२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

डोटीको मुकुट शैलेश्वरी

संस्मरण

शक्तिशाली राजनीतिक विरासत बोकेको डोटीमा ऐतिहासिक, आध्यात्मिक र पुरातात्त्विक महत्त्वका धेरै क्षेत्र छन्, जसमा आन्तरिक र बाह्य पर्यटनका लागि असीम सम्भावना छन्। त्यस्तै एउटा स्थान हो, सिलगढीस्थित माता शैलेश्वरीको मन्दिर।

म धेरै पटक डोटी गएको छु। शैलेश्वरी माताको दर्शन अनेकौं पटक गरेको छ। मैले धेरै पटक शैलेश्वरी यात्राबारे केही लेख्ने प्रयास नगरेको होइन। तर यो सम्भव हुन सकेको थिएन। मेरा सामु सधैं एक प्रश्न उपस्थित भइरह्यो, कुन बेलाको यात्रालाई प्राथमिकता दिऊँ? कुनै पनि बखतको यात्रा होस्, यहाँको प्रत्येक यात्राको एक प्रमुख उद्देश्य त माताको दर्शन गर्नु नै हो। यो फरक कुरा हो कि प्रत्येक यात्रामा म सँगै रहने साथीहरूको नाम र सङ्ख्या फरक हुन सक्छन्। त्यसैले मैले यो संस्मरणलाई समग्रमा प्रस्तुत गर्नु उचित ठानेँ। न यात्राको तिथिमिति, न समय, न यात्राका साथीको फेहरिस्त। यी विषयमा स्पष्ट उल्लेख गर्न म असहज ठानिरहेको छु।  

शैलेश्वरीलाई डोटीको ‘मुकुट’ पनि भनिन्छ। डोटीको सम्मान र प्रतिष्ठावृद्धिमा माता शैलेश्वरीको महिमा अपरम्पार छ। जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित यो मन्दिर भगवान् शिव र पार्वतीको एकीकृत प्रारूपस्थलका रूपमा स्थापित रहेको जानकारहरू बताउँछन्। डोटी जाने जोकोहीका लागि यो ठाउँ गन्तव्य बन्ने गरेको छ।

डोटी घुम्न आउनेहरू शैलेश्वरीको निकटताको चाहना राख्छन्। म पनि कसरी अपवाद हुन सक्छु र? म डोटी जाँदा शैलेश्वरीको आँगन हेर्न प्रत्येक पटक उत्सुक हुन्छु। यस प्रक्रियामा मसँग डोटीका मेरा पत्रकार साथीहरू हुन्छन्। कहिलेकाहीं डोटीबाहिरका साथी पनि रहने गरेको म सम्झन्छु।

शैलेश्वरीको स्थापना र उनको महिमाबारे जान्न म निकै अघिदेखि उत्सुक थिएँ। यस सन्दर्भमा मैले थाहा पाएँ, यस क्षेत्रमा शैलेश्वरीलाई देवीका सात बहिनीमध्ये एक मानिँदो रहेछ। सुदूरपश्चिम क्षेत्रमा शैलेश्वरी, बडिमालिका, उग्रतारा, निङ्गलाशैनी, त्रिपुरासुन्दरी, सुर्मादेवी र वरदादेवीलाई देवीका सात बहिनी मानिन्छन्। त्यहाँका विभिन्न पहाडी जिल्लामा सात भगिनी देवीका अनेकौं भव्यमन्दिर छन्, जो स्थानीय जनताको आस्थाको धरोहरका रूपमा स्थापित छन्।

एकपटकको यात्राको सन्दर्भ हो। शैलेश्वरी मन्दिर परिसरमा शैलेश्वरी क्षेत्र विकास समितिका तत्कालीन अध्यक्ष प्रेमशंकर भट्ट (जो शैलेश्वरीका पुजारी पनि थिए) भेटिए। भेटका क्रममा उनले मेरो जिज्ञासालाई सम्बोधन गर्दै केही जानकारी दिए।

भट्टले शास्त्रमा वर्णन गरिएको शैलेश्वरीको व्याख्या र महिमाबारे चर्चा गरे। उनका अनुसार कैलाशपति महादेव र हिमालयकी छोरी पार्वती स्वयंवरपछि पैदलयात्रामा निस्किए र चन्दनगिरि पर्वत पुगे।

यो प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्वत थियो। अलौकिक रमणीय सुन्दरता, हरियाली, विविध रङ्गीचङ्गी फूल, चराको चिरबिरयुक्त मधुर वातावरण। प्रकृति, चराचुरुङ्गी सबैले संयुक्त रूपमा सङ्गीतमय वातावरण सिर्जना गरिरहेका थिए। शिव–पार्वती यस वातावरणबाट मोहित भए र प्रेमको आनन्द लिन थाले।

शीलामा परिणत शीलादेवी

यसैबिच भगवान् शिवबाटै कसैले मार्न नसक्ने भन्ने वरदान पाएको राक्षस तारकासुरले स्वर्ग र पृथ्वीमा आतङ्क मच्चाउन थाल्यो। उसको आतङ्कबाट पीडित ऋषि र देवताहरू महादेवको खोजीमा चन्दनगिरि (सिलगढी) पुगे। त्यसबेला शिव र पार्वती प्रेममा लीन भई एकाकार थिए। अचानक यस्तो अवस्थामा आएका ऋषि र देवताहरूलाई देखेपछि, शिवले पार्वतीलाई आफ्नो जटाभित्र लुकाउने प्रयास गर्न लागे।

यसै क्रममा, पार्वतीलाई लज्जाबोध भयो र उनी शीलामा लुप्त भएको कथा प्रचलित छ। त्यसपछि भगवान् शिवले ऋषि र देवताहरूलाई पार्वतीलाई प्रार्थना गर्न सङ्केत गरे। भगवान् शिवको आशय बुझेर तिनीहरूले देवी पार्वतीलाई प्रार्थना गरे।

प्रार्थनाबाट प्रसन्न भएर पार्वती आफ्नो वास्तविक रूपमा प्रकट भइन् अनि ऋषि र देवताहरूको इच्छा पूरा गर्ने वरदान दिइन्। यसपछि त्यही ठाउँमा शिवशक्ति स्वरूपा शिवलिङ्ग सिर्जना भएको मानिन्छ।

शास्त्र उधृत गर्दै भट्टले भने, ‘शिलामा परिणत भएकाले पार्वतीलाई शिलादेवी नाम दिइएको हो। यस्तै शैल अर्थात् पर्वतमा सयर गरेकाले यो ठाउँको नाम शैलेश्वरी राखिएको भनाइ प्रचलित छ भन्ने किंवदन्ती छ।’

त्यही पर्वत पछि सिलगढी (शिलायुक्त पर्वत)का नामले चिनिन थालियो।

मलाई दोस्रो यात्राको सन्दर्भ स्मरण छ। शैलेश्वरी मन्दिर परिसरमा मैले एकजना पुराना पत्रकार धनबहादुर मल्ललाई भेटेको थिएँ। उनको घर शैलेश्वरी मन्दिरको छेउमा छ। २०१६ सालदेखि सगरमाथा समाचार समितिमा कार्यरत मल्ललाई डोटीका लागि राष्ट्रिय समाचार समिति (रासस)को पहिलो संवाददाता नियुक्त गरिएको थियो।

जीवनभर पत्रकार, शिक्षण पेसा, नाटककार र मूर्तिकारका रूपमा काम गरेका मल्ल हाल बुढेसकालमा शैलेश्वरीको सेवा गरिरहेका छन्। अहिले उनी आफ्नो सम्पूर्ण समय मन्दिरको सौन्दर्य कायम राख्न बिताइरहेका छन्। उनले बनाएका धेरै मूर्ति अहिले शैलेश्वरी परिसरमा सजिएका छन्। मन्दिर परिसरमा शिव र पार्वतीका धेरै मूर्ति बनाएका मल्लजीले ‘मिनी खप्तड’का रूपमा सुन्दर फूलको बगैंचा पनि बनाएका छन्। शिव र पार्वतीको मूर्तिबाहेक मन्दिर परिसरमा खप्तड बाबाको मूर्ति पनि छ।

मलाई सम्झना छ, यस यात्रामा स्थानीय पत्रकार अनुज अरूण बम पनि मसँगै थिए। अरूण र म दुवैले मल्लजीसँग धेरै बेर कुराकानी गरेका थियौं। कुरा गर्दा उनलाई धर्मशास्त्र र शैलेश्वरी महात्म्यबारे पर्याप्त ज्ञान भएको जस्तो लाग्यो। उनलाई प्राचीन धर्मग्रन्थका धेरै श्लोक कण्ठस्थ छन्।

शैलेश्वरी परिसरमा आउने आगन्तुकलाई आफ्नो ज्ञानले शैलेश्वरीको महिमाबारे जानकारी गराउनु अहिले उनको एकप्रकारको दैनिकी नै बनेको छ। उनका अनुसार स्कन्द पुराणको मानसखण्डमा नेपालको पश्चिमी क्षेत्र, यसको धार्मिक महत्त्व, यस भूमिमा रहेका देवीदेवताको घुमफिर र गतिविधिको विश्लेषण छ।

धर्मशास्त्रका आधारमा उनी जनसामान्यले बुझ्ने भाषामा दाबी गर्छन्– ‘शैलेश्वरी परिसर त्यो ठाउँ हो, जहाँ शिव र पार्वतीले आफ्नो हनिमुन मनाए र आफ्नो दिव्यनिवास बनाए।’

मल्लजीले शैलेश्वरीलाई ‘अर्धनारीश्वर’ मानिने कुरा पनि उल्लेख गरेका छन्, जसको अर्थ शिव र शक्तिको रूपमा देवीको उपस्थिति हो किनकि यो शैलेश्वरी परिसरमा शिव र पार्वती विलय भएको ठाउँ पनि हो।

धरोहर शैलेश्वरी

माथि पनि चर्चा गरियो, शैलेश्वरीको महिमा अपार छ। यो मन्दिरलाई नेपालको प्रसिद्ध शक्तिपीठ मानिन्छ। शैलेश्वरीमा विश्वास गर्नेहरू नेपालमा मात्र नभई भारतको उत्तराखण्ड राज्यलगायत विश्वका अन्य भागमा पनि छन्। यहाँ पूजा गर्न दैनिक भक्तजनको ठुलो भिड लाग्ने गर्छ। यस मन्दिरमा प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाको दिन भव्य मेला लाग्छ।

यहाँ पूजा गर्नाले मनोकामना पूरा हुने विश्वास गरिन्छ। ‘शैलेश्वरी यस क्षेत्रका बासिन्दाको आस्थाको धरोहर हो,’ शैलेश्वरी क्षेत्र विकास समितिसँग सम्बद्ध पुजारी प्रेमशंकर भट्ट भन्छन्। उनको दर्शन गर्न देश र विदेशका मानिस यहाँ आउँछन्।

प्रत्येक १२ वर्षमा यहाँ कोटी–हवन महायज्ञ आयोजना गरिन्छ। महायज्ञमा स्वदेश तथा विदेशबाट लाखौं भक्तजन उपस्थित हुन्छन्। प्यागोडा शैलीमा निर्मित यो मन्दिर कलात्मक र आकर्षक छ। शैलेश्वरी परिसरमा मूल मन्दिरबाहेक अन्य सात मन्दिर छन्। यसमा हनुमान कुण्ड, शिव मन्दिर, गणेश मन्दिर, भैरव मन्दिर, मष्ट मन्दिर र चण्डेश्वरी मन्दिर समावेश छन्।

शैलेश्वरी डोटेली समुदाय र नेवारी समुदायको साझा आस्थाको केन्द्र पनि हो। शैलेश्वरी परिसरमा डोटेली समुदायले मष्टा परम्पराअनुसार पूजा गर्छन् भने नेवारी समुदायले नेवारी परम्पराअनुसार धार्मिक गतिविधि सञ्चालन गर्छन्।

प्रकाशित: ६ वैशाख २०८२ ०७:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App