१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

लेखकको फुर्सदको दिन

निबन्ध

जीवनका पाइला अक्षरका पानामा लेख्न थाल्दा समयसँग मेरो छुट्टै सम्झौता हुन्छ। कहिले ऊ तिखो काँडाजस्तै घोचिने भएर प्रस्तुत हुन्छ। कहिले कोमल कमनीय फूलको मुस्कानजस्तै स्वभाव बनेर देखापर्छ। कहिले पुरानो साथीजस्तो भेटिँदाका खुसी छचल्किन्छन्। जोसँग सँगै बस्न मन लाग्छ। बाल्य दिनतिर फर्किएर गफिन हतार हुन्छ। सिँगान पुछ्दै खेल्न दौडिएका ती दिनहरू, नांगैभुतुंगै खेल्दै रमाएका पलहरू। घुर्‍यानमा फालिएका पुराना धुलाम्मे चिज हेर्दै त्यसमा प्रतिबिम्बित यादका खातहरूले हैरान भएका क्षणहरू। कतै कुनै कागजका चिर्कटोमा टाँसिएका अतीतका स्मृति–दंशहरू !

जब दिन फुर्सदको हुन्छ, अनि मात्र म लेखक हुन पाउँछु। मनमा अनेक कुराका खजाना बटुल्दै तिनलाई केलाउँदै, निफन्दै सग्लो स्वरूप छान्छु। त्यसमा प्रकृति, जीवन र अध्यात्म–अनुरागका अनुष्ठान गर्दै सिर्जनाको ध्यान गर्न थाल्छु। परमपुज्य मान्यवर मेरो गुरु चेतनातन्तुका मृदु मनहरूबाट ऊर्जाशील लेखकीय लयमा स्पन्दित हुन्छु। यही स्पन्दनले मलाई फुर्सद पनि फुर्सदजस्तो हुँदैन। व्यस्तता पनि व्यस्तैजस्तो लाग्दैन।

मलाई लाग्छ– एउटा लेखकका लागि फुर्सदको दिन भन्ने हुँदैन। जहाँ जतिबेला र जहिल्यै पनि सिर्जनाको धुन सुसेलिएकै हुनुपर्छ। चेतनशील मनले लेखनकै चिन्तनमा आफूलाई समर्पित गरिरहनुपर्छ। तत्पश्चात त्यहाँ आस्थाको दीप प्रज्ज्वलित हुन्छ। विश्वासको धरोहर निर्माण हुन्छ। हार्दिक भाव, बोली र व्यवहारको सद्भाव स्थापित हुन्छ। यति भएपछि सामाजिक प्रेम पनि कायम हुन्छ। हृदयका हरेक कुनाकन्दरामा पुष्प–परागको मिठास मगमगाइरहेको हुन्छ।

प्रत्येक दिनको ‘बिदाइ’ अर्को शुभ दिनको ‘पर्खाइ’ हो। गोधूलिमा घर फर्किने, आराम गर्ने र दिनभरिका कामलाई एकछिन मनन गरी भोलिको लागि प्रतिबद्धता जनाउने त्यो समय हो। अन्धकारपछिको उज्यालो बिहान उत्साहजन्य उल्लासले थाँती कामलाई पूरा गर्ने जाँगरका दिन हुन्। यिनमा गुनासो र दुखेसोका ठाउँ हुँदैनन्। पल–प्रतिपल फलिफापका चरणहरूले चुमिरहेका हुन्छन्। खुसी र सन्तुष्टिका किरणहरूले सदा आशीर्वाद दिइरहेका हुन्छन्।

फुर्सदको बिहान अल्छीलाई सिरकभित्रै गुटुमुटु पट्याएर उठ्छु। कसैको आवाजमा होइन, आफ्नै मनको कुरा सुन्न। एक कप कालो कफी तयार पार्दासम्म झ्यालबाट कलिलो घामले मेरो कुर्सी तातेको हुन्छ। त्यो घाममा टाउको अड्याउँदै म पुराना डायरीका पानामा फर्किन्छु। सायद कुनै अपुरो कथा त्यहाँ छ। कुनै अधुरो वाक्य जुन केही वर्षअगाडि लेखिएको अलि अस्पष्ट थियो।

फुर्सदका दिनहरूमा लेख्ने शैली पनि परिवर्तन हुन्छ। त्यहाँ अब बाध्यता बाँकी रहँदैन। बरु प्रवाह हुन्छ झरनाको गति जस्तै निरन्तर र सफा। ती दिनमा म शब्दहरूको पछि लाग्दिनँ, उनीहरू आफैं मेरो पछि लाग्न थाल्छन्। मलाई पछ्याउँदै आएका शब्दका ताँती अक्षरका भावहरूलाई म भेला पार्छु। तिनलाई सिलसिला मिलाएर आफ्नै मौलिकताको रङले लेपन गर्न थाल्छु।

बगैंचामा फुल्न थालेका फूलहरूजस्तै भावका अनेकौं रङ र अनेकौं सौन्दर्यहरू क्रमशः प्रस्फुटित हुन थाल्छन्। त्यतिबेला म मेरा प्रियजनहरूको अनुहार सम्झन्छु। कहिले आफ्नै गाउँघर पुग्छु। बेँसीको उखरमाउलो गर्मी र लेकको ठिही सम्झन्छु। देउरालीमा पाती चढाइरहेका भक्तजनहरूको अज्ञात मनोकामना सम्झन्छु। अनायासै झगडा गरी भनाभन गरेर आफैं तनाव निम्त्याउने मान्छेको रिसको अग्नी–ज्वाला देखेर अफसोस मान्छु। माया र ममताको अभावमा हुर्किन बाध्य लालाबालाहरूको भविष्य हेर्छु। म आफैंतिर फर्किन्छु र वर्तमानलाई पूजा गर्दै फुर्सदको सदुपयोगमा संलग्न हुने कोसिस गर्न थाल्छु।

कहिले आमाको अनुहार शब्दमा उतार्न खोज्छु। कहिले कति प्रिय पात्रहरू एकैचोटि झ्वाट्ट झुल्किन्छन्। म तिनका प्रत्येक फरक–फरक जीवनलाई सम्झन्छु। प्रकृतिको काया–कलेवर रूप–लावण्य मेरा लागि विचार प्रस्तुतिका विषयहरू हुन्। कहिले सिक्रिटाट स्वरूप, कहिले पालुवाले नवजीवनको प्रवेश, कहिले हराभरा तुलफूलले सजिसजाउ प्रकृतिको जीवन ! आहा, एउटा उपयुक्त शब्द, भाव–गाम्भीर्य विचारका पुञ्ज जहाँ म आफूलाई निर्बन्ध अभिव्यक्त गर्न लालायित भइरहेको हुन्छु।

कतिपय दिनहरू मौनतामा बित्छन् तथापि कलम नचले पनि मन लेखिरहन्छ। कहिलेकाहीं कल्पनाका रङहरूमा चित्र बनाउँछु। कहिलेकाहीं पुराना यात्राका धुलाम्य विस्मृत–स्मृतिमा। सायद यही फुर्सदको दिनले मलाई साँचो अर्थमा लेखक बनाउँछ। लेखनकर्ममा तल्लीन रहन सिकाउँछ। त्यहाँ म आफैंसँग आफैंलाई भेट्छु। म मेरो लेखाइसँग रमाउँछु। शब्दका भाव–सौन्दर्य र अर्थ–अभिव्यञ्जनाका अभिप्रायहरूमा मुग्ध हुन्छु। फेरि एकपटक शब्दलाई मनको आकृतिमा रूपान्तरण गर्न अग्रसर रहन्छु।

लेखकका लागि फुर्सदको दिन भनेको छुट्टी होइन। त्यो त एउटा पुनर्जन्म हो। जहाँ ऊ फेरि आफूलाई भित्रदेखि खोतल्छ। फेरि सिर्जना गर्छ। फेरि मायालु कलम लिएर जीवनलाई सप्रेम बयान गर्न थाल्छ। अनेक रूपहरूमा विभाजित हुँदै लेखकले जीवनलाई सरल र सुललित किसिमले व्यक्त गरिरहेको हुन्छ।

‘फुर्सद’ शब्द कतिपयलाई निद्राको मधुर आभास झल्कन्छ। अरूलाई घुमघामको लोभलाग्दो अवसर। तर म भने यसलाई विदाको पर्याय होइन। बरु आत्माको उत्सव ठान्छु। किनभने फुर्सदका ती थोरै तर अमूल्य घडीहरूमा म आफूलाई फेरि भेट्छु– एकान्तमा, अव्याख्येय शून्यतामा। लेखाइसँग पुनर्मिलन हुन्छ, विचारसँग संवाद हुन्छ। अनि मनका मझेरीमा लुकेर बसेका शब्दहरूले चुपचाप आकार लिन थाल्छन्। ती आकारहरूमा, ती अनुभूतिका अक्षरहरूमा म जीवनको रङ पोत्छु।

सधैंको व्यस्तताले मलाई यान्त्रिकजस्तो बनाउँछ। तर फुर्सदले चाहिँ मलाई फेरि ‘म’ बनाउँछ। एक संवेदनशील व्यक्ति, जसले अनुभूतिको गहिराइमा डुबेर जीवनको अर्कै स्वाद चखाउँछ। त्यो बेला मेरो कलम औजार होइन, प्रेमी हुन्छ। मलाई स्वतः माया गर्छ, छुन्छ, गहिरो स्पर्श गर्छ। लेख्नु भनेको फेरि एकचोटि जन्मिनु हो। वास्तवमा फुर्सदले मलाई पुनर्जन्म गराउँछ।

साँचो फुर्सद त्यही हो, जहाँ समयलाई म पछ्याउँदिनँ। म समयसँगै बग्दिनँ। म रोकिन्छु, म सोंच्छु। फेरि बिस्तारै बग्न थाल्छु। शब्दको धारमा, भावनाको छालमा। भित्ताहरूमा झुन्डिएका सम्झनाका फ्रेमहरूमा धूलो बसेको देख्छु। त्यसलाई कलमले पुछ्न थाल्छु। ती पुराना क्षणहरू उज्यालिन्छन्– लेखिएका अक्षरहरूमा, सम्झना यादहरूमा, जीवनको यो क्षणमा।

कहिलेकाहीं मलाई लाग्छ– लेखक हुनु भनेको आफूलाई बारम्बार प्रश्न गर्नु पनि हो। खोतलखातल पारेर जीवनको शल्यक्रिया गर्नु जस्तै। ती प्रश्नहरूको साँचो उत्तर फेला पार्ने स्थान भनेको यिनै फुर्सदका घडीहरू हुन्– त्यहाँ आत्मा चुपचाप बोल्छ, मनले सुन्छ र कलमले लेख्न थाल्छ।

यथार्थमा फुर्सद मेरो लागि सिर्जनाको पुनर्जन्मको पुनित अवसर हो। त्यो पुनर्जन्म जहाँ शब्दले आँखा खोल्छ। विचारले सास फेर्छ। म फेरि लेखक बन्छु– नयाँ, तर उही आत्मासँग। यद्यपि सधैं नयाँपनकै उदयका निम्ति प्रयत्नशील ! पुनर्जन्मको फुर्सद भन्नु आफ्नै विगतलाई फर्किएर हेर्नु पनि हो। वर्तमान कालखण्डमा विगत नियाल्ने चेष्टाको यो यौटा उपक्रमसमेत हो।

कति साधारण लाग्ने यो ‘फुर्सद’ शब्द, तर मेरो लागि त यो सृष्टिको दोस्रो बिहान हो। कुनै दिनको थकाइ मेट्ने विश्राम मात्र होइन, यो त मेरो सिर्जनाको पुनर्जन्म पनि हो। फुर्सदमा दिनभरिको भिडभाड, आवाज र जिम्मेवारीहरू एकछिन टाढा भाग्छन्। त्यतिबेला म आफैंभित्र मेरै हृदयमा फर्किन्छु। मेरो आत्मासँग, जसले कुनै दिन लेख्न थालेको थियो– जीवनका कालजयी कथाहरू। आफ्ना अनुभूतिहरूलाई शब्दमा उतार्ने साहस बटुलेको थियो।

फुर्सदका ती चुपचाप पलहरूमा म एकान्तसँग बोल्छु। मेरो कापीको पानामा त्यही एकान्त झर्छ– कहिले आँसु भएर, कहिले हाँसो बनेर, कहिले प्रश्न भएर, कहिले उत्तर बनेर। लाग्छ, शब्दहरू कतै मेरो कुहिनो अडेसिएको पुरानो डायरीबाट झुल्किन्छन्– मसित उनीहरूको कुनै पुर्ख्याैली नाता छ। ती पुनर्जन्म पाएर फर्किएका छन्।

अन्ततः नयाँ तर उही मनसँग म फेरि लेखक बन्छु। मन बदलिँदैन, उसले मात्र भेष र भङ्गिमा परिवर्तन गर्छ। कहिले प्रेमका हरफमा बग्छ। कहिले विस्मृतिका गल्लीमा हिँड्छ। कहिले शोकका छायामा बसेर कविता, गजल लेख्छ। तर जुनसुकै आकृतिमा उभिए पनि, आत्मा सधैं उही हुन्छ। त्यो सिर्जनाको प्रारम्भिक स्पन्दन हो। त्यसले जीवनको गतिमय प्रवाहमा साथ दिन्छ।

कहिलेकाहीं लाग्छ, लेख्न नसक्ने दिनहरू मेरा अघिल्ला मृत्युसरी हुन्छन्। त्यस दिन म आफूलाई हराएको अनुभव गर्छु– शब्दविहीन, अभिव्यक्तिविहीन, अस्तित्वविहीन। फुर्सद आएपछि म सजीव हुन्छु। ‘को हो, को हो!’ को परिचयविहीन अवस्थाबाट म फेरि ‘म’ बन्छु। न कुनै पात्र, न कुनै पाठकका लागि मनपर्ने लेखक। तथापि म आफैंभित्रको मौलिक मान्छे। मलाई फेला पार्ने ती आँखाहरू ‘फुर्सद’ हुन्। यसले मेरो गहिरो अस्तित्व देख्छ। उसले देखाइदिएको बाटोमा हिँड्दा मैले आफूलाई भेट्छु। यसरी भेटेर आफैंसँग एउटा लेखकको फुर्सदको दिन बिताउँछु।

धेरै कुरा बाँकी हुन्छन् भन्न, सुन्न, महसुस गर्न। फुर्सद नभए ती सबै बिना सासका मूर्तिजस्तै लाग्छन्। समय मप्रति दयालु हुन्छ, एकछिन मेरो काँधमा हात राख्छ। अनि म आफ्नो सिर्जनासँग संवाद गर्छु। सायद यही हो त्यो पुनर्जन्म– जुन लेख्ने क्षणमा लेख्न सक्ने क्षमताको कोसेली बोकेर चौबाटोमा ठिङ्ग उभिएको हुन्छ।

फुर्सदको त्यो क्षण, जब म शब्दको पहिलो स्पर्श लिन्छु, त्यसैबेला मेरो आत्माले फेरि आँखा खोल्छ। सृष्टिको पहिलो उज्यालो देखेंझैँ, म फेरि बाँच्न थाल्छु– कविता भएर, गद्य भएर वा मौन बसेर।

प्रकाशित: ३ जेष्ठ २०८२ ०८:४० शनिबार

# Nagarik # Purkhyauli nata