२० पुस २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

नेपाली सेनाको ‘खम्पा निःशस्त्रीकरण’

इतिहास

नेपाली सेनाले खम्पा निःशस्त्रीकरणको कारबाही दुई चरणमा पूरा गरेको थियो। पहिलो चरणमा अप्रेसन बाहिनीपति सिंहप्रताप शाह, गणपति प्रमुख सेनानी सच्चितशमशेर राणालगायतले कारबाही सुरु गरेका थिए। मुस्ताङको जोमसोम इलाकामा निःशस्त्रीकरण कारबाही गर्दागर्दै खम्पा कमान्डर गे वाङ्दी एकाएक भाग्छन्। उनी दार्चुलाको लिपुलेक हुँदै भारत पस्ने योजनामा रहेको खबर प्राप्त हुन्छ।

अब दोस्रो चरणको कारबाही सुरु हुन्छ। यो चरणमा नम्बर ४ बाहिनीपति सहायक रथी आदित्यशमशेर राणाको नेतृत्वमा दार्चुला जिल्लामा रहेको वाङ्दी भाग्न सक्ने नाका र बाटाहरूमा सैनिक एम्बुस थापेर वाङ्दीलगायत टोली समात्ने वा जरुरी परेमा गोली हान्ने निर्णय भएअनुसार जनरल आदित्य राणाले कारबाही सञ्चालन गरे। योजनाअनुसार दार्चुलाको टिंकरमा थापिएको एम्बुसमा परी जनरल गे वाङ्दीलगायत केही खम्पा मारिए। त्यसपछि यो निःशस्त्रीकरण कारबाही अन्त्य भएको थियो।

 खम्पा जनरल गे वाङ्दी 

दलाई लामाको सेनालाई खम्पा पनि भनिन्थ्यो। अमेरिका, भारत र दलाई लामाको सहकार्यमा खम्पाहरूलाई नेपाल उतारी, नेपाली भूमिबाट चिनिया सेना र चिनियाँ सम्पत्तिमाथि आक्रमण गराउने कार्य भए। ती खम्पाले मनाङ, मुस्ताङ लगायत उत्तरी हिमाली जिल्लाहरूमा लुटपाट गर्ने, महिलालाई बलात्कार गर्ने कामसमेत गरे। त्योभन्दा दुःख लाग्दो कुरो मनाङ र मुस्ताङमा खम्पाले नै राज गरे।

नेपाल टुलुटुलु हेरेर नदेखेको जस्तो गरी बस्यो। यो समस्त गतिविधिलाई ‘खम्पा काण्ड’ भनिन्छ। नेपाली भूमिबाट यो काम हुन नदिनका लागि नेपाली सेनामार्फत ‘खम्पा निःशस्त्रीकरण’ नाम दिएर सैनिक कारबाही गरिएको थियो। यो कारबाहीको नाम के दिने? भन्नेबारे समस्या थियो। अमेरिका, भारतलगायतको मिलेभगतमा नेपालमा थुप्रिएका खम्पालाई सिधै मार्ने वा खत्तम गर्ने भनेर नेपालले सैनिक कारबाहीको नाम दिन सकेन।

‘निःशस्त्रीकरण’ एउटा कूटनीतिक र सरल शब्द थियो। गजबको कुरो त नेपाली कांग्रेसको सरकारले स्विकारी खम्पाहरू स्वागत गरिएका थिए भने राजा महेन्द्रले समेत खम्पालाई देखेर पनि नदेखेजस्तो गरी मौन सहमति दिएपछि खम्पाहरूले नेपाली भूमिबाट चिनियाँमाथि आतंक मच्चाइरहेका थिए। जरैदेखि खोतल्ने हो भने खम्पा नेपाल भित्रिनुमा नेपालकै गल्ती थियो, बदमासी थियो।

दलाई लामा, भारत र अमेरिकाले त त्यो काम नेपाली भूमिबाट गराउनु उनीहरूको स्वार्थ थियो। तर उनीहरूको स्वार्थमा नेपाल बिकेको थियो। यही पृष्ठभूमिमा चीनले नेपाली माटोबाट चीनविरुद्धको आतंक रोक्न नेपाललाई दबाब दिएपछि ‘खम्पा निःशस्त्रीकरण’ को सैनिक कारबाही जन्मियो।

तत्कालीन प्रधानसेनापति सिंहबहादुर बस्नेत

यो कारबाही गराउने मुख्य पात्रहरूमा राजा वीरेन्द्र, प्रधान सेनापति सिंहबहादुर बस्न्यात, नम्बर ४ बाहिनीपति सहायकरथी आदित्यशमशेर राणा, अप्रेसन बाहिनीपति सहायकरथी सिंहप्रताप शाह तथा कारबाहीको मुख्य जमिनी कमान्डर प्रमुख सेनानी कर्नेल सच्चितशमशेर राणा थिए भने कारबाहीका लागि मुख्य श्रीनाथ गणलाई तोकियो।

कर्नेल सच्चितशमशेरको मदर युनिट श्रीनाथ गण भएकाले उनकै मागअनुसार यो गणलाई मुख्य जिम्मेवारी दिइएको थियो भने नेपाली सेनाका अन्य धेरै अंगले संयुक्त कारबाही गरेका थिए। यो कारबाहीमा नेपाली सेनाका दुई जनाको खति भयो। एक जना भिरबाट लडेर मरे भने अर्का हाई अल्टिच्युड लागेर मरे। जमिनमा भने खम्पातर्फका कमान्डर गे वाङ्दी थिए भने नेपाली सेनाको कमान्डर कर्नेल सच्चितशमशेर राणा थिए।

पृष्ठभूमि

तिव्बत चीनले कब्जा गरेपछि २०१५ साल (१९५८ मार्च १०) मा तिब्बतका शासक अवतारी दलाई लामा लाह्साबाट कालिम्पोङ हुँदै भागेर भारतमा शरण लिन पुगे। मार्च २७ मा दिल्ली पुगेका उनलाई भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले हिमाञ्चल प्रदेशको धर्मशालामा दलबलसहित बस्ने अनुमति दिए।

दलाई लामालाई पछ्याउँदै थुप्रै तिब्बतीहरू भारत पुगिसकेका र कतिपय पुग्ने क्रममा थिए। उनले तिनै शरणार्थीहरूबाटै तिब्बती सेना खडा गरे। खम्पाहरूको उद्गम थलो तिब्बतको खाम प्रदेशभित्रका चार नदी र ६ पहाडी शृङ्खलालाई प्रतीक मान्दै उक्त सेनालाई ‘फोर रिभर्स एन्ड सिक्स माउन्टेन रेन्ज रिलिजियन प्रोटेक्सन आर्मी’ नाम दिइएको थियो। यी सेनालाई खम्पा भनेर चिनिन्थ्यो।

उक्त सेना गठन भएको झन्डै ४० वर्षपछि अमेरिकी गुप्तचर संस्था सिआइएले सार्वजनिक गरेको गुप्त योजनालाई उद्धृत गर्दै लस एन्जल्स टाइम्स पत्रिकाले ‘नेपाल पठाइएको तिब्बती गुरिल्लाहरूलाई तालिम दिन अमेरिकाको फ्लोराडो राज्यमा सिआइएले तिब्बती हाउस बनाएको थियो’ भनी छाप्यो।

उक्त पत्रिका अनुसार यस प्रक्रियाको सुरुवात सन् १९५६ बाट सुरु भई तिब्बती खम्पालाई सैनिक तालिम दिने काम अमेरिकी सहयोगमार्फत झन्डै एक दशकसम्म चल्यो। २०१४ सालमा अमेरिकाबाट लडाकु तालिम लिई आउने पहिलो टोलीका एक सदस्य गे वाङ्दी थिए। उनी नै पछि नेपाली भूमिबाट सञ्चालित खम्पा विद्रोहको नाइके भए। उनी दलाई लामालाई सुरक्षा दिँदै तिब्बतबाट भारत पुर्‍याउनेमध्ये एक थिए। उनलाई सेनापति जर्नेल भनिन्थ्यो।

तिब्बती भाषामा ‘गे’ को अर्थ सेनाको जनरल हो। सिआइएले भारतीय गुप्तचर संस्था रअसँग पनि सहकार्य थाल्यो। रअले देहरादूनको चक्रता भन्ने स्थानमा ‘इस्ट्याबलिसमेन्ट–२२’ नामको प्रशिक्षण शिविर नै सञ्चालन गर्‍यो। लस एन्जलस टाइम्स पत्रिकाअनुसार दलाई लामा र नेपालमा परिचालित खम्पा गुरिल्लाहरूलाई तालिम, हतियार र बन्दोबस्ती लगायत अन्य खर्चस्वरूप प्रतिवर्ष १७ लाख अमेरिकी डलर खर्च गर्थ्याे।

 तत्कालीन बाहिनीपति सहायक रथी (पछि प्रधानसेनापति) सिंहप्रताप शाह

२०२९ सालमा रिचनिकसन राष्ट्रपति भएपछि यो खर्च बन्द भयो। किनकि त्यसबेला निकसन र चिनियाँ राष्ट्रपति माउसेतुङको सम्बन्ध सुध्रिएको थियो। अब अमेरिकाले खम्पालाई पैसा दिएर चीनलाई चिडाउन चाहँदैनथ्यो।

खम्पा गुरिल्लाहरू मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेलामा नेपाल पस्न थाले। सुरुका मुख्य कमान्डर गे हिस्सीसहित करिब दुई सय खम्पा रक्सौल नाकाबाट नेपाल प्रवेश गर्न लाग्दा वीरगन्जका बडाहाकिम पूर्णसिंह खवास (पूर्वआइजिपी)ले सेनाप्रहरी लगाएर नियन्त्रणमा लिए। सरकारमा रहेको कांग्रेसका गृहमन्त्री सूर्यप्रसाद उपाध्यायको आदेशमा ती खम्पा रिहा गरिए।

भारतको आग्रहमा उनले त्यसो गरेपछि तिब्बती शरणार्थीको नेपालभित्र ओइरो लाग्यो। सुरुमा करिब दुई हजारको संख्या भएका खम्पा सेना पछि झन्डै १० हजार पुगेको तथ्य गुप्तचर विभागका पूर्वडिआइजी प्रभातशमशेर राणाको भनाइ छ। २०१८ सालसम्म त खम्पा गुरिल्लाहरू देशको उत्तरी भागका ठाउँ ठाउँमा फैलिइसकेका थिए। तिनीहरूलाई हतियार, गोला, बारुद, खाद्यान्न र अन्य बन्दोबस्ती सामान, मानवीय अन्य सहायता सामग्रीभित्र लुकाएर मुस्ताङको तांगेभु र ओलाङचुङ्गोला नेरयाङमा हवाइजहाजद्वारा पुर्‍याउँथे।

सिआइएले कूटनीतिक आवरणमा सोही प्रयोजनका लागि रसुवाको थाम्बुचेत (माङचेत) र काठमाडौंकै स्युचाटारमा साना साना विमानस्थलसमेत निर्माण गरेको थियो। यसबारे नेपालका राजा, प्रधानमन्त्री, नेता, सेना, प्रहरी र प्रशासनलाई थाहा नभएको होइन। यो हुन दिनुमा सबै जिम्मेवार थिए।

भियतनाम युद्धताका सिआइएले जासुसी प्रयोजनका लागि प्रयोग गरेका अमेरिकी विमानमा थाइल्यान्डको ब्यांककस्थित अमेरिकी सैनिक अखडाबाट हतियार, गोलीगट्ठा र रसद मुस्ताङ क्षेत्रमा पुर्‍याइन्थे। अत्याधुनिक हतियारद्वारा सुसज्जित खम्पाहरूले अब नेपालको उत्तरी सीमा अवस्थित नेपाली अधिकारी तथा स्थानीय प्रशासक समक्ष अनेक माग राख्थे र कार्यान्वयन गर्न बाध्य पार्थे। हुँदाहुँदा पछि त उनीहरू चीनविरुद्ध सैनिक कारबाही गर्दागर्दै नेपालका उत्तरी जिल्ला आफ्नो भएको दाबीसमेत गर्न लागे। ती क्षेत्रमा खम्पाहरूले आफ्नो झन्डा गाड्ने तथा दलाई लामाको तस्बिर पनि झुन्ड्याउन थाले।

नेपाली पक्षको मौनताले खम्पाहरूलाई झन् मात चढ्यो। उनीहरूले नेपालभित्र लुटपाट, हुलहुज्जत र बलात्कारसमेत गर्न थालेका थिए। यसैबिच २०३१ सालमा राजा वीरेन्द्रको चीन भ्रमण भयो। चिनियाँ प्रधानमन्त्रीले राजासँग कुरा हुँदा खम्पा गुरिल्लाको गतिविधिबारे गम्भीर चासो व्यक्त गरे।

चीनबाट फर्कनासाथै वीरेन्द्रले उनको शुभराज्याभिषेकअगावै खम्पा विद्रोहको अन्त्य हुनुपर्नेबारे सुरक्षासम्बद्ध अधिकारीहरूलाई आदेश गरे। सेना, प्रहरी र गुप्तचरका प्रमुखहरू तुरुन्तै सो आदेशको पालनामा जुटिहाले। सैनिक गुप्तचरका कर्नेल कृष्णप्रसाद उपाध्याय, डिएसपी पञ्चबहादुर क्षत्री र गुप्तचर विभागका एसपी लेखबहादुर पाँडेको समूह सुरुवाती कारबाहीमा लागे। राजदरबारका तर्फबाट सबै कुराको संयोजन गर्ने व्यक्ति ताम्ला उक्याव थिए। मुस्ताङ हेर्ने प्रशासकीय अधिकृत कर्नेल शैलेन्द्रबहादुर महत थिए।

‘खम्पा निःशस्त्रीकरण’ अभियानका अप्रेसन कमान्डर प्रमुख सेनानी (पछि प्रधानसेनापति) सच्चितशमशेर राणा

 

खम्पाहरू स्थायी र अस्थायी रूपबाट पूर्वमा ताप्लेजुङको ओलाङचुुङ्गोलादेखि रसुवा, मुस्ताङ, हुम्ला हुँदै दार्चुलाको टिंकरसम्म तैनाथ थिए। जोमसोमदेखि चार पाँच घण्टाको पैदल दुरीमा रहेको विकट स्थान कैसाङमा उनीहरूको हेडक्वार्टर थियो। अन्य क्याम्पहरू कागबेनी, ठिनी, छुसार, समार, दिलिङ, साम्दा, ताङगेभू, टुकुचे, धामी, साम्दा, पाडगच्या, मुक्तिनाथ र मनाङमा थिए। साढे सत्र हजार फिट उचाइमा रहेको टाङ्गेभूमा अमेरिकी जहाजले सामान खसालेको सूचना प्रात भएको थियो। यसैबिच गुरिल्ला संगठनको फुट सुरु भयो। उनीहरूका नाइकेबिच आपसी शक्तिसंघर्ष, विश्वासघात, खिचातानी, नेतृत्व नियन्त्रणको कमी, आपसी मनमुटाव भयो।

खम्पाहरूको मुख्य नाइके गे हिस्सी र गे वाङ्दीबिच पनि यस्तै आपसी बेमेल थियो। वाङ्दीभन्दा अघिका कमान्डर गेहिस्सीमाथि आर्थिक अनियमितताको आरोप लागेको थियो। पछि सिआइएबाट तालिम प्राप्त वाङ्दीलाई दलाई लामाको समर्थन र मुख्य कमान्डर बनाएपछि हिस्सी चुपचाप निष्क्रिय भई बसेका थिए। रसुवामा आफ्ना समर्थकहरूसँग बसेका हिस्सीसँग नेपालको सरकारी निकायले सम्पर्क कायम गर्‍यो।

पहिलो चरण

चीनको भ्रमणबाट फर्केका राजा वीरेन्द्रले खम्पा विद्रोहीलाई नियन्त्रण पार्ने अठोट लिइसकेका थिए। रसुवाबाट हेलिकोप्टरमा काठमाडौं उतारिएका गे हिस्सी (उनलाई हिस्सी बाबा पनि भनिन्थ्यो) सँग कुरा गर्न राजा आफैं अग्रसर भए। ताम्ला उक्याबका अनुसार खम्पा विद्रोह नियन्त्रणमा साथसहयोग दिएमा हिस्सी र उनको समूहलाई समाजमा सुरक्षित रूपमा स्थापना गर्न वचन दिइयो।

हिस्सीले सरकारसमक्ष अग्रिम आत्मसमर्पण गरे। त्यसैबिच २०३१ सालमा उत्तरी सीमा प्रशासक कर्णेल (मानार्थ महासेनानी) एमसी शैलेन्द्रबहादुर महतले वाङ्दीको कैशाङस्थित शिविरमा पुगी उनीसँग कुरा गरे। हिंस्सी र उनको समूहले आफ्नो सबै सूचना नेपाल सरकारलाई दिई आत्मसमर्पण गरेकाले वाङ्दीको पनि मनोबल टुट्यो।

यसैबिच खम्पाभित्र दुई समूह छुट्टिएकाले आपसमै पनि भिडन्त हुने खतरा बढ्यो। खम्पाहरूलाई आफ्नो शक्ति र कमजोरी राम्रै थाहा थियो। धेरै खम्पाहरूले विदेशी भूमिमा बसेर शक्तिशाली चीनसँग मुकाविला गर्न हरेस पनि खाइसकेका थिए। थप क्षति हुनबाट बच्न भन्दै दलाई लामाले पनि आत्मसमर्पण गर्न खाप्पाहरूलाई टेप सन्देश पठाएका थिए।

यता शाही नेपाली सेनाले मुस्ताङतर्फ दबाब बढाउँदै गएको थियो। आफ्नो पक्ष चेपुवामा पर्दै गएको महसुस भएपछि वाङ्दीले आफूहरू आत्मसमर्पण गर्न तयार भएको पत्र पठाए। उनले आत्मसमर्पण गर्नका लागि समय मागे।

खम्पाहरूको मुख्य अखडा मुस्ताङको कैसाङ र वरिपरि तैनाथ खम्पा गुरिल्लाहरूलाई सकेसम्म शान्तिपूर्ण तवरले निःशस्त्रीकरण गराई तिनीहरूलाई एकत्रित गर्न राजा वीरेन्द्रको आदेशअनुसार शाही नेपाली जंगी अड्डाले २०३१ असार १ गते केही फौज पोखरातर्फ रवाना गरायो। खम्पाविरुद्ध केही नगर्न अमेरिका, भारत र  पश्चिमा देशहरूको दबाब हुँदाहुँदै पनि राजा वीरेन्द्रले आफ्नो अडान छोडेनन्। यस सैनिक कारबाहीको नाम ‘खम्पा निःशस्त्रीकरण’ राखियो।

विश्व परिवेशमा गाल नपरोस् भनेर नरम तरिकाको यो नाम जुराइएको थियो। प्रमुख सेनानीपछि प्रधान सेनापति सच्चितशमशेर राणालाई श्रीनाथ गणको गणपतिको कमान्डर बनाई श्रीनाथ गणलाई यस अभियानमा भाग लिने मुख्य फौजका रूपमा तोकिएको थियो। सैनिक अभ्यासको रूपमा परिचालित गराइएको योसहित निम्न गण गुल्मका अन्य फौजका केही संख्या सम्मिलित यस सैनिक अभियानका मुख्य कमान्डर वाहिनीपति सहायक रथी (पछि प्रधानसेनापति) श्री सिंहप्रताप शाह तोकिए– श्री श्रीनाथ गण (मुख्य लडाकु पैदल फौज), श्री राजदल गण तोपखाना, श्री भैरवनाथ गण प्यारा कमान्डो, स्पेसल फोर्स, श्री कालीप्रसाद गण फिल्ड इन्जिनियर्स, श्री गणेश दल गण मिलाप सिग्नल, श्री फस्ट राइफल गण लडाकु पैदल फौज, श्री इन्द्रध्वज गुल्म, लडाकु पैदल फौज, श्री अहिदमन गुल्म, लडाकु पैदल फौज, श्री चन्दन नाथ गुल्म, लडाकु पैदल फौज।

पोखराबाट अघि बढेको फौज नाउडाँडा, हिले, घोडेपानी, शिख, दाना, घाँसा, लेते मार्फा हुँदै जोमसोम पुगी बाहिनी अड्डा खडा गर्‍यो। राजदल गणले लागेको ७५/२४ प्याक हावित्जर (तोप) त्यहीं राखियो। यसअघि नै गणपति प्रमुख सेनानी सच्चितशमशेर राणाले खम्पाको विभिन्न क्याम्पबारे खबर हासिल गरिसकेका थिए।

सेनाको यस प्रकार परिचालन र तोपबाट फायरिङसमेत हुन थालेपछि युद्धको खप्पाहरूमा निकै दबाब पर्न थाल्यो। १९११ सालमा प्रधानमन्त्री जंगबहादुरले भोट युद्ध गर्दाको तयारीपछि यो खम्पा निःशस्त्रीकरण अभियानको तयारी नै दोस्रो ठुलो थियो। छार्का र मनाङमा पनि फौज तैनाथ गरिएको थियो।

यस अभियानमा पोखरादेखि श्री इन्द्रध्वज गुल्मले एडभान्स (अगुवा) पार्टीका रूपमा अगुवाई गरको थियो। फौज जोमसोम पुगेपछि ‘फ्ल्याग मार्च’ गर्दै छोटो तथा लामो गस्ती हुन सुरु भयो। जोमसोमबाट सेनाले खम्पानाइके गे वाङ्दीलाई ‘हतियार बुझाई आत्मसमर्पण गर्नु, नत्र नेपाली सेना सैनिक कारबाही गर्न तयार छ’ भन्ने ब्यहोराको पत्र पठायो।

जताततैको निरन्तर दबाबबाट खम्पा गुरिल्लाहरूको हौसला खस्कँदो थियो। गे वाङ्दीले ‘हतियार बुझाई आत्म समर्पण गर्न तयार छौं’ भनी पत्र पठाए। उनले २०३१ साउन ५ गतेबाट हतियार बुझाउन सुरु गर्ने बताए पनि फेरि साउन ११ गतेबाट बुझाउने भनी माग राखे। त्यसपछि फेरि म्याद थपको माग गर्दै साउन १६ गते राति दुई बजेबाट बुझाउने सन्देश पठाए। यसमा सेनाले मञ्जुरी दियो।

निःशस्त्रीकरण कारबाहीका लागि सेना अघि बढिसकेको थियो। स्थानीय बासिन्दाले दिएको खबरअनुसार आत्मसमर्पण गर्ने भनी खम्पाले भनेको कुरा षड्यन्त्र मात्र थियो। आत्मसमर्पण गर्न म्याद गुज्रेपछि तोपबाट गोला दाग्दै सेनाले कैसाङ क्याम्पमा आक्रमण गर्‍यो। खम्पातर्फबाट कुनै प्रतिकार नहुँदा सेनाले कैसाङ, क्याम्पमा धावा बोली कब्जा गर्‍यो। क्याम्पभित्र सेनाले खम्पाका थुप्रै हतियार, गोलीगट्ठा फेला पार्‍यो। सेनाले तुरुन्तै समार, छुसाङ, छिलिङ धमी क्याम्प पनि सजिलै कब्जा गर्‍यो। थुप्रै खम्पाहरूले सेनासमक्ष आत्मसमर्पण गरे।

तर नाइके गे वाङ्दी भने फेला परेनन्। पक्राउ परेकाहरूको भनाइअनुसार आफ्ना ५०/६० जना जति उनका  नजिकका र भरपर्दा गुरिल्लासहित थुप्रै खच्चडमा नगद, बहुमूल्य सामग्री र हातहतियार लिएर वाङ्‌दी भागिसकेका थिए। वाङ्दी पश्चिमको बाटो पक्री छार्का भोट, फोक्सुन्डो, मुगु, नाम्चा भन्याङ, सिमिकोट, यारी, टिंकर, लिपुको बाटो हुँदै भारत पस्ने योजनामा उनी भागिसकेको कुरा आत्मसमर्पण गरेका खम्पाहरूबाट थाहा भयो।

वाङ्दीको टोली नेपाल–चीन सिमानाबाट पश्चिम भागेका र साथमा मुगुका शरणार्थीहरूलाई समेत आफ्नो समूहमा जबर्जस्ती सामेल गरेको सूचना सेनाले पायो। त्यसपछि ऊ भाग्ने बाटो अनुमान गर्न सेनालाई सजिलो भयो। टिंकर व्यासमा घर भएका सेनानी गोपाल सिंह बोहरा (पछि सहायक रथी र सांसद) ले वाङ्दी भाग्न प्रयोग गर्ने बाटोबारे खबर दिएका थिए।

कारबाहीको दोस्रो चरण

सेनालाई धोका दिई भागेका गे वाङ्दीलाई बर्बाद नगरेसम्म सेनाको कारबाही पूरा नहुने भएकाले अब सेनाको ध्यान सुदूरपश्चिमतर्फ केन्द्रित भयो। श्री नं. चार बाहिनीलाई खम्पा नाइके भारततर्फ भाग्न सक्ने जति नाकाहरू केन्द्रित गरी कारबाही सञ्चालन गर्ने आदेश भयो। चार बाहिनीअन्तर्गतका फस्ट राइफल गण, अह्रिदमन गुल्म, चन्दननाथ गुल्म र ज्वाला दल गुल्मका फौजहरू २०३१ भदौ १९ गते रवाना गराई कावामाला, टिंकर, लिपु, छांगु, रोल्पा आदि स्थानमा तैनाथ गरियो।

प्रहरीहरू पनि परिचालन गरियो। यसैबिच २०३१ भाद्र २२ गते करिब डेढ सय खम्पाहरूले हुम्लाको मुगुस्थित प्रहरी चौकी कब्जा गरेको तथा ठुलो समूह यारीतिर बढेको खबर सेनाले पायो। चार बाहिनीपति सहायकरथी आदित्यशमशेर राणा (पछि उपरथी तथा प्रधानसेनापति गौरवशमशेर राणाका पिता) ले बैतडीको गढी डाँडाको ब्यारेकस्थित टयाक्टिकल हेडक्वार्टर खडा गरी गमगढीमा भएको फौजबाट एक सेनामुख (प्लाटुन) फौज र केही प्रहरी मुगुतिर तुरुन्तै परिचालन गर्न आदेश दिए। अर्को एक सेनामुख हवाई माध्यमबाट पठाउने निर्णय भयो। अह्रिदमन गुल्मका जमदार दानबहादुर चन्दको कमान्डमा एक सेनामुख प्लाटुन फौज टिंकर इलाकामा एम्बुस थाप्न खटाइयो।

खम्पाहरू भदौ २२ सम्म यारीमा पुगेका र त्यहाँबाट हिन्सङ खोलातिर गएको तथा उनीहरूसँग टैंक तथा पिलबक्स फोर्ने ५७ एमएमआरसीएल (५७ मिलिमिटरको यन्त्र जसले गाडी र भित्तामा प्वाल पार्न सक्ने रकेट लन्चर) पनि भएको भरपर्दो सूचना प्राप्त भयो। २०३१ भदौ २४ सम्म लिपु, टिंकर र छाक्रा प्रत्येक स्थानमा सेनाले ‘सेनामुख प्लाटुन तागतको नाकाबन्दी र धराप’ स्थापना गरिसकेको थियो।

२०३१ भाद्र २४ को बिहान लिपु भन्ज्याङको तल खप्पा लडाकुहरू घोडा–खच्चडसहितको लस्कर आइरहेको देखियो। लस्करको प्रमुख हिस्सा सेनाको मार इलाकामा पर्नासाथ जमदार दानबहादुर चन्दको सेनाले गोलाबारी गर्‍यो। यस कारबाहीमा परी खम्पा नाइको गे वाङ्दीसहित ६ जना लडाकु मारिए। उनीहरूका केही घोडा–खच्चड पनि मारिए। लस्करका पछाडि रहेका खम्पाहरू पनि तुरुन्त पोजिसन लिएर नेपाली सेनामाथि ठुला हतियार र मेसिन गनसमेतबाट फायर गरे।

बेलुकीपख खम्पाहरू फायर र हर्कत गर्दै थिए। नेपाली सेनाको ब्लकिङ पोजिसन र  खम्पाबिच दिनभरि नै गोली हानाहान भइरहयो। बेलुकीपख खम्पाहरू फायर र हर्कत गर्दै ब्लकिङ पोजिसन लिपुबाट पछि हटी चिनियाँ भूमि हुँदै भारततर्फ प्रवेश गरे। भोलिपल्ट नेपाली सेनाले आफ्नो मार इलाका (किलिङ ग्राउन्ड) घटनास्थलमा खोजतलास गरी हतियार, गोलीगट्ठा, नगद इत्यादि सामान बरामद गयो।

खम्पा जनरल गे वाङ्दी

यस घटना हुँदाहुँदै भारतीय फौज नेपालीसँगको सिमानामा हर्कत गरेको थाहा भएपछि उनीहरूबाट खम्पालाई हुनसक्ने मद्दतलाई रोक्न सेनानी अमृतबहादुर कार्कीलाई छांगुस्थित ब्लकिङ पोजिसनको नेतृत्व गर्न पठाइयो। भारतीय सेनाको उपस्थितिले खम्पाहरूलाई भारतीय सेनाको समेत साथ र सहयोग भएको प्रस्ट थियो। अन्तर्राष्ट्रिय हवाई नियम र मर्यादाको उलंघन गर्दै भारतीय सैनिक हवाई जहाजहरूले नेपाली आकाशमा प्रवेश गरे।

 लिपुको भिडन्तबाट भागेका खम्पाहरूलाई भारतीय सेनाको हेलीकोप्टरबाट उद्धार गरेको र अन्य पेदल लडाकुहरूलाई भारतीय सेनाले सुरक्षित अगुवाई गर्दै धार्चुुलातर्फ लगेको  छागुको ब्लकिङ पोजिसनले प्रस्ट देखेको प्रतिवेदन गर्‍यो। लिपु भिडन्तपछि खम्पा र भारतीय सेना मिली नेपाली सेनाको कारबाहीविरुद्ध सामूहिक प्रत्याक्रमण हुने सम्भावना देखेर २०३१ भदौ २६ गते नं. चार बाहिनीले एक सेनामुख फौज लिपुमा थप पठायो। उता चिनियाँ फौज पनि सीमा क्षेत्रमा जम्मा भएको र लिपु इलाकामा भारी हिमपात पनि भएपछि भारतीय फौज पछि हट्यो।

भारतीय सेनाबाट आक्रमण हुने सम्भावना हटेपछि प्रधान सेनापति महारथी सिंहबहादुर बस्न्यातबाट २०३१ असोज ८ गते लिपु, छागु इलाकाबाट फौज हटाउने आदेश भयो। खम्पाविरुद्धको फौजी कारबाहीमा संलग्न सबै फौज २०३१ असोज १७ गते बैतडीमा एकत्रित भए। यो कारबाही सफल भएकाले बैतडीको गढी डाँडा ब्यारेकमा रहेको अह्रिदमनगुल्मले ठुलो विजयद्वार बनाएको थियो। यसमा खप्पा काण्डको इतिहास लेखिएको थियो। तर अहिले उक्त ब्यारेकमा विजयद्वार र इतिहास छैनन्। पछि गएर यो भत्काइनु गल्ती गरियो।

शाही नेपाली सेनाको ब्लकिङ पोजिसनबाट भएको अप्रत्याशित आक्रमणमा गे वाङ्दीसहितको खम्पा टोली परेको थियो। सेनाको मार इलाकामा परेका खम्पाहरू सोत्तर भएपछि पछाडी रहेका तिनीहरूका अन्य लडाकु संगठित भई लासहरू बटुलेर लैजान र प्रत्याक्रमणको कोसिस गरेका थिए। तर नेपाली सेनाले गरेको भारी गोलाबारीले उनीहरूको प्रयास सफल भएन। भोलिपल्ट पनि उनीहरूले प्रयास गरे तर सकेनन्।

राति घटनास्थलमा खोजतलास गर्दा पक्राउ परेका घाइते खम्पाहरूले भिडन्तमा उनीहरूका नाइके गे वाङ्दी मारिएको भनी लास चिनाइदिए। बाहिनीपति सहायक रथी आदित्यशमशेर राणा घटनास्थल पुगी फर्के। अर्काे दिन सेनाले काठमाडौंबाट गे हिस्सीका बाबालाई  घटनास्थलमा पुर्‍यायो। उनले गे वाङ्दीको लास सनाखत गेरपछि  निज मारिएको पुष्टि भयो। सरकारले खम्पा नाइके गे वाङ्दी मारिएको घोषणा गर्‍यो। नेपाली सेनाले २०३१ साउन १६ देखि भदौ २९ को ४५ दिनसम्म मुस्ताङको कैसाङ तथा अन्य क्याम्पबाट हजारौं हतियार, गोलीगट्ठा तथा सञ्चार साधन कब्जामा लिएको थियो।

खम्पा सेनाविरुद्धको कारबाहीमा शाही नेपाली सेनाले छोटो समयमै सफलता हासिल गयो। नाइके गे वाङ्दी मारिनु राम्रो उपलब्धी थियो। राष्ट्रिय अन्तर्राष्टिय क्षेत्रमा नेपाली सेनाको छवि उच्च भयो। सेनाले आफ्नो क्षमताको राम्रो प्रदर्शन गयो। यही सफल सैनिक कारबाहीपछि नेपाली सेनाले कब्जा गरेको खम्पाको कैसाङ क्याम्पमा सेनाको उच्च शिखर तालिम शिक्षालय (माउन्टेन वार फेयर ट्रेनिङ स्कुल) स्थापना गर्‍यो।

नेपाली सेनामा स्नो क्लेदिङ वितरण गर्न सुरुवात पनि यससँगै भयो। यस सैनिक कारबाहीपछि अमेरिकालगायत पश्चिमी मुलुकहरू र भारतले नेपालका राजासँग स्वतः रुष्ट भाव बढाए। मित्र राष्ट्र चीनको भने राम्रो विश्वास राजा वीरेन्द्र र समग्र नेपालले नै आर्जन गर्न सफल भयो। यो कारबाही नेपाल स्वयंले नगरेको भए नेपाली भूमिमा चिनियाँ सेना प्रवेश गरी दलाई लामाका खम्पा फौजलाई  बरबादी पार्ने सम्भावना थियो। नेपालको इतिहासमा यसको महत्त्व उच्च रहेको छ।

प्रकाशित: ३१ जेष्ठ २०८२ ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App