२९ असार २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को पोस्टर सार्वजनिक

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को पोस्टर देशका प्रमुख आठ सहरमा एकसाथ सार्वजनिक भएको छ । निर्माण टिमले काठमाडौंसहित बिर्तामोड, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट अपराह्न एक साथ पोस्टर अनावरण गरेको हो ।  

“देशभर एकसाथ सिनेमाको पब्लिसिटी होस् र सिनेमालाई लिएर दर्शकमा उत्सुकता सिर्जना होस् भनेर देशभरका ठूला सहरमा बेलुन उडाएर पोस्टर सार्वजनिक गरेका हौँ,” चलचित्रका निर्माता विमल न्यौपानेले भने । मोफसलका दर्शकलाई पनि सिनेमाबारे जानकारी दिने उद्देश्य रहेको निर्माता न्यौपानेले जानकारी दिए ।  

निर्माण टिमले दुईवटा पोस्टर एकसाथ सार्वजनिक गरेको छ । राकेश दहालले डिजाइन गरेको एउटा पोस्टरमा विजय बरालसँगै केकी अधिकारी र मिरुना मगर छन् । अर्को पोस्टरमा केकी अधिकारीलाई मात्र देखाइएको छ ।  

दुईवटै पोस्टरले सिनेको कथा अर्थात् सम्बन्धको परिबन्धमा बाँधिएको यथार्थलाई देखाउने प्रयास गरेको छ । मिरुना मंगोलियन फेसमा छिन् । विजय र केकी आर्य । त्यसैले विजय आफ्नो जातीय परम्परालाई अंगाल्दै परिवारतिरै बसौँ वा क्रान्तिकारी निर्णय गर्दै मन पराएको मान्छेसँग विवाह गरौँ भन्ने दोधारमा रहेको पोस्टरले प्रष्ट पारेको छ ।

अर्को पोस्टरमा केकी छिन्, जो धागोहरूले बाँधिएको अवस्थामा छिन् । उनको हात पहेँलो, निलो र रातो रंगको धागाले बाँधिएको छ । त्यसैले उनी क्रान्तिकारी निर्णय गर्दै विजयलाई साथ दिन्छिन् वा सामाजिक परम्परालाई नै निरन्तरता दिनुपर्छ भन्ने दोधारमा रहेको पोस्टरले संकेत गरेको छ । पोस्टरमा लेखिएको छ, ‘जति पीडा भए पनि कहिले ऐया नभन्ने मेरी दिदी’ । यसले विजयको निर्णयमा केकीको साथ रहेको संकेत गर्छ ।

पोस्टरमा रहेका कलरले दोधारमा रहेका पात्रको मनोविज्ञान चित्रित गर्छ । धागोले पोस्टरलाई केही फरकपन दिएको छ । दर्शकमा पोस्टरले सिनेमालाई नोटिस गराउन सक्छन् ।  

निर्माणपक्षले यसअघि नै फर्स्ट लुक्स सार्वजनिक गरेको थियो । जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’लाई हिमाल न्यौपानेले निर्देशन गरेका छन् । यो चलचित्र भदौ ६ गते रिलिज हुनेछ। चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

बलियो लाइनअप देखिएको चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।  

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।  

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।  

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के।सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।  

अल टाइम ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।

प्रकाशित: २२ असार २०८२ १८:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App