१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १६:३६ अपराह्न

आमाको नाममा पूजा गरियो। धेरै खुसी भएको छु। कस्तो बत्ती पनि बाल्न नसक्ने म। तिमीले कति सजिलै बत्ती बालेकी, म त हेरेको हेरै भएँ। मक्ख पर्दै मेरो तारिफ गर्दै छ। मभित्रको म खुसी नभएको पनि होइन। केही जवाफ नदिई मुसुक्क मुस्कुराए।

होइन कति डर नभएको भन्या जे पनि गरेकी म त सक्दिन है केही गर्न। म चुपचाप सुनिरहेकी छु। जवाफ दिइन।

सम्बन्धको गाठो बलियो हुँदैछ सुस्तरी।

हामी होटलको कोठामा आयौँ। रातभरिको यात्रामा थाकेका थियौँ। गर्मीमा बसेको उसलाई जाडो भइरहेको थियो।

हेर न, मलाई कति जाडो भइहेको छ। सुटकेस खोलेर ज्याकेट निकाल्नुपर्छ होला। मैले झुकेर आफ्नो ओढ्ने ओढाइदिएँ।

थाकेर लखतरान भए पनि मलाई दाजुभाउजू भेट्नु थियो। तिमी र प्रकाश दाइ मेरा लागि उस्तै हो। म आज जे छु त्यसमा दुवैको महत्त्वपूर्ण योगदान छ। म तिमी र प्रकाश दाइलाई छोड्न सक्दिनँ।

- प्रकाश दाइको किताब नलिई म जान्न नि। तिमी दाजुभाउजू भेटेर कति बजे आउँछ्यौ, बोलिरहेको छ।

एघार बजे आउँछु अनि सँगै खाना खाएर किताब किन्न जाउँला हुन्न? चिन्ता नलिनु न म समयमा आउँछु। उसको प्रश्नको जवाफमा मैले भने, हुन्छ, किन नहुनु म एकछिन आराम गर्छु। तिमी दाजुभाउजूकहाँ पुगेर आउँ। उनले प्रेमले मेरो हातमा हात राखेर भने।

म बेलुकाको कपडा पनि नफेरि म हतारहतार ट्याक्सी चढेर साढे सात बजे दाजुको घरमा गएँ।

एक घण्टाको बाटो ट्याक्सीले साढे एक घण्टा लगायो। ट्राफिक मेरो बसमा थिएन। मलाई देखेर सबै खुसी भए।

खाना खाएर जानु फुपू सानो भदा काँखमा बसेर मलाई फकाउँदै थियो। मनभरिको मायालाई पोको पारेर एक कप चिया पिए। दाजुको आँखाबाट प्रेम तप्पतप्प खसिरहेको थियो।

एक घण्टा पनि नबसी म ट्याक्सी चढे अनि फर्के।

उनको फोन ट्याक्सी चढ्नेबित्तिकै आयो। म हिँडिसकेँ। अब एक घण्टामा आइपुग्छु भनेर राखेँ।

फोन आइरह्यो। उठाएर अब आइपुग्छु। धेरै छैन, सात सय मिटरभन्दा भन्दै दुई घण्टा लाग्यो। सात पटकको फोनमा मलाई त्यो समयमा झर्किएका उनका नमिठा धेरै कुरा सुन्नु परेको छ।

केही गर्न सकेकी थिइन।

म किन मान्छे भएर जन्मे भन्ने लागिरहेको थियो। चरा भएकी भए उडेर पुग्थे। भोक र ढिलो भएको पीडाले रन्थनिएर पुगेँ।

दौडिएर माथि जान लागेकी थिए। उनले रिसाएर भने, तिमीले गर्दा मेरो सबै कुरा चौपट्ट भयो। बेकारमा तिम्रो भर परे। म अघि नै गएर किताब ल्याउँथे।

प्रकाश दाइको आस तिमीले गर्दा पूरा गर्न सकिन। म भोकै छु। किन आउँछु भनेकी? उनी बोलिरहेका थिए। तिमी त खाएर आएकी होला। रिसाइरहेका थिए।

हिजोदेखि लगाएको कपडा फेर्नु थियो तर उनले रिसाएर माथि जान दिएनन्।

म चढेर आएको ट्याक्सीको पैसा नदिएकाले पर्खेर बसेको थियो। फेरि चढेँ। सामान ट्याक्सी ड्राइभरले राखिदियो।

उनी मसँगै आएर सिटमा बसेँ। ट्याक्सी ड्राइभरलाई मैले किताब किन्ने ठाउँको ठेगाना भनेपछि पनि उनी रिसाइरहेका थिए।

म छक्क परेकी छुँ।

मलाई सम्मान गर्छन् भन्ने भ्रम मनबाट हटेपछि मेरो आँखाबाट अनायास आँसु बग्न थाल्यो।  भरोसाका कुरा सम्झेँ।

म रोएको देखेर उसले मेरो पासपोर्ट र टिकट मेरो हातमा राखे। मैले समाइन्। मैले नसमाएपछि फेरि आफैले राखे।

आफूले गरेका कर्म सम्झेँ, अनि उनले मलाई गरेको बेवास्ताले बेकार आए भन्ने लागिरहेको थियो। भरोसाको पर्खाल भत्किन समय लागेन्। मलाई पनि अब रिस उठिरहेको छ। मुखमा एउटा कुरा व्यवहार फरक भइरहेको छ।

मनमा उठेको ज्वारभाटा रोक्न सकिन्। बगेको आँसुले धेरै कुरा मनलाई भनिरह्यो।

मनलाई सम्झाउन पटकपटक कोसिस गरेँ तर सकिन। मैले गर्दा ढिलो भएको पनि त थिएन। ट्राफिक जाम हुनु मेरो गल्ती पनि थिएन। नबुझ्न चाहने पुरुषवादी समाजमा जन्मेर म पनि हुर्केकी हो।

ट्याक्सी किताब पसलको एरियामा आएर रोकियो। उनी ट्याक्सीबाट ओर्लेर किताब पसल भएतिर गए।

ट्याक्सी ड्राइभरले मलाई सानो स्वरमा भन्यो। दिदी मन सानो नबनाउनु माया गर्ने मान्छेसँग रिसाउँछ। सर टेन्सनमा हुनुहुन्छ। मैले के भन्ने जवाफ भेटिन्।

चुपचाप बसेको देखेर उसले फेरि भन्यो तपाईहरू एयरपोर्टको समयमा पुग्नुहुन्छ। तर किन हो सर टेन्सनमा हुनुहुन्छ।

मलाई थाहा छ भाइ हामी पुग्छौँ। मेरो गल्ती नै छैन। अब म यो मान्छेसँग बोल्दिनँ भाइ, मलाई पटक्कै नबुझ्ने मान्छेसँग म किन बोल्नु, मैले शान्त भएर भने।

एकछिनपछि उनी हातमा मोटामोटा किताब बोकेर आए। मलाई  उसँग बोल्न मन पटक्कै लागेन्।

ट्याक्सी फेरि हुइकियो। एयरपोर्ट पुगेपछि ट्याक्सीबाट सामान उसले ड्राइभरसँग मिलेर निकाल्न थाल्दा मैले ब्यागबाट पन्ध्र सय निकालेर ड्राइभरलाई दिएँ।

विमानस्थलमा पुगेपछि मैले सुटकेस खोले। एकजोर कुर्थासुरवाल झिकेँ। सुटकेस र अरू ब्याग चुपचाप उनका अगाडि छोडेर बाथरुममा गए। बाथरुममा गएर कुर्थासुरवाल लगाए कपाल मिलाए। ब्यागमा भएको लिपिस्टिक लगाएर बाहिर आए।

भारी मन लिएर छोडेर आएको मान्छेको छेउमा गए। मेरो हातको सामान ब्यागमा राखेँ। हामी अन्तरार्ष्ट्रिय विमानस्थलमा पसिसकेका थियौँ। सबै चेकजाँच सकियो।

अब हातमा सानो लेडिज पर्स मात्र थियो। प्रतीक्षा गर्ने ठाउँमा पुग्नु अगाडि मैले सोचेँ। जोसँग हिँड्नु छ उसैसँग नबोलेर सम्भव हुँदैन होला। मलाई केही सामान किन्नु छ। मैले भने।

फर्क पछाडि मलाई भोक लागेको छ केही खानुपर्छ। मलाई बल्ल ख्याल आयो म पनि त भोकै छु नि।

म पनि त भोकै छु नि, मैले भारी आवाजमा भने।

हो नि काली, तिमी रिसाएर ठुस्स परेपछि मेरो भोक हरायो।

हामीले खानेकुरासँगै क्याटवरी चकलेट किन्यौँ। मैले उसलाई भाँचेर सानो सानो टुक्रा दिँदै गए। टुक्रा पारेर खान दिएको चक्लेटले मनको तितो बगाएर गुलियो बनाउँदै छ।

हामीले एउटा चक्लेट सकेपछि मैले भने। यता आउनुस तपाईंलाई कपडा हेर्न लैजान्छु।  उनी मसँगसँगै आए।

मैले छानिदिएको सर्ट र बेल्ट हेरे। निलो सर्ट लगाउन मैले कर गरेँ। उनले लगाएर ऐना हेरे। कति राम्रो देखियो है।

मन पर्‍याे मेरो प्रश्नमा फिस्स हाँसेर भने भो यो धेरै महँगो छ। तीस हजारको सर्ट र पन्ध्र हजारको पेटी म लिन्न।

मेरो पचास हजारको एउट र तीस हजारको चार वटा सारी छ। तपाईं किन आफूलाई लिनु हुन्न। कहिलेकहीँ लगाउनुपर्छ मन सानो नपारी किन्नुस्। उनले किन्ने मन नगरेपछि मैले सम्झाउँदै भने। फेरि मैले जिद्दी गरेपछि किने। कपडाको झोला उनको हातमा दिएर भने यो मेरो होइन। हस म्याम भनेर मजाले हाँसे।

हामी गेट नं ४ मा पुग्यौँ। मैले फेरि पैसा मागेँ। उनले पर्स खोलेर मतिर बढाए। मैले सात सय झिकेर क्यान्टिङमा आएँ। दुई कप चिया र एक बोतल पानी किने फिर्ता चालिस रुपियाँ पर्समा राखेँ। मेरो हातको चिया हातमा लिएर उनले मेरो अनुहारमा हेर्दै भने, ‘कहाँ भेट्यौ चिया। कति मिठो।’

अघिको रिस कता गयो? मेरो प्रश्नमा खुसी हुँदै भन्यो- छोड न यार तिमी पनि।

मैले दबाएर राखेको मनभित्रको ज्वालाले उचालिन खोज्दै भन्यो तेरो तुलना अब प्रकाश दाइसँग हुँदैन। उसले फेरि हेप्छ। अनि भन्छ म तिम्रो सहयोग नभएको भए सफलताको शिखर चढ्दिन थिए।

तिमीसँगै बसे पनि अब म मेरो टाउकोमा चढेर उक्लिने खुड्किलो बन्ने छैन। आफ्नो मुटुमा अर्को खाल्टो खन्ने छैन न त म तिम्रो साधन बन्छु न साधना।

प्रकाशित: १६ चैत्र २०८१ ११:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App