२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

युद्ध रोक्ने तस्बिरको प्रतीक्षा!

भनिन्छ - हजार शब्दले वर्णन गर्न नसक्ने कुरा एउटा तस्बिरले गर्छ। कश्मीरको पहलगाममा मारिएका नौसेनाका लेफ्टिनेन्ट विनय नरवालको शव नजिकै उदास उनकी पत्नी हिमांशीको तस्बिरले धेरैको मन दुखायो। सम्भवतः त्यही तस्बिरको दर्दलाई समेटेर भारतले सुरु गर्‍यो ‘अपरेसन सिन्दुर’। आणविक हतियार सम्पन्न दुई मुलुक ठुलो युद्धको सँघारमा छन्। युद्ध कसैको रहर होइन।

भारतीय भूमिमा सीमापारिबाट हुने हिंसा र आतङ्क यसअघि पनि भएका हुन्। तर भाइरल पहलगाम तस्बिरपछाडि हृदयविदारक कथा छ। आतङ्कवादी हमलामा मारिएका नौसेनाका लेफ्टिनेन्ट विनय नरवाल र उनकी श्रीमतीको विवाह अप्रिल १६ मा भएको थियो। मंगलबार भएको आतङ्कवादी हमलामा २६ पर्यटकको मृत्यु भयो।

पहलगाम आक्रमणपछि कश्मीरको रमणीय घाँसे मैदानमा भएको त्रासदीलाई चित्रण गर्ने दम्पतीको तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर गरिएको थियो। उनीहरूको ६ दिनअघि विवाह भएको थियो। यो कथाले सबैको मन रुवायो। एउटी चेलीको सिन्दूर एक साता नपुग्दै खोसिएको यो दर्दनाक घटनालाई लक्षित गरेर राखेको हुनसक्छ ‘अपरेसन सिन्दुर’।

यो तस्बिरको कथा सुन्दै गर्दा भियतनाम युद्धको एउटा भयानक तस्बिरको कथा सम्झनामा आयो। भियतनाम युद्धको बेला बम र बारुदको डरले भाग्दै गरेकी एउटी नग्न केटीको तस्बिर। ‘नेपोल्म गर्ल’का नामले चिनिने उक्त तस्बिरले भियतनाम युद्धताका अमेरिकी बर्बरताको कथा बयान गरिरहेको छ।

१९७२ जुन ८ मा कैद गरिएको यो तस्बिर अमेरिकी सेनाले भियतनामको एउटा गाउँमा बमबारी गर्दा केटाकेटीहरू बाँच्नका लागि भाग्दै गरेको अवस्थाको हो। तस्बिरले युद्धको क्रूरताको बयान गर्छ। यो तस्बिरले ‘पुलित्जर अवार्ड’ जितेको थियो। यो तस्बिर क्यामेरामा कैद भएको ५० वर्षभन्दा धेरै भएको छ। तस्बिर प्रकाशित भएपछि युद्धले समाप्तिको बाटो रोजेको विश्वास गरिन्छ। तस्बिरमा कैद त्यही किशोरी किम फुक फानले हिजोआज ठुलो अभियन्ताको परिचय बनाएकी छिन्। उनी युद्ध पीडित केटाकेटीको अधिकारका लागि लड्ने गर्छिन्।

किम फुकले पुर्नजन्म पाएजस्तो विनय नरवालले पाउने छैनन्। आतङ्ककारीको कायरतापूर्वक हत्यामा उनको जीवन समाप्त भइसकेको छ। तर जीवन यति मात्र पनि होइन। थुप्रै जीवन थप जोखिममा छन्।

फोटो पत्रकार भएका नाताले म अर्को एउटा शक्तिशाली तस्बिरको प्रतीक्षामा छु, जसले भारत–पाकिस्तानबिचको युद्ध रोक्न भावनात्मक अपिल गरोस्। त्यो तस्बिर बन्धक दुस्मन सेनालाई पानी खुवाउँदै गरेको मनकारी सेनाको पनि हुन सक्छ। अथवा, विदेशी भूमिमा खसेको सेनालाई आक्रोशित भिडबाट जोगाउँदै गरेको कुनै मनकारी सर्वसाधारणको पनि हुन सक्छ।

सबैलाई राम्रोसँग थाहा छ, युद्ध कसैको रहर होइन। युद्ध कसैको उत्सव पनि होइन। मलाई यति बेला सानो युद्धले ठुलो रूप लेला भन्ने डर छ।

मैले केटाकेटीको झगडा हेरेको छु। सुरुमा तँतँमम गर्दै गरेका उनीहरू एकैछिनमा ठेलमठेल गर्छन्। अति सामान्य हात हालाहाल हुन्छ। झुक्किएर कसैको नाकमा चोट लाग्छ। चोट लाग्नेले ढुङ्गा उठाउँछ। मलाई त्यही ढुङ्गा टाउकोमा लाग्ला भन्ने डर लाग्छ। केटाकेटीले उठाएको ढुङ्गाले साथीको मात्र टाउकोमा चोट लाग्छ। दुई देशले उठाएको ढुङ्गाले सिङ्गो सभ्यतामा चोट लाग्छ। त्यसैले म एउटा शक्तिशाली तस्बिरको प्रतीक्षामा छु, जसले चोट लाग्नुअगाडि नै शिक्षा दिलाओस्।  

प्रकाशित: २७ वैशाख २०८२ ०७:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App