१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ३:४४ पूर्वाह्न
कला/संस्कृति

विवादमा कुणाल कामराको कमेडी शो, कडा कारबाही गर्ने महाराष्ट्र सरकारको चेतावनी

भारतका चर्चित हास्य कलाकार कुणाल कामराले आफ्नो एक कमेडी शोमा महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देको नाम स्पष्ट नलिई व्यंग्यात्मक टिप्पणी गरेपछि विवादमा तानिएका छन्। यो घटनाले महाराष्ट्रमा राजनीतिक तनाव बढाएको छ। महाराष्ट्र सरकारले कामरामाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।

महाराष्ट्र सरकारका मन्त्री योगेश कदमले भने, 'यदि उनीहरूले कमेडीको नाममा वरिष्ठ नेताहरूको अपमान गर्नुलाई स्वतन्त्रता ठान्छन् भने, यस्तो कमेडी महाराष्ट्रमा स्वीकार्य हुँदैन।' उनले थपे, 'एउटा गीतबाट विवाद सुरु भएपछि पनि सरकार र प्रशासनलाई मजाकको विषय बनाउने प्रयास भयो, जबकि उनीविरुद्ध मुद्दा दर्ता भइसकेको छ। कोही पनि कानूनभन्दा माथि छैन, त्यसैले कानूनअनुसार कारबाही हुनेछ।'

कुणाल कामराले आफ्नो शोमा बलिउड फिल्म 'दिल तो पागल है' को एक प्यारोडी गीत प्रस्तुत गरेका थिए। उक्त गीतमा शिव सेनामा भएको राजनीतिक विभाजनलाई व्यंग्य गरिएको थियो। गीतमा 'गद्दार' शब्द प्रयोग भएपछि विवाद चर्किएको हो। यो शब्दलाई एकनाथ शिन्देसँग जोडेर उनको अपमानको रूपमा लिइएको छ, यद्यपि कामराले शिन्देको नाम स्पष्ट उल्लेख गरेनन्।

आइतबार यो भिडियो सार्वजनिक भएपछि शिव सेना (शिन्दे गुट) का कार्यकर्ताहरू आक्रोशित बने र कुणालको शो छायांकन गरिएको स्थानमा तोडफोड गरेका थिए। तोडफोडमा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शिन्दे गुटका विधायक मुरजी पटेलले कामराविरुद्ध प्रहरीमा एफआईआर दर्ता गरेका छन्। 

कुणालका समर्थकहरूले यसलाई अभिव्यक्ति स्वतन्त्रताको पक्षमा तर्क गरिरहेका छन्। कुणालले माफी नमाग्ने अडान लिँदै कानूनी लडाइँका लागि तयार रहेको बताएका छन्। शिन्दे गुटले भने यो कमेडीलाई आफ्ना नेतामाथिको व्यक्तिगत आक्रमण मानेको छ। कामरा यसअघि पनि आफ्ना अभिव्यक्ति र मोदी सरकारविरुद्ध प्रखर रूपमा बोल्दै आएका छन्।

प्रकाशित: १३ चैत्र २०८१ १३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App