भनिन्छ, उमेर संख्याको गणना मात्र हो। मानिसभित्र उत्साह र लगाव भयो भने उसमा रहेको सिर्जनात्मकतालाई उमेरले रोक्न सक्दैन। यिनै कुरालाई बहत्तर वर्षको उमेरमा स्वप्निल बिपनाहरू नामक कथासङ्ग्रह प्रकाशित गरी साहित्यकार नीला घिमिरेले पुष्टि गरेकी छन्। यो उनको पछिल्लो नविनतम कृति हो। यसअघि उनका अस्तित्व, मुटुभरि बादल र पानाभरि पानी तथा मेरा बा नामक तीन कृति बजारमा आइसकेका छन्।
प्रस्तुत कथासङ्ग्रहभित्र चिन्तामा हजुरबुवा, जुवाइँको सत्कार, वृद्धाको हुँकार, घुँगौरी, खेत र बाढी, एक कित्ता खेत र ब्यानर, अन्योल आँखाहरू, नियति, अपहेलना, गैरवाली, गिटी र सपना, फुलबरिया र सङ्कल्प शीर्षकमा ग्रामीण तथा सामाजिक परिवेशलाई मुख्य विषयवस्तु बनाएर लेखिएका छोटामीठा तेह्र कथा समेटिएका छन्।
प्रायःजसो कथाहरू पारिवारिक र सामाजिक सेरोफेरोमा बुनिएका छन्। सम्पत्तिको नाममा हुने मुद्दामामिला, पारिवारिक विखण्डन, गाउँघरमा पाउना आउँदा हुने प्रेममय सत्कारको तौरतरिका तथा निरंकुश भनिएको तत्कालीन शासन व्यवस्थाभन्दा प्रजातन्त्र प्राप्ति पछिको कालखण्डमा देखिएको अनेक विकृति र विसंगति कथाले गम्भीर रूपमा उठाएको छ।
गाउँका युवाहरू अवसर खोज्दै शहर पस्ने र शहरका विदेश पलायन हुने प्रवृत्तिले के गाउँ के शहर सबैतिर धेरैजसो वृद्धवृद्धाहरू मात्र देखिन्छन्। दैनिक हजारौं युवा विदेश उड्न विमानस्थलमा लामबद्ध अवस्थामा देखिनुले देश बिस्तारै वृद्धाश्रममा परिणत हुँदै गएको आभाष दिन्छ। कथाले यस्तै वृद्ध आमाबुबाहरूले भोग्नुपरेको एकल र कष्टकर जीवनको कटु यथार्थ उजागर गरेको छ। ग्रामीण परिवेश र लवजमा लोपोन्मुख ठेट नेपाली शब्दको प्रयोगले कथामा बेग्लै मीठास थपेको छ।
गाउँमा बस्नेहरूका आआफ्नै पीडा छन्। सधैं पसिनाको समुद्र मात्र बग्दैन गाउँघरमा, समयसमयमा बाढी पसेर समुद्रमय बन्छ गाउँघर। तैपनि गाउँमा प्रकृतिसितको निकटताको बेग्लै आनन्द भेटिने कुरा कथामा पाइन्छ। खेतीपातीमा आधारित कृषकका समस्या, पीडा लगायतका ग्रामीण सामाजिक यथार्थ पनि कथाले देखाएका छन्।
अति राजनीतिग्रस्त हाम्रो जस्तो समाजमा राजनीतिक विषयले कथामा स्थान नपाउने कुरै भएन। रकम खर्चिएर पद प्राप्त गर्ने र पदको माध्यमबाट अकूत धन कमाउने महत्त्वाकांक्षा बोकेका पात्र र प्रवृत्ति प्रति कथाले व्यङ्ग्य गरेका छन्। विधवालाई हेर्ने सामाजिक दृष्टिकोण र विधवा विवाह पक्षमा देखिएका सन्तानका सोचाइ मार्फत समाजले समयानुकूल परिवर्तन हुन सक्नुपर्छ भन्ने सकारात्मक सन्देश दिइएको छ।
मानिसभित्र मानवीय संवेदना हराउँदै गएको छ। नाता सम्बन्धभन्दा पैसा र सम्पत्तिलाई प्राथमिकता दिन थालिएको छ अचेल। खल्तीमा रहनुपर्ने पैसा मनभित्र बस्न थालेपछि, असाध्य रोग लागेर उपचारमा सम्पत्ति गुमाएका परिवारका अशक्त सदस्यलाई आफनै परिवारले हेला गर्नु कुन ठुलो कुरा भयो र! यस्तै पीडा भोगेका कथाका पात्रको विपतमा आफ्नो पनि आफ्ना हुँदा रहेनछन्। सन्तान सृष्टि थाम्न मात्र हुँदा रहेछन् भन्ने भनाइले पाठकलाई भावविह्वल बनाउँछ।
वैदेशिक रोजगारीमा गएकाहरूको पीरव्यथा पनि कथामा छन्। हाँसीखुशी विदेश गएको आफ्नो छोरा बाकसमा फर्केंदा आफूले पाएको जस्तो पीडा अरूले भोग्नु नपरोस् भनेर गाउँमै रोजगारी दिन एउटी आमाले गरेको प्रयासले राज्यपक्षलाई जिम्मेवार बन्न सचेत गराएको छ। अन्तर्जातीय विवाहका सकारात्मक पक्ष उठाउँदै यस मार्फत सामाजिक एकता, आपसी मेलमिलाप र धार्मिक साँस्कृतिक सम्बन्ध बिस्तार हुने देखाइएको छ।
यसैगरी वृद्ध अवस्थामा जीवनसाथी गुमाएर एकल बाँच्नुपर्दाको मार्मिक चित्रण उल्लेख गर्दै सन्तानलाई आफ्ना वृद्ध आमाबाबुप्रति थप जिम्मेवार हुन सचेत गराइएको छ।
कथालाई मनका भावनाहरू शब्दसीमाको पर्वाह विना ढुक्कसँग व्यक्त गर्न सकिने विधा मानिन्छ तर अहिले समय अलिक महँगो भएको छ। जीवनयापनको क्रममा व्यस्तता बढेकाले मानिससँग लामा रचनाहरू पढ्ने फुर्सद छैन। त्यसैले होला हरेक क्षेत्रमा जस्तो साहित्यमा पनि छोटा विधाहरूको वर्चस्व स्थापित हुँदै गएको देखिन्छ। यस्तो परिवेशमा पुराना पुस्ताका लेखकबाट समाजलाई सकारात्मक सन्देश दिने कथाकृति प्रकाशित हुनु महत्त्वपूर्ण कुरा हो। पुराना पुस्ताका अनुभवबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न पाउँछन्।
लेखनी सरल र मीठासपूर्ण छ। हामीले आफ्नै वरिपरि देख्दै, सुन्दै र भोग्दै आएका विषयवस्तु कथामा भएकाले पढ्दै जाँदा पाठकलाई आफैं कथाको पात्र भएको महसुस हुन्छ। कथाहरू पाठकलाई अन्तिमसम्म बाँधेर राख्न सफल छन्। यो कथाकारको लेखकीय सफलता पनि हो। निकै नजिकैबाट सामाजिक र पारिवारिक परिवेश तथा ग्रामीण जीवनको सामीप्य महसुस गर्न सकिने प्रस्तुत कथासङ्ग्रहलाई कथाकारको सात दशक लामो जीवन भोगाइका अनुभवजन्य दस्तावेज पनि मान्न सकिन्छ। आगामी दिनमा पनि उनका यस्तै थप कृति पढ्न पाउने आशाका साथ एउटा पठनीय कृतिका लागि कथाकार घिमिरेलाई धेरैधेरै बधाई!
कृति - स्वप्निल बिपनाहरू
विधा - कथा
कथाकार - नीला घिमिरे
प्रकाशक - बलेसी साहित्य समाज
पृष्ठ - ६४
मूल्य - २००।–
संस्करण - प्रथम, २०८१
प्रकाशित: २१ असार २०८२ १२:२८ शनिबार