‘असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्मा अमृतं गमय।’ यस वैदिक प्रार्थनाको अर्थ हो– हामीलाई असत्यबाट सत्यको बाटो लानुहोस्, अन्धकारबाट प्रकाशतर्फ र मृत्युबाट अमृततर्फ लानुहोस्।
- बृहदारण्यक उपनिषद्
ज्ञान जीवनको आधार हो। ज्ञानबिना दुःखबाट मुक्ति हुन सक्दैन। ज्ञानयोग प्राचीन हिन्दु दर्शनको एउटा दिव्यमार्ग हो। ज्ञानबाट मोक्ष प्राप्ति पनि हुन सक्छ। किनकि यो धेरै नै शक्तिशाली र महत्त्वपूर्ण मार्ग हो।
सांसारिक जगत्मा ज्ञानको पाँच स्तम्भ छन्:
धैर्य: प्राचीन धर्मग्रन्थमा यसलाई संयम पनि भनिन्छ। धैर्यबाट आपूmमाथि नियन्त्रण गर्न सकिन्छ। आत्मनियन्त्रित नभएको व्यक्ति केही पनि गर्न सक्दैन। दैनिक जीवनमा जब हामी असन्तुलित वा निराश हुन्छौं, त्यही बेला हामीलाई लाग्छ, हामी केही गर्न सक्दैनौं। यसबाट प्रेरित भएर उल्टापुल्टा विचार मनमा आउन थाल्छन्। त्यस्तो असामान्य स्थितिमा धैर्य राख्नुभएन भने आत्महत्या गर्ने प्रवृत्ति बढ्दै जान्छ। यस्तो स्थितिमा नै संयमको आवश्यकता पर्छ। व्यावहारिक जीवन र आध्यात्मिक साधनामा पनि धैर्यको धेरै महत्त्व छ।
शुद्ध विचार: शुद्ध विचारलाई वर्तमानमा सकारात्मक सोच भनिन्छ। शुद्ध विचार सबैका लागि कल्याणकारी हुन्छ। शुद्ध विचार सामाजिक प्रभाव, राम्रो सम्बन्ध तथा व्यक्तित्व विकासका लागि महत्त्वपूर्ण छ। जे भयो राम्रो भयो, जे भइरहेछ राम्रो भइरहेछ, जे हुनेछ राम्रो हुनेछ। यसबाहेक सबै मान्छेप्रति कल्याण भाव राख्नु शुद्ध विचारको विज्ञान हो।
साहस र उत्साह: जन्मदेखि नै हामी आनन्द लिएर आएका हुन्छौं। गलत कर्म र विचारले निराशा र दुःखलाई जन्म दिन्छ। निराशा र दुःख मृत्युभन्दा पनि भयावह हुन्छ। बेलाबेलामा सबैले प्रतिकूल परिस्थितिको सामना गर्नुपर्छ। प्रतिकूल परिस्थितिले निराशा र तनाव जन्माउँछ। यस्तो परिस्थितिमा साहस र उत्साह राख्नुपर्छ। साहस र उत्साह दुवै हाम्रीभित्रै छन्। अभ्यास गरेर यिनलाई जगाउनुपर्छ। शान्त मन नै शक्तिशाली हुन्छ। कुनै पनि कार्यको राम्रो परिणामका लागि साहस र उत्साह जरुरी छ।
आत्मविश्वास: एउटा उखान छ– वनको बाघ भन्दा मनको बाघ खतरनाक हुन्छ। अहिलेसम्म हामीले जीवनमा जे गरेका छौं, त्यो आत्मविश्वासको परिणाम हो। आत्मविश्वास नभएको मान्छे बिनापेट्रोलको कारजस्तै हो। आत्मविश्वासी व्यक्तिलाई नै समाज र प्रकृति सहयोग गर्छ। आत्मविश्वास एउटा शक्ति हो। यो शक्ति छैन भने प्रकृतिले त्यसलाई नाश गरिदिन्छ। जीवनको हरेक क्षेत्रमा आत्मविश्वासको आवश्यकता छ।
क्षमा: मानव जीवन धेरै नै नाजुक छ। यसमा थरी थरीका सम्बन्ध हुन्छन् र थरीथरीका घटना पनि हुन्छन्। कुनै प्रतिकूल हुन्छन्, कुनै अनुकूल हुन्छन्। पटक पटक आरोप प्रत्यारोपको सामना गर्नुपर्छ। कति पटक गल्ती नगरे पनि त्यसको सजाय भोग्नुपर्छ।
वर्षमा दुईतीन पटक यस्तो घटना घट्दै रहन्छ। यस्ता सबै नकारात्मक र दुःखद कुरालाई मनमा राखेर यात्रा गर्न गाह्रो हुन्छ। यसकारण ज्ञानको पाँचौं स्तम्भ क्षमालाई हामीले बिर्सिनुहुँदैन। जहाँ क्षमा गर्न आवश्यक छ, क्षमा गर्दै अगाडि बढ्नुस्। क्षमा गर्दा अरूका साथै आफ्नो पनि कल्याण हुन्छ।
आध्यात्मिक ज्ञान र मुक्ति प्राप्तिमा ज्ञानयोग
जुन दिन सबै भौतिक कुरा अर्थहीन र निरर्थक हुन् भन्ने थाहा हुन्छ, त्यस दिन असली ज्ञानयोगको अनुभूति हुन्छ। धेरै पहिला जगदगुरु शङ्कराचार्यले भन्नुभएको थियो– ब्रह्मसत्य, जगत् मिथ्या। संसार असत्य हो, केही पनि छैन र ब्रह्म मात्र सत्य हो। यस यथार्थको अनुभूति गराउनु ध्यानयोगको काम हो।
अज्ञानतावश मान्छे काम, क्रोध, लोभ, मोह, ईष्र्या र द्वेषको जालोमा फसेको हुन्छ। जहिले पनि यी ६ प्रवृत्तिमध्ये कुनै न कुनै हाम्रा पछाडि लागिहाल्छन्। सांसारिक दुःखबाट नै मान्छेको मनमा विरक्ति पैदा हुन्छ। विरक्तिको बाटो भएर ज्ञानयोगको दुनियामा छिरिन्छ र मुक्तिको यात्रा सुरु हुन्छ।
प्रकाशित: ७ असार २०८२ १०:५९ शनिबार