स्रष्टा मिलन गंगबूले लघुकथाकार गङ्गाको लघुकथासङ्ग्रह ‘झङ्कार’ काे परिचर्चा गरेकाे छ।
स्रष्टा मिलन गंगबूको आयोजनामा लघुकथाकार गङ्गा खड्काका नयाँ र पुराना सिर्जनाहरूकाे परिचर्चा गरिएकाे छ।
लघुकथाकार एन्जल निलुले लघुकथाकार खड्काको 'रहस्य’ लघुकथा वाचन गरेर कार्यक्रम सुरु भएको थियो।
लघुकथाकार ध्रुवराज थापाले वाचित ‘रहस्य’ लघुकथाकाे समीक्षात्मक टिप्पणी गरेका थिए। त्यसैगरी लघुकथा समाजकी सदस्य तारा केसीले लघुकथा ‘समय’ वाचन गरेकी थिइन्।
‘समय’ मा रहेर साहित्यकार विवेक गौतमले समय कस्तो कथा हो र! यसका विशेषता र सन्देश के कस्ता छन्? गङ्गाका कथाले दिने सन्देश र कथाको सार के हो भन्ने बुझ्न सकिने बताए।
सर्जक गङ्गा खड्काले लघुकथा ‘शक्ति’ वाचन गरिन्। लघुकथाकार कुमुद शर्मा प्याकुरेलले ‘शक्ति’ माथि टेकेर आफ्नो समीक्षात्मक मन्तव्य राख्दै गङ्गाका कथाहरू रसिला, पोसिला, चोटिला र पोटिला रहेकाे बताए। उनले कथामा भाषाशैली र वर्णविन्यासमा केही ध्यान दिए कथा अझ उत्कृष्ट रहेकाे पनि बताए।
सात्यिकार/पत्रकार उमेश पाण्डेले कथाकार गङ्गा खड्काका लघुकथाहरू पढेर नथाकिने छन् भन्दै गङ्गा पारिवारिक घटना र पृष्ठभूमिमा सामाजिक यथार्थवादी कथालाई सरल ढङ्गमा लेख्न सक्ने एउटा सशक्त नारी स्रष्टा रहेकाे बताए।
लघुकथा प्रतिष्ठान नेपालका संस्थापक एडमिन मनोहर पोखरेलले शुभकामना मन्तव्य राख्दै सरल र सामाजिक यथार्थवादी कथाकार गङ्गाका लघुकथाहरू पाठकका रोजाइमा पर्दै आएकाले नै पाठकहरूको मागअनुसार सम्पादक/प्रकाशकहरूले उनका कथाहरूलाई प्राथमिकतामा राखेर प्रकाशन र प्रसारण गर्दै आएकाे बताए।
उनले स्रष्टालाई उसको व्यक्तित्वले भन्दा उसको सिर्जनाले चिनाउनुपर्ने बताए।
डा. शैलेन्दुप्रकाश नेपालले आफ्नो धारणा राख्दै गङ्गाको समग्र व्यक्तित्वलाई कथा लेखनले उँचो बनाउँदै लगेको र नेपाली लघुकथाको क्षेत्रमा गङ्गाको भविष्य उज्ज्वल रहेको बताए। डा. नेपालले नेपाली लघुकथामा गुणात्मकभन्दा सङ्ख्यात्मकमा ध्यान जान थालेकोमा भने चिन्ता व्यक्त गरे। उनले लघुकथा छोटो, मीठो र यथार्थपरक हुँदै गुणात्मक पक्षमा विशेष रहनुपर्ने बताए।
कार्यक्रमको सञ्चालनक लघुकथाकार दीपक लोहनीले स्रष्टा गङ्गा खड्काको व्यक्तित्व र कृतित्वबारे विवेचनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए।
खड्काको लघुकथाले यथार्थवादी सामाजिक विषयको उठान गर्दै परिवारभित्रको नारी मनोविज्ञान पस्किएको बताए। गंगाका लघुकथामा रहेको कालदोष हटाउने हो भने उनीका लघुकथाहरू थप अब्बल रहने पनि बताए।
द लङ्का क्याफे, वसुन्धरामा आयोजित कार्यक्रमको अन्त्यमा सर्जक खड्काले आफ्ना आगामी सिर्जनाहरूलाई परिमार्जन र परिस्कृत गर्न आजका सल्लाह र सुझावले निकै मद्दत पुर्याउने बताउँदै प्राप्त विचारलाई अक्षरस: पालन गर्दै जाने बताइन्।
स्रष्टा मिलनले साहित्यिक कार्यक्रममा उपस्थित व्यक्तिहरूले ताली मात्र बजाउने परम्पराको अन्त्य गर्दै उपस्थित हरेक व्यक्ति नै वक्ता बन्ने परिपाटीको सुरुवात गरेको छ।
प्रकाशित: २८ जेष्ठ २०८२ ०९:१० बुधबार





