हिमालयन आर्ट काउन्सिल (HAC) ले परम्परागत हिमाली कलालाई लक्षित गर्दै ऐतिहासिक प्रदर्शनी गर्ने भएको छ । नेपाली कलाको धरोहर संरक्षण तथा प्रवर्द्धनका लागि भन्दै काउन्सिलले पाटन संग्रहालयमा विशेष प्रदर्शनी आयोजना गर्न लागेको हो ।
थांका र पौभा कला प्रदर्शनी भोलि बिहीबार अपराह्न तीन बजे उद्घाटन हुने काउन्सिलले जनाएको छ । शुक्रबारसम्म चल्ने प्रदर्शनीमा नेपालको सम्मानित र उदाउँदो कलाकारहरूद्वारा सिर्जित ५० भन्दा बढी उत्कृष्ट कलाकृतिहरू प्रस्तुत गरिनेछ। यो केवल एक कला प्रदर्शनी मात्र नभई, नेपाली परम्परागत कलालाई संरक्षित, सम्मानित र विश्वस्तरमा चिनाउने अभियान रहेको काउन्सिलकाे दाबी छ ।
साेही अवसर पारेर काउन्सिलले ‘नेशनल आर्ट प्रोटेक्सन प्लेटफर्म’ पनि सार्वजनिक गर्नेछ, जसले कृत्रिम बुद्धिमत्ता (AI) र ब्लकचेन प्रविधिमार्फत कलाकृतिको प्रमाणीकरण, नक्कली रोकथाम र पारदर्शी ऐतिहासिक तथ्य प्रमाणित गर्न मद्दत गर्नेछ।

कलाकार कैलाश के. श्रेष्ठका अनुसार, “यो केवल सौन्दर्य प्रदर्शन नभई, नेपाली कलाकारहरूको सम्पदा जोगाउने र भविष्य पुस्तासम्म सम्झन लायक बनाउने अभियान हो।”
यो प्लेटफर्मले सङ्ग्राहक, कलाकार, अनुसन्धानकर्ता तथा सर्वसाधारणलाई प्रामाणिकता, मूल्यांकन र ऐतिहासिक सन्दर्भसम्म पहुँच दिनेछ । AI प्रविधिबाट कलाकारहरूले नक्कली पहिचान गर्न, हस्ताक्षरविहीन काम प्रमाणित गर्न र उचित श्रेय पाउन सक्नेछन्।
यस डिजिटल पहलमा फर्साइट ल्याब्सका सि-ई-ओ सीन होवेल, माइक्रोसफ्ट एआई अज्योरका वरिष्ठ निर्देशक डा.नविन खनाल र आईटी उद्यमी संजिव राज भण्डारी संलग्न छन्।
प्रदर्शनीमा थांका र पौभा कलाका मौलिक ५० भन्दा बढी कलाकृतिहरू प्रदर्शित गरिनेछन्, जसमा पवित्र देवी-देवताहरू, मण्डला, र सांस्कृतिक कथनहरू प्रस्तुत छन्। आगन्तुकहरूलाई कलाकारहरूसँग प्रत्यक्ष भेट्ने दुर्लभ अवसर पनि मिल्नेछ।
हिमालयन आर्ट काउन्सिल नेपाली तथा हिमाली कलाको संरक्षण, प्रवर्द्धन र अन्तर्राष्ट्रिय मान्यताको लागि समर्पित संस्था हो। यसको मूल उद्देश्य प्रामाणिकता सुनिश्चित गर्दै सांस्कृतिक सम्पदाको संरक्षण गर्नु हो।
प्रकाशित: ३१ वैशाख २०८२ १७:१३ बुधबार





