३० पुस २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

प्यारो ओखलढुङ्गा प्रेमिल सान्निध्य

स्मृति

बुझ्नै गाह्रो, आफ्नै बरालिएको जीवनचक्र, अल्झिएर परिलक्षित भइदिन्छ। कालक्रममा जीवनगति किन ढिलो भएको जस्तो लाग्छ? औंला भाँच्दै जाँदा चिरञ्जीवीको आशिष् निःशेष भएको सूचना पो गर्छ, सपना शेष छु, अझैं भन्छ, जीवन–यात्राको नागबेली बाटो नजरबाट टाढिएको देखिन्छ, बल्ल होस खुल्छ, त्यसै बेहोसीमा विस्मयकारी संयोग ‘मेरो प्यारो ओखलढुङ्गा’को स्वप्निल सम्झनातिर तानिन्छु। अवश्य पनि यो कुनै अदृश्य शक्तिको अनुग्रह सम्झँदै, विनीत भावसँगै प्रस्तुत हुन्छु। मेरो आफ्नै जीवनचक्रमा झन्डै ६ दशकपूर्व अर्थात् २०२३/२४ सालको सम्झना। महेन्द्र हाइस्कुल डडेलधुरामा अध्यापन। कक्षा ९ र १० का विद्यार्थीलाई नेपाली र अंग्रेजी पाठन।

त्यो पल सम्झँदा अहिले पनि म रोमाञ्चित हुन पुग्छु। छात्रछात्रा ताली पड्काउँदै एक स्वरमा बोल्थे, ‘आज मेरो प्यारो ओखलढुङ्गा’ सर। म अन्तर्यबाटै प्रेरित हुन्थेँ पढ्न र पढाउन–

‘तिम्रै सुन्दर हरियालीमा,

तिम्रै सुन्दर वक्षस्थलमा

यो कविको शैशवकाल बित्यो

हाँस्यो खेल्यो वनकुञ्ज घुम्यो

मेरो प्यारो ओखलढुङ्गा’

यहाँ शब्द शब्दमा यसरी नाद स्फुरित हुँदा श्रोताको हृदय झङ्कृृत भइदिन्छ। त्यो सम्मोहनबाट टाढिन फेरि कसको आँट ! जति–जति बग्दै गयो, त्यति–त्यति भावविभोर भइन्छ, कुन माटोको होला त्यो तिलस्मी कुची? जहाँ प्रकृति यौवनमा झुल्छ, मधुमासको आँचल पक्री तरुबल्लरी, मृगशावक पछ्याउँछन् इन्द्रेणी पुरोधालाई।

‘कुसुमाकरको आँचल पक्री

मलाई कति खोज्दी हुन् प्रकृति

मृग सावकहरू उफ्री–उफ्री

तरु लतिकाहरू हल्ली–हल्ली

मेरो प्यारो ओखलढुङ्गा’

कल्पना गर्थें, हिमगिरिका निर्मल, निर्झर गतिका महामना कविको भौतिक स्वरूप कस्तो होला? परिवेश कस्तो होला? साक्षात्कारको सुअवसर पनि आउला कि? यस्तैयस्तै सपना उब्जिरहन्थे। कविका सिर्जनाभित्र डुबेर हेर्थें– एउटा प्रकृतिमैत्री, शालीन स्वरूप, अत्यन्त सहृदयी, स्नेही, अन्यायविरुद्ध जेहाद छेड्ने योद्धा। लक्ष्यबद्ध रूपको दृढता गर्थें। तदनुरूप विद्यार्थीका जिज्ञासा प्रस्ट्याउँथेँ।

अचम्मको घटना, त्यो अनकन्टार ठाउँमा स्कुलको शुक्रबारे कविता वाचनमा सात कक्षाकी एउटी छात्राले ‘मेरो प्यारो सुन्नर गाउँ’ सुनाएर श्रोतालाई छक्क पारिन्। ‘मेरो प्यारो ओखलढुङ्गा’को जादु थियो यो। अवश्य पनि मेरो कक्षा प्रतीक्षामा रहन्थ्यो विद्यार्थीहरूको, ‘मेरो प्यारो ओखलढुङ्गा’को अध्ययन र अध्यापन संवेदनाको सूत्रमा बाँधिदिने झनै बलियो सेतु बन्थ्यो गुरु–शिष्यको। मेरो एक दशकको अध्यापकीय अनुभवका अविस्मरणीय घटना हुन् यी। नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक युगकविका सिर्जनालाई तन्मय भएर पढ्थें, पढाउँथेँ। विद्यार्थीहरू पनि अर्थ गाम्भीर्यमा डुबिरहेका हुन्थे।

‘अर्को मार्ग घुमाउरो बहुतै, नौली न भेट्ने भयो,

जाऊँ पुग्न सकिन्न आज त कसै साह्रै बिचल्ली पर्‍यो,

फर्की चिर्बिर शब्दले वनभरी आवास खोच्छन् चरा

नौली भेट्न निवास पुग्न नसकी मान्छे रुने यो बरा !’

कठै ! कस्तो विप्रलम्भता स्वच्छन्दताको निलो आकाशमा। कविका कवितामा भावुकता, रमणीयता, रोचकताले लबालब तिलस्मिताको अनुभूति भइरहन्थ्यो, ‘कवि कविता हो कि कविता कवि हो’को रसानुभूतिमा आप्लावित हुँदै जान्थेँ। घन्टी बज्थ्यो, झल्यास्स हुन्थेँ। छिटै घन्टी बजेको भान हुन्थ्यो। पढ़ूँ–पढूँ, पढाऊँ–पढाऊँ भइरहन्थ्यो।

अचम्मको कुरा त विद्यार्थीमा पनि कता–कता तिनै भाव र भावना रसान्वित भइरहेको पाइन्थ्यो। भोलिपल्ट कक्षामा पुग्न पाएको छैन ‘मेरो प्यारो ओखलढुङ्गा पढ्ने सर आज पनि’ सुनिन्थ्यो। कस्तो जादुई र लोमहर्षक लगाव। कारण यहाँ जीवन र जगतको धरातलीय संवेदन संवेदित भइरहेको हुन्थ्यो। जहाँ प्रेम, माया, स्नेह, समत्व, करुणा, दया, दाक्षिण्य छचल्किरहेको हुन्छ, सँगै व्यवधानको पीडाले विद्रोह जन्माइरहेको हुन्छ।

न्यायको निम्ति विद्रोह गर्नेले जीवन विसर्जित गर्नु परे गर्छ, तर गन्तव्यमा पुगेर मात्रै त्यो पडाबबाट अघि बढ्छ। त्यसै झन्डावाहक सिद्धिचरण श्रेष्ठले ‘ज्युँदा सहिद’को अनमोल पगडी पाएका होइनन्। उनको पनि परिवार थियो, मौजको रहनसहन हुनसक्थ्यो तर सह्य भएन मनपरी जहानियाँ शासन र जनताको दुर्दशा। बलिदानी साथीसँगै होमिए। तिनै भाव र शब्दको अवनि अम्बरतल हो सिद्धिचरण वाङ्मय।

‘भाग्य लहरमा लहरी लहरी

पुगेँ म यस मरुस्थलमा कसरी

तर खेद छैन तिम्रो आकृति

लेखिएको छ यो हृदयभरि

मेरो प्यारो ओखलढुङ्गा’

कालजयी कविका नेपाल र नेपाली भाषाका सिर्जनामा युग बोल्छ। फलतः जनजनको जिब्रोमा उनी ‘युग–कवि’का रूपमा रसान्वित हुन पुग्छन्, सबैमा समादृत हुन्छन्। राष्ट्रको अन्तर्य परिलक्षित राष्ट्रगान कविको अनुपम सिर्जना हो। नेपाली र नेवारी वाङ्मयको भण्डार सिद्धिचरणका सिर्जनाबाट समृद्ध भएको छ।

संयोग जुट्यो राष्ट्रदेव पशुपतिनाथको दर्शन गर्ने। काठमाडौं पुगेँ। मेरा सपनाका युगकवि सिद्धिचरण श्रेष्ठको सान्निध्य मात्र होइन, अभिभावकीय संरक्षकत्व पनि पाएँ। परिवारको सदस्यवत् स्नेह पाएँ, दिशानिर्देश पाएँ जीवन पर्यन्त। अवसर पायो कि म ‘ओमबहाल’ पुग्थेँ। उहाँसँगको भाषिक, साहित्यिक, सांस्कृतिक, सामाजिक, राजनीतिक कुराकानीबाट म लाभान्वित भइरहन्थेँ।

मप्रति उहाँका शुभकामनाका भाव– ‘स्वर्गीय क्षणको शाब्दिक अनुभूति नै कविता हो। ‘मर्स्याङ्दी–दरौंदीको अविरल कलकल ध्वनिमा होस् अथवा ‘छोरीको बिदाइ आदिमा होस्, कविले स्वर्गीय क्षणको दर्शन पाएका छन्। कवि आरडी ‘प्रभास’लाई म धेरै वर्ष अघिदेखि चिन्छु। उहाँका सरल र स्वस्थ अभिव्यक्तिहरूले मलाई प्रभावित पारेका छन्।’

‘जेहि के जेहि पर सत्य सनेहू, सो तेहि मिलइ न कछु संदेहू’ तुलसीकृत रामायण। यो अकाट्य सूक्ति हो। सो अप्रकाशित कविताको प्रत्यक्षानुभूति शताब्दीपूर्व रचिएको, अहिलेसम्म प्रकाशनमा आउन नसकेको युगकवि सिद्धिचरण श्रेष्ठको हस्तलिखित कविता मसँगै यतिका वर्षसम्म लुकेर सुरक्षित रहेछ। त्यो मेरा लागि विस्मयकारी घटना हुन पुगेको छ। ‘सत्य सनेहू’को आशीष थियो ममाथि यो। फेरि त्यो कविता प्रकाशित भए नभएको यकिन गर्न युगकविका सुपुत्र ‘युगकवि सिद्धिचरण श्रेष्ठ प्रतिष्ठान’का प्रमुख संरक्षक रविचरण श्रेष्ठसँगको सम्पर्कबाट कविता अप्रकाशित भएको जानकारी भयो। त्यही कविता मौलिक रूपमै प्रस्तुत गर्ने साइत जुरेको छ। प्राप्त कविता:  

मर्स्याङ्दी, दरौंदी, कोसी, गण्डकी, कर्णाली, महाकालीसँगै गङ्गासागर सगरमाथासँगको साइनोमा रमाउन आइपुग्यो। सगरमाथा हौसियो, गङ्गासागर उत्तरतिर फर्केर रमायो, ओखलढुङ्गाले युगकवि सिद्धिचरण तथा यौवन सम्झ्यो, हामी रमायौं, कविता रमायो, उत्सव मनायौं। 

प्रकाशित: २१ असार २०८२ ०९:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App