साहित्यकार गोकुल व्याकुलकाे ‘भूकम्पका कथा-व्यथा’ लाेकार्पण गरिएको छ।
नेपाल स्रष्टा समाजले आयाेजना गरेकाे कार्यक्रममा स्रष्टा समाजका संरक्षक साहित्यकार पवन आलोक, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, प्राडा कृष्णप्रसाद दाहाल लगायतले कृतिकाे लाेकार्पण गरेका थिए।
प्राडा कृष्णप्रसाद दाहालले कृतिमा लेखकको ६ दशकको साधनाको उपलब्धि भएको बताए। लेखकले कृतिमा भूकम्पीय अनुभव सुन्दर तरीकाले समेटेकाे पनि उनले बताए।
समीक्षात्मक टिप्पणी गर्दै प्राडा गोविन्दमानसिंह कार्कीले ‘भूकम्पका कथा-व्यथा’ मा भूकम्पसँग जाेडिएका अनेक रचना कृतिमा भेटिएकाे बताए।
स्रष्टा समाजका संरक्षक साहित्यकार पवन आलोकले कृतिकार र आफू अरुण नदी वारिपारिको भएको चर्चा गर्दै उनको साहित्यिक सक्रियताको प्रशंसा गरे।
साहित्यकार श्रीओम श्रेष्ठ रोदनले ०७२ सालको भूकम्पको प्रसंग उठाउँदै सडकमा रात बिताउनेहरूले भूकम्प बिर्सिसकेको बेला व्याकुलले तिनै सन्दर्भको दस्तावेजीकरण गरेको बताए।
स्रष्टा व्याकुलले आफ्नो काव्य यात्राको चर्चा गर्दै कृति तयार गर्दाको अनुभव सुनाएका थिए। स्रष्टा पत्नी सूर्यकुमारी भण्डारीले प्रकाशनमा ल्याएको उक्त कृतिमा ४१ रचना सङ्गृहीत छन्।
प्रकाशित: २६ जेष्ठ २०८२ १३:४३ सोमबार





