२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

जीवन यस्तैयस्तै

लघुकथा

कर्मालाई भेट्दा छुट्टै आनन्द आउँथ्यो। जागिर, काम, पैसा, कमाइ, घर, गाडी यावत कुराबाट मलाई भाग्नुपरे म उनकोमा पुग्थेँ। “जीवनमा बाँच्न त हरेक जीव बाँचेकै हुन्छन् तर कसरी बाँच्ने त्यसमा भर पर्छ। जीवन आफ्नै सर्तमा बाँच्नुपर्छ। आफ्नै सिद्धान्तमा बाँच्नुपर्छ।” उनका कुरामा म मक्ख पार्थें।

“हामी जस्ता युवा जो पढेलेखेका छौं, जो हृदयमा देश बोक्छौं। जसलाई आफ्नो जीवन केही सार्थक बितोस् लाग्छ। हामीले गलत निर्णय गर्नु हुन्न। यहीँ आफ्नो बाटो खोज्नुपर्छ। यहीँ यही देशमा हामीले आफूलाई बनाउनुपर्छ।”

उनलाई भेटेर आफूमा छुट्टै ऊर्जा भरेर म फर्कन्थेँ। अझ उनीसँग रमित ढकाल हुँदा उनी कताकता बत्तिन्थे, कहाँकहाँ बतासिन्थे। नबतासिऊन् पनि किन? दुवैको सिद्धान्त मिल्थ्यो। बाँच्नुको ध्येय मिल्थ्यो। हजार ठक्कर खाएर यहाँसम्म थोत्रिदै र किचिंदै तर आफूलाई सग्लो बनाउने चेष्टा गर्दै सम्झौतै सम्झौतामा आइपुगेको म आफूमा उनीहरूको झैं विचार निर्माण नभएकामा कहिले थक्कथक्क मान्थेँ त कहिले सरल जीवन यही नै हो भन्दै चित्त बुझाउँथेँ। वास्तवमा जीवन यही नै हो भनी आफैँलाई सान्त्वना दिन्थेँ।

  लघुकथाकार विश्व सिग्देल

बाँच्ने उपक्रमका धक्कामुक्कीमै मेरा केही महिना बिते। अलिकपछि कर्मा भेटेँ। दुःखसुखका कुरा भए। उनको ओझ उत्तिकै अनि उनमा ऊर्जा उत्तिकै थियो।

“ कर्तव्यको कसीमा आफूलाई खरो उतार्न नसक्नेको मुखबाट कर्तव्यका कुरा, ठुलाठुला सिद्धान्तका कुरा कत्ति अश्लील लाग्छन् नि!” फ्याट्टै उनले रमित ढकालको प्रसङ्ग निकाले।

रमित सपरिवार क्यानडा गएको कुरा मैले सुनेको थिएँ। म यस विषयमा के बोल्नु? सिद्धान्तले बाँच्न ऊर्जा दिनुपर्छ, वास्तवमा सिद्धान्तले अवसादमा धकेल्ने हैन तर जीवनतिर उन्मुख गराउनुपर्छ भन्ने मान्छे म।

मैले चुपचाप उनका कुरा सुनिरहेँ। सुन्दर समाज निर्माणको सपना देख्नेले आफ्नो सहयोद्धा गुमाउनुपर्दाको दिक्दारी पोखेको मानेँ। उनी मनको तितो पोख्दै गए। म सुनिरहेँ। यसपछिका भेटमा रमित ढकाल र स्खलनका शृङ्खला टुटेनन्। दिक्कै पनि लाग्न थाल्यो। जानै कम गरूँ जस्तो भयो।

धेरैपछि पोर्चुगल गएको दधि फर्केको थियो। हामी कर्माको घरतिर लाग्यौँ। कुशलमङ्गलपछि मैले कर्मालाई जित्दै उसकै मुखको कुरा रमित ढकालको प्रसङ्ग खोस्ने विचार गरेँ।

“अनि कर्मा, के आउनु नेपाल पो भन्छ रे त रमित ढकाल?” कर्मा केही क्षण अकमकायो। म आश्चर्यमा परेँ।

कर्माले सुस्तरी भन्यो, “जीवन आफ्नो हो। कसरी बाँच्ने भन्ने पनि आफ्नै रोजाइ!” उसले दधितिर हेर्‍यो। दधिले उसको कुरामा आफ्नो सहमति जनायो। बेकारमा अजासु अर्थात् अति जान्ने सुन्ने बन्न खोजेर म असहिष्णु देखिएँ। म लज्जित बन्नुपर्‍यो तर कर्मामा आएको परिवर्तन रुमैले बुझ्न सकिन।

केही दिनपछि एउटा अल्छीलाग्दो दिउँसो म फेसबुक चलाउँदै थिएँ। अचानक फूलमालाले सजिएका कर्माको परिवारलाई एयरपोर्टमा बिदाई गरिँदै गरेको फोटोमा आँखा रोकिए।

फोटो तल लेखिएको थियो, ‘डिभी परेर अमेरिका उड्दै गरेका कर्मालाई बधाई तथा शुभकामना!’    

प्रकाशित: २५ वैशाख २०८२ १०:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App