर्छन्।  साहित्यको समालोचना गर्दै  आएका  एटमसँग नेपाली साहित्यमा  कविताको  उपस्थिति र समालोचनाका नयाँ आयाम अनि साहित्यको विकृतिका विविध पाटोमा आधारित रहेर  शुक्रवारकर्मी प्रजु पन्तले गरेको  कुराकानी : 

कविताको क्षेत्रमा समालोचना गर्दै आउनुभएको छ हिजोआज केमा आधारित रहेर समालोचना गर्दै हुनुहुन्छ ?
म खासमा नयाँनयाँ कुरामा कलम चलाउन रुचाउँछु, त्यसकारण  नेपाली कविताको पर्यावरण चेतना केकस्तो छ भनेर अध्ययन अनुसन्धान गर्दैछु । कवितामा पर्यावरणीय चेतना कसरी आएको छ, हाम्रा कविहरुमा यसको चेतना कति छ भनेर पनि हेर्न खोजिरहेको छु ।

पर्यावरणीय समालोचना भनेको के हो ? 
पर्यावरण भनेको भौतिक र जैविक वस्तु बीचको सम्बन्ध हो । यी दुईबीच सन्तुलन कस्तो छ रु अहिलेका कविताले कसरी सम्बोधन गरेका छन् रु कविताले वातावरणलाई कसरी हेरेको छ रु भन्नेमा आधारित रहेर अध्ययन गर्न खोज्दै छु । यसबारे केही समय पहिले सैद्धान्तिक लेख पनि लेखेको थिएँ । समालोचनाको लागि यो पूरै नयाँ विषय हो ।  

त्यो लेख कुन विषयमा केन्द्रित थियो ?
विश्वमा पर्यावरणीय साहित्य कतातर्फ गइरहेको छ, त्यो कस्तो  चलिरहेको छ रु भन्ने विषयवस्तुमा आधारित थियो । विशेष गरी त्यसमा ‘इकोसिस्टमका’ कुरा छन्। पुँजीवादले  कसरी जनताको विपक्षमा काम  गरिरहेको छ भन्ने बारेमा पनि थियो । पुँजीपतिहरुको पक्षमा वातावरणको दुरुपयोग भइरहेको छ। जस्तोः राजमार्ग बन्यो भने वनफँडानी गरिन्छ। त्यसको प्रत्यक्ष असर त्यहाँका स्थानीयलाई परिरहेको हुन्छ। भारतमा केही समय पहिले ‘चिप्को’ भन्ने आन्दोलन चलेको थियो। ठेकेदारहरुलाई सरकारले ठूला रुखहरु काट्न दियो, त्यहाँका स्थानीयले रुखलाई अँगालो हालेर काट्न दिएनन्। नुवाकोटबासीले काठमाडौँको फोहोर सहिरहेका छन् । यस्तो चिजलाई कविताले कसरी सम्बोधन गर्दोरहेछ भन्नेतर्फ म हेरिरहेको छु । 

पहिलाका कविताहरुमा पर्यावरणबारे कस्तो ‘सेन्स’ पाउनुभयो र अहिले लेखिएका कवितामा पर्यावरणीय चेतनामा के भिन्नता रहेछ ? 
पहिला लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, सिद्धिचरण श्रेष्ठका उर्वशी वा लेखनाथ पौड्यालको ‘तरुण–तपसी’ आदिमा पाउन सकिन्छ । अहिलेका कवितामा यस्तो चेतना कम छ । प्रकृतिसँग मानव जातिको जीवनको तादम्यता कसरी मिलेको छ भन्ने कुरा पाउन मुस्किल छ नेपाली कवितामा । अविनाश श्रेष्ठका कवितामा भने हाम्रो ब्रह्माण्ड, वनविनाश र ऊर्जा सङ्कटलाई सम्बोधन गरिएको छ ।

हाम्रोमा राजनीतिक चेत भएका कविता अलि बढी छन्, हो ?
बाहिर सुनिएका र मिडियामा धेरै पढिएका तिनै राजनीतिक कविता हुन् । अब राजनीतिक चेतसँग पर्यायवरणीय चेतलाई र यी दुवैलाई गहन कलात्मकतासित पनि जोड्न आवश्यक छ ।

कवितामा कसरी राजनीतिक चेत र पर्यावरणीय चेतना जोड्ने ?
समाजवादी चेत भएका कविले जोड्न सक्छन् । पुँजीवादी चेत  भएकाले सक्दैनन् । पुँजीवादी प्रजातन्त्रले व्यक्ति र व्यक्तिगत सम्पत्तिलाई मात्र महत्त्व दिन्छ । त्यसका निम्ति व्यक्ति नै सर्वेसर्वा हो । जस्तोः धेरै चाउचाउ उत्पादन गर्छ चौधरी ग्रुपले, यहाँ उसको आम्दानी मात्र हेरिन्छ, विनोद चौधरी अर्बपति भएको भनेर मक्ख परिन्छ । त्यो उत्पादनले समाजमा कस्तो असर परेको छ, स्वास्थ्यमा के कस्तो असर परेको छ भनेर हेरिन्न तर समाजवादी चेत हो भने त सामाजिक भाव बढी हुनुपर्छ नि, अनि प्रकृतिको विनाशले समाजमा कस्तो असर पार्छ, त्यो पनि हेर्छ तर पुँजीवादका पक्षधरले त्यो हेर्दैनन् । हाम्रोमा समाजवादी चेत अत्यन्त कम छ । 

साहित्यकारमा समाजवादी चेत कस्तो छ ?
चल्तीका अधिकांश साहित्यकारमा राजनीतिक पार्टी र आइएनजिओले ल्याइदिने मुद्दामा मात्र केन्द्रित हुने प्रवृत्ति छ । तिनमा आफ्नो मौलिक चेत देखिँदैन । राजनीतिक दल नपुगेको ठाउँमा पुगेर नयाँ विचार, दर्शन दिनुपर्ने, उज्यालो छर्नुपर्नेमा उनैको फेरो समातेर हिँड्ने साहित्यकारहरु धेरै देखिन्छन् । 

किन यस्तो भएको ?
यो साहित्यकारहरुमा सङ्कीर्ण मानसिकता हाबी हुँदै गएको लक्षण हो । स्वार्थी मानसिकता भएका कतिपय साहित्यकारले सस्तो लोकप्रियताका लागि प्रकाशकको निर्देशनअनुसार लेख्नुपर्ने स्थिति पनि सिर्जना गर्न थालेका छन् । 

राजनीतिक दल र आइएनजिओ अनुसार लेख्न थालेका छन् भन्नुभयो, यसरी नेपाली साहित्य कतातिर जान्छ ?
यसरी लेखिने निर्देशित साहित्य त दलाली र भ्रष्टतातिर जान्छ । अहिले नेपाली साहित्य त्यही कुबाटोतर्फ जाँदैछ कि जस्तो लाग्छ । 

भनेपछि साहित्य दलालीतर्फ जादैछ भनेर बुझे हुन्छ?
हो । सबै त होइन, धेरै चाहिँ कोही राजनीतिक दलको कोही आइएनजीओको दलालीतर्फ  लागेका छन् । सिस्टम बिग्रेको छ । जे लेखिदिए फाइदा हुन्छ त्यही लेख्ने, मिडियाले पनि राम्रा रचनालाई भन्दा सम्बन्ध र पहुँचलाई नै प्राथमिकता दिने, प्रचारप्रसार र पैसाको लागि लेख्नहरुकोे बाढी नै आएको छ, यसले नेपाली साहित्यलाई राम्रो गर्दैन । 

यो त सबै क्षेत्रमा देखिएको विकृति होइन र ?
त्यै त, साहित्यमा पनि यो विकृति नै हो । बजारमा के बिक्छ भनेर लेख्ने कि अन्तर्मनले के भन्छ भनेर लेख्ने रु साहित्यकारले अन्तर्आत्माको सोच लेख्ने हो । निर्धक्क साथ लेख्न प¥यो, कसैलाई  खुसी पार्न लेख्ने होइन । आफ्नै जीवन र आफूले अवलम्बन गरेको चिन्तनलाई पनि आलोचनात्मक रुपले लेख्न सक्नुपर्छ । 

साहित्यमा त धेरै विकृति औँल्याउनुभयो, नेपाली समालोचनाको स्थिति कस्तो छ ?
साहित्य जस्तो छ, त्यस्तै छ समालोचना पनि । समालोचना साहित्यबाटै निर्देशित हुन्छ । साहित्य जति फैलियो, कलात्मक हुँदै गयो, समालोचना पनि त्यति गहन हुँदै जान्छ । हाम्रा साहित्यकारलाई अरुसित तुलना गरेको मन पर्दैन, तुलना नभई मूल्याङ्कन हुँदैन । आफ्नो प्रशंसा भए ठीक, नभए बेठीक । अहिलेका साहित्यकार त अलिकति आलोचना पनि सुन्नै चाहँदैनन् । 

अहिले त समालोचना पनि सही तरिकाले गरिँदैन भन्ने छ नि ?
यो पनि आंशिक रुपले सही हो । लेखक वा प्रकाशकहरुले समालोचकलाई के लेख्दा फाइदा हुन्छ, त्यही तरिकाले समालोचना गराउने गरेको पनि देखिन्छ । पत्रिकामा आउने समालोचना कि त अधिक प्रशंसा गरेर किताब बिकाउने कि भने विवादमा तानेर चर्चित बनाइदिने भन्ने तरिकाबाट चल्दै गएको छ । यस्ता सस्ता र प्रायोजित समालोचनाका विरुद्ध गहन समालोचना पनि लेखिन्छन्, तर तिनको पठन प्राज्ञिक निकायमा मात्र सीमित छ ।   

प्रायोजित विवाद भन्नाले ? 
लेखक स्वयम्ले आफ्नो कृति चर्चित होस् भनेर, प्रायोजन गरेर विवाद निकाल्न पठाउने गरेको देखिन्छ । अनि त्यो विवादबाट गलत फाइदा लिने। जसरी हुन्छ, किताबलाई चर्चाको माल बनाउने र बिकाउ कुरामा मात्र जाने उद्देश्यले विवाद सिर्जना गरिएको पनि देखिन्छ। 

अलिकति प्रसङ्ग मोडाैँ, नेपाली साहित्यमा कति धार देख्नुभएको छ ?
तीन धार देखिन्छन् । एक यथास्थितिवादी, दुई अग्रगामी र तीन अवसरवादी । यथास्थितिवादीले जस्तो छ, त्यस्तै चलोस् भन्ने पक्षबाट लेख्छ र प्रायः यो पीडक वर्गको पक्षबाट लेख्छ । अर्को अग्रगामी, जसले सदा न्यायपूर्ण परिर्वतन चाहन्छ, जसले पीडित वर्गको पक्षबाट लेख्छ । अवसरवादी धारकाले समय र अवस्था हेरेर जुन विषय र सन्दर्भमा लेख्दा आफ्नो व्यक्तिगत स्वार्थ पूरा हुन्छ, त्यसै गरी लेख्छ । तेस्रो धारकाले चर्चित हुन, सत्तामा जान वा अन्य व्यक्तिगत लाभ लिइराख्न जे पनि लेख्छन्, सङ्गठन बनाएर प्रभाव पनि पार्छन् । पार्टी बदलेर सत्तामा बसिरहन चाहने नेताजस्तै हुन् ती ।

साहित्यमा धार छुट्याएर लेख्ने प्रचलन ठीक हो ?
विचार त सबैको आआफ्नो भई नै हाल्छ र त्यसले धार पनि छुट्याउँछ । साहित्यकारको दृष्टिकोण कुन बाटो र कति कलात्मकताका साथ जाने भन्ने हुन्छ । सबै मान्छेलाई  समानमा हेर्ने कि, मानवीयतालाई प्राथमिकतामा राख्ने कि व्यक्तिगत स्वार्थलाई मात्र हेर्ने भन्ने कुरा हो । विचार जे छ, त्यही नै सिर्जनामा प्रतिविम्बित हुन्छ । 

साहित्य कुनै वादबाट प्रेरित हुनुहुँदैन भन्ने पनि छ नि ?
किन हुन नहुने रु वादबाट प्रभावित हुन मिल्छ तर त्यसमा कलात्मकता हुन प¥यो । सुन्दर मात्र भएर पनि भएन, त्यो मानवीय चिन्तनलाई उज्यालोतिर लैजाने पनि हुन प¥यो । पारिजातको ‘शिरीषको फूल’को अस्तित्ववादी चिन्तनको कृति हो, यो मान्छेको हितअनुकुल छैन, आत्महत्यातर्फ उन्मुख तर त्यो कलात्मक छ । वैचारिक चिन्तनका रुपले पनि सुन्दर भएको भए त्यो झन् उच्च हुने थियो । 

यी त सबै विकृतिका कुरा भए, कस्ता विषयमा साहित्य लेखियो भने चैँ नेपाली साहित्य उकासिन्छ ? 
साहित्यको कुनै सीमा छैन । जे विषयमा र जुनै विधामा लेखे पनि लेखनको ‘इन्टेसन’ सही हुन पर्‍यो र त्यो कलात्मक पनि हुन पर्‍यो । लेखकले आफैँलाई ढाँटेर लेख्न हुँदैन, चर्चा मात्र कमाउनका लागि नारीलाई दास ठान्नेले नारीवादी साहित्य लेखेर त्यो अर्थहीन हुन्छ । आफू पनि अँध्यारोबाट उज्यालोतिर हिँड्ने र लेखनको बाटो पनि त्यसरी नै तय गरेर कलात्मक नवीनतातिर लाग्न सके नेपाली साहित्य अघि बढ्छ। 

अरु विधाको तुलनामा कविता अलि थोरै निस्किएको हो ?
कथा, उपन्यास समाजको यथार्थमा आधारित काल्पनिक सिर्जना हुन् र बाहिरतिर फर्केका हुनाले पढ्दा ती अधिक रोचक हुन्छन् । कविता त कविको ‘इन्टर्नल’ आवाज हो, अमूर्त ‘इमोसन’को विम्व हो । कविता धेरै खाँदिएको हुन्छ र यसलाई शब्दशब्दले जीवन्त बनाएको हुन्छ । त्यसैले यसलाई आत्मसात् गर्न काव्यिक संस्कार आवश्यक पर्छ । कथा उपन्यास धेरै बिक्लान्, कविताको बजार अलि कम होला तर प्रकाशकले कविता कम छाप्लान् तर कविता थारै निस्किए पनि अरु विधाका तुलनामा नेपाली कविता सुन्दर छन् । 

आख्यानको तुलनामा कविताले पाठकलाई कसरी तानेको छ ? 
कविताको अन्तरमा ‘म्युजिक’ छ, अलिकति चिन्तनको नवीनता छ । अहिले यसको प्रस्तुतिमा पनि विशिष्टता देखिन थालेको छ । विचार र आनन्दको सङ्गम बनेर प्रदर्शन गर्न सकिने हुनाले कविताले पाठकलाई तान्छ र पछिसम्म प्रभावित पारिरहन्छ, नेपाली आख्यानको प्रभाव समाचारको जस्तो छ, पढुञ्जेललाई मात्र । कविताको गहिराइ आख्यानमा छैन ।शुक्रवार साप्ताहिकबाट         

प्रकाशित: ४ जेष्ठ २०७५ १३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App