गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित सिनेमा ‘वसन्त’ दर्शकको उत्कृष्ट वर्डअफ माउथसहित देश तथा विदेशमा एकसाथ प्रदर्शन भैरहेको छ। यसैबीच सिनेमामा समावेश गीत ‘मोटर’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतलाई सिनेमामा कथा वाचनको रूपमा प्रस्तुत गरिएको छ।
भर्खरै सार्वजनिक सिनेमाको यो गीतमा सिनेमाका मुख्य कलाकार प्रकाश सपुत र खड्कबहादुर पुन (खबपु) फिचर्ड छन्। यो गीतमा गायक सपुकै स्वर, शब्द रचना, कम्पोज र योगश काजी शाहको एरेञ्ज छ।
सिनेमाको मंगलबार सार्वजनिक गीतले व्यापारमा समेत फाइदा गर्ने अपेक्षा निर्माण टिमको छ। निर्देशक तथा गायक सपुतले सिनेमाको भाव अनुसार नै ‘वसन्त’को गीत ‘मोटर’ तयार गरेका बताए।
यता सिनेमाको निर्माण टिमले कमलपोखरीस्थित सिटी सेन्टरमा अवस्थित बिग मुभिजमा स्पेशल स्क्रिनिङको समेत आयोजना गरेको थियो। जहाँ अभिनेत्री केकी अधिकारी, निर्देशक नवल नेपाल, निर्माता छविराज ओझा, अभिनेता पृथ्वीराज प्रसाई, नृत्य निर्देशक शंकर बिसी, गायक तथा संगीतकार खेम सेञ्चुरी लगायतले स्पेशल स्क्रिनिङमा सिनेमा हेरेका थिए। सिनेमा हेरिसकेपछि अधिकांशले निर्देशक तथा अभिनेता प्रकाश सपुतको कथा भन्ने शैली र समाजको यतार्थ चित्रण गरेको भन्दै ‘वसन्त’को तारिफमा शब्द खर्चिए
‘वसन्त’ हेरिसकेपछि अभिनेत्री केकी अधिकारीले प्रकाश सपुतका हरेक सिर्जनामा समाजका कथा देख्न पाइने र यसमा पनि त्यही कुरा हेर्न पाउँदा खुशी लागेकाे बताइन्।
चैत्र २२ गतेबाट नेपाल र विदेशमा एक साथ रिलिज रिलिज भएको सिनेमामा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्कबहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय छ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन्। विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले देखाएको छ। सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन्।
गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो। गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकीय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन्।
प्रकाशित: २८ चैत्र २०८१ ११:५७ बिहीबार

