१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १:६ पूर्वाह्न
कला/संस्कृति

महाकवि देवकोटालाई सम्झँदै रौतहट

नेपाली साहित्यका अमर हस्ती महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘रौतहट आगमन’ सम्झिँदै यहाँका साहित्यकारहरूले आइतबार ‘देवकोटा पदार्पण दिवस’ उल्लासपूर्वक मनाएका छन्।

गरुडा नगरपालिका–५ महम्मदपुरमा आयोजित कार्यक्रममा देवकोटाको योगदानलाई स्मरण गर्दा साहित्यिक जमघट थप ऊर्जा र भावुकताले भरिएको देखिन्थ्यो।

महाकवि देवकोटा वि.सं. २०१० चैत १० गते रौतहटको गौरस्थित तत्कालीन शारदा पुस्तकालय (हालको कलाकुञ्ज पुस्तकालय) मा आयोजित साहित्यिक समारोहमा सहभागी हुन आएका थिए।

प्रगतिशील साहित्यकार श्यामप्रसाद शर्माको पहलमा देवकोटा गौरसम्म ल्याइएका थिए। त्यसबेला उनले दिएको हस्ताक्षर लामो समय पुस्तकालयमै सुरक्षित रह्यो। अहिले पनि सो ऐतिहासिक दस्ताबेज सुरक्षित रहेको साहित्यकार बिन्दा साहनी बताउँछन्।

कार्यक्रमलाई सम्बोधन गर्दै साहनीले महाकविलाई नेपाली साहित्यको ब्रह्माण्डसँग दाँजे। ‘देवकोटाको रौतहट आगमन नेपाली साहित्यमै ऐतिहासिक पल हो। उहाँको व्यक्तित्व र कृतित्वबाट नयाँ पुस्ताले मार्गदर्शन पाउने विश्वास लिएको छु।’ उनले सुनाए।

उनले आगामी वर्ष परिस्थिति मिलेसम्म कार्यक्रम कलाकुञ्ज पुस्तकालयमै आयोजना गर्ने र अझ भव्य रूपमा मनाउने घोषणा समेत गरे।

कार्यक्रमका परिकल्पनाकार सञ्जय साह मित्रले महाकवि देवकोटा र रौतहटको सम्बन्धबारे अझ गहिरो अध्ययन आवश्यक रहेको जिकिर गरे। ‘देवकोटा रौतहट आउनुभएको आज ७१ वर्ष बितिसक्यो। उहाँको आगमनको स्मरणले नयाँ खोजको ढोका खोल्न मद्दत मिल्नेछ।,’ मित्रले भने।

बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णले महाकवि जहाँ पुगे पनि त्यहाँ उनको स्मृतिमा यस्ता कार्यक्रम आयोजना हुनुपर्नेमा जोड दिए। ‘देवकोटाजस्तो विराट व्यक्तित्वबारे नयाँ पुस्ताले जान्नुपर्छ। यस कार्यक्रमले त्यसैको थालनी गरेको छ,’ उनले भने।

साहित्यकार तथा प्रअ रामअधार पासवान, विपिनबिहारी सिंह, पत्रकार तथा लेखक राजुकुमार श्रीवास्तव, पत्रकार चन्दन यादव, नवसर्जक साहित्य चौतारी नेपालका रौतहट उपाध्यक्ष रोशनी यादव, रामप्रसाद साहलगायतले कार्यक्रमलाई सम्बोधन गरे। उनीहरुले देवकोटाको स्मरणले नयाँ पुस्ता मात्र होइन, आफ्नो क्षेत्रको गौरवसमेत झल्किएको धारणा राखे।

कार्यक्रमले महाकविको सम्झनालाई नयाँ आयाम दिएको साहित्यकारहरूको विश्वास छ। कार्यक्रममा देवकोटाको पदचाप परेको रौतहटको माटोलाई सम्मान गर्दै साहित्यिक यात्रा अझ विस्तार गरिने संकेत समेत दिइयो।

प्रकाशित: १० चैत्र २०८१ २०:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App