मनोज कलेजबाट घर फर्कियो। बाबाको अनुहारमा पसिना थियो। हिजोआज उनको उज्यालो कान्ति हराउँदै गइरहेको थियो।
"बाबा, के भयो? सन्चो छैन?"
"सन्चो छु बाबू। लुगा फेरेर खाजा खाउ।" तर मनोजको ध्यान बाबाको अनुहारमा नै गयो। गम्भीर देखिन्थे।
"बाबा, भोलि कलेजमा एउटा कार्यक्रमको लागि एक हजार रूपैयाँ चाहिन्छ।" बाबाले केही बोलेनन्। अनुहार झन् गम्भीर बन्यो। मनोजले थाहा पाएन, बाबाको मन भित्रभित्रै बिथोलिइरहेको थियो। उनीसँग आजै रामकुमार साहुको चामलको पैसा तिर्नुपर्ने थियो।
हरि सर सरुवा भइसकेपछि दूध ठेक्का लिने मान्छे थिएन। अदुवा, कुचो, फापरका भाउ बजारमा ठप्प थिए। आमाको औषधी पनि सकिन लागेको थियो। जैविक खेती गर्ने कृषकहरूलाई आफ्नै फलाएको अन्नको मूल्य तोक्ने अधिकार थिएन।
यो सरकार आए पनि, त्यो सरकार गए पनि, बजारको मूल्य साहूको इसारामा नै निर्धारण हुन्थ्यो। बाबा रातभर निदाउन सकेनन्। न छोरालाई भने, न आमालाई। झिसमिसेमै उनी नरपतीको घर पुगे। आफ्नो बाध्यता सुनाए।
बारीको तोरी, अदुवा, कुचो, फापर सबै देखाए। तर नरपती बजेन। हात हल्का हल्लाएर "अहिले सक्दिन" भनिदियो। बाबा तितो थुक निल्दै कोदो माजनको घर पुगे। ढोकैनेर पुगेका मात्र के थिए, गोजीमा राखेको फोन बज्यो।
"रामकुमार साहु" लेखेको देखे। रिस उठ्यो। फोन काटिदिन मन थियो, तर हातले संयम गर्यो। कोदो माजनले उनलाई भित्र बोलाए। उनी मौन ओछ्यान नजिकै बसे। कोदो माजनले ध्यान दिएर उनको कथा सुने। अन्ततः एउटा सर्तमा तीस हजार रूपैयाँ दिने भयो।
बाबाका आँखामा आँसु झल्झलाए। उनी पैसासहित घर फर्किए। छोराको खर्च दिए, आमाको औषधी ल्याए, साहुको ऋण चुकाए, सौदापात किनेर घर भित्र्याए। त्यसपछि उनी शहर गए।
अबेर रातिसम्म नफर्केपछि मनोजले आमासँग चिन्तित हुँदै सोध्यो। "बाबा किन आएनन्?" फोनमा लगातार घण्टी गयो। कसैले उठाएन। फेरि प्रयास गरे। अन्ततः फोन उठ्यो। तर बाबाको आवाज आएन। त्यो अस्पतालबाट एक नर्सको आवाज थियो।
"तपाईंको बाबा अहिले अपरेसनमा हुनुहुन्छ। उहाँले कोदो माजनको छोरालाई एउटा किड्नी दान गर्नुभएको छ।"
हेमराज अधिकारी
प्रकाशित: ७ चैत्र २०८१ १०:४१ बिहीबार





