२६ चैत्र २०८१ मंगलबार
image/svg+xml १६:१३ अपराह्न
कला/संस्कृति

सर्लाहीको मलंगवामा बज्जिका महोत्सव सम्पन्न

सर्लाहीको मलंगवामा बज्जिका महोत्सव २०८१ सम्पन्न भएको छ। बज्जिका साहित्य समाज सर्लाहीको सहयोगमा मलंगवा नगरपालिकाले नेपालको इतिहासमा पहिलोपटक बज्जिका महोत्सव सम्पन्न गरिएको हो।  

मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्रप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति मधेश प्रदेश सरकारका पूर्व अर्थमन्त्री माननीय सञ्जयकुमार यादवले बज्जिका भाषा र साहित्यको प्रवर्द्धनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यादवले मन्त्री पदको शपथ बज्जिका भाषामा नै लिएका थिए। भाषाको लिपिको संरक्षण हुनुपर्ने बताउँदै यादवले मधेशको सबैभन्दा बढी मानिसको आत्मामा बसेको भाषाको रूपमा बज्जिकालाई बताएका छन्। आफ्नो भेष, पहिरन, संस्कृति र भाषा सबैलाई प्राणभन्दा प्यारो हुने बताउँदै पूर्वमन्त्री यादवले बज्जिका महोत्सवले नयाँ इतिहासको गोरेटो निर्माण गरेको बताएका छन्।  

कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले बज्जिका भाषाको विकास महत्वपूर्ण रहेको बताउँदै मातृभाषालाई छाडेर अंग्रेजी शिक्षातिर ध्यान दिने अभिभावकप्रति असन्तोष व्यक्त गरेका छन्। अध्यक्ष महतोले पहिचानको लागि भाषा र संस्कृतिको रक्षा अत्यावश्यक रहेको पनि बताए।  

कार्यक्रमका प्रमुख अतिथि, नगर प्रमुख र कार्यक्रम संयोजक तथा बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहाले सञ्जय साह मित्र, विश्वराज अधिकारी, राम विश्वास राय, सिद्धान्तकुमार चौधरी, रेणु गुप्ता, रामचन्द्र महतो कुशवाहा, किशुनदयाल श्रीकृष्ण र सञ्जय सुदामाद्वारा लिखित संयुक्त लघुकथा कृतिको संयुक्त लोकार्पण गरेका छन्। नेपालमा बज्जिका भाषाको पहिलो लघुकथा कृति 'बज्जिका लघुकथा'को प्रकाशन लेखकहरू स्वयंले गरेका छन्। हरेक लेखकको पाँच ओटाको दरले कवितामा चालिस लघुकथा संकलित छन्। लघुकथा कृतिको लागि रचनाको संयोजन सञ्जय साह मित्रले गरेका थिए।  

बज्जिका भाषाको स्वरुप शीर्षकमा अनुसन्धानकर्मी सञ्जय साह मित्रले कार्यपत्र प्रस्तुत गरेका छन्। यसै गरी मित्रले बज्जिका भाषाको इतिहासको बारेमा पनि प्रकाश पारेका छन्।  

कार्यक्रममा मित्रलाई बज्जिका रत्न र महोत्तरीका साहित्यकार अजयकुमार झालाई बज्जिका गौरवको उपाधि दिइएको छ। यसै गरी साहित्यकारहरू विश्वराज अधिकारी, विमलेशकुमार झा, डा. विजय झासहित करिब एक दर्जन साहित्यकारलाई सम्मानित गरिएको छ।  

कार्यक्रममा भारतीय बज्जिका साहित्यकार मणिभूषणप्रसाद सिंह अकेला, डा. शिवबालक राय, डा. सञ्जय विजित्वर, अवधेष तृषित, रामकिशोर सिंह चकवालाई पनि सम्मानित गरिएको छ। कार्यक्रममा राजकुमार श्रीवास्तव, विमला झासहित आधा दर्जन पत्रकारलाई पनि सम्मानित गरिएको छ।  

नेपालको बारा, रौतहट, सर्लाही र महोत्तरीमा मातृभाषाको रुपमा बोलिने बज्जिका मातृभाषी भारतमा करोडौँको संख्यामा रहेका छन्। नेपालमा पहिलोपटक बज्जिका महोत्सव आयोजना गरिएपछि बज्जिका मातृभाषी तथा साहित्यकारहरूमा निकै उत्साह देखिएको छ।

प्रकाशित: १८ फाल्गुन २०८१ १०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App