इटहरीको तरहरामा भएको कवि नारायणप्रसाद पौडेल स्मृति राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा सिरहाका कवि अविनाश भट्टराईको कविता ‘झ्यालको सौन्दर्यशास्त्र’ उत्कृष्ट भएको छ ।
शुक्रबार भएको प्रतियोगिताका लागि छानिएका १० कवितामध्ये ‘झ्यालको सौन्दर्यशास्त्र’ प्रतिस्पर्धामा प्रथम भएको हो । प्रथम हुने भट्टराईलाई ५१ हजार एक सय नगद पुरस्कार प्रदान गरियो ।
प्रतियोगितामा खोटाङका शुभचन्द्र राईको ‘आशा’ कविता द्वितीय र रसुवाकी एलिसा एकलासको ‘पृथ्वीको अन्तिम रूख’ कविता तृतीय भएका थिए । प्रतिस्पर्धामा द्वितीय राईलाई ४१ हजार एक सय र तृतीय एलिसालाई ३१ हजार एक सय रुपैयाँ नगद पुरस्कार प्रदान गरियो । प्रतिस्पर्धामा दैलेखका विपिन सिजापतीको ‘सङ्घर्ष र सङ्कल्प’ तथा सप्तरीकी रुमा लम्साल नुराको ‘मानिसलाई रुखको अन्तिम प्रश्न’ कविताले सान्त्वना पुरस्कार पाए । सान्त्वनालाई जनही ११ हजार एक सय नगद पुरस्कार प्रदान गरियो ।
प्रतिस्पर्धाका लागि देशका विभिन्न भूगोलबाट चार सय ६ वटा कविता प्राप्त भएका थिए, जसमध्ये अन्तिम प्रतिस्पर्धा र वाचनका लागि १० जना कवि छानिएका थिए । वाचनका लागि छानिएका तर पुरस्कृत हुन नसकेका कविहरूलाई पनि प्रोत्साहनस्वरूप जनही पाँच हजार एक सय रुपैयाँ प्रदान गरिएको थियो ।
प्रतियोगी रचना वाचन गर्ने अन्य कविहरूमा इलामका सुवास राई वाङ्देल (ईश्वर भेटिएको वक्तव्य), धनकुटाका अनिल सुवेदी (भगवान्को म्याराथन), सिन्धुपाल्चोककी स्मिता श्रेष्ठ (ईश्वरलाई अपिल) र गोर्खाका निसान निष्कर्ष (प्रकृतिको व्यायामशालामा आमा) रहेका थिए । प्रतियोगिताको निर्णायकमा कविहरू मनु मन्जिल, बद्री भिखारी, देवान किराती, ठाकुर बेल्बासे र समालोचक दिवाकर रेग्मी रहेका थिए ।
कार्यक्रममा परमानन्द संस्कृत विद्यापीठ देवघाट चितवनका छात्र बालकवि अङ्कित पाण्डेयलाई १० हजार एक सय रुपियाँ राशिको बाल प्रतिभा पुरस्कार प्रदान गरिएको थियो । उनले शार्दूलविक्रिडित छन्दमा रचित ‘ए छोरा !’ शीर्षकको कविता सुनाएका थिए ।
सो अवसरमा कथाकार रुद्र अधिकारी निर्दोषीको लघुकथासङ्ग्रह ‘मनश्चक्षु’ लोकार्पण गरिएको थियो, जसका बारेमा उपप्राध्यापक अस्मिता विष्टले समीक्षात्मक परिचर्चा गरेकी थिइन् ।
जनसहयोग मावि तरहराको एसएलसी २०५० समूहले आयोजना गरेको सो कार्यक्रममा पूर्वप्रधानाध्यापिका कमला लिम्बु सुब्बा, पूर्वशिक्षिका कमला चापागाईं, पूर्वविद्यार्थीहरू मणिराम श्रेष्ठ (वडाध्यक्ष), धनकेशर खड्का (बिपी प्रतिष्ठानका सहायक डिन), प्रकाशचन्द्र परियार (अधिकारकर्मी) र नवल नेपाल (गीतकार तथा चलचित्र निर्देशक) लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सन्तोष श्रेष्ठको सभापतित्व तथा अग्रज कवि तुलसी दिवसको मुख्य आतिथ्यमा सम्पन्न सो कार्यक्रमको संयोजन मुक्तिनाथ घिमिरेले गरेका थिए । क्यानभास साहित्य समाज र तरहरा मोडेल एकेडेमी सहआयोजक रहेको सो कार्यक्रममा उमेश थापाले ‘गौरीशङ्कर’ महाकाव्यकार कवि नारायण पौडेलको तथा तरहरा मोडेल एकेडेमीमा कक्षा ९ अध्ययनरत श्रमिका खड्काले तरहराको परिचय प्रस्तुत गरेका थिएँ ।
कार्यक्रममा जमा बाम्बुले राई लिम्बू, मीरा पोख्रेल, वशिष्ठ कविलगायतले अतिथि रचना वाचन गरेका थिए भने तरहरा मोडेल एकेडेमीका छात्रछात्राले सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रमका मुख्य अतिथि तुलसी दिवसले पुरस्कृत कविहरूलाई बधाई दिँदै यस प्रतियोगिताले समकालीन नेपाली कवितालाई स्थानीय स्तरबाट उठाएर राष्ट्रियअन्तर्राष्ट्रिय फैलावट दिन सफल भएको धारणा राखेका थिए । उनले साहित्य, कला, संस्कृतिको क्षेत्रमा लागेका स्थानीय प्रतिभा प्रोत्साहन गर्ने वातावरण निर्माण गर्नु राज्य तथा समाजको अग्र-दायित्व भएको पनि औँल्याएका थिए ।
प्रकाशित: १२ वैशाख २०८२ २०:५९ शुक्रबार