८ माघ २०८२ बिहीबार
image/svg+xml
कला

पारदर्शी कविताकाे चाङ ‘तालीको समाजशास्त्र’

पुस्तक पहाड

समय बदलिएको छ, बदलिँदो छ। समाज र संस्कृतिको नक्सा बदलिएको छ, मूल्य मान्यताहरू बदलिएका छन्। मानिसका जीवनका परिभाषा बदलिएका छन्। भौतिक विकासले मानिसको चिन्तनको गति, दिशा र लयलाई पनि परिवर्तन गर्दै लगिरहेको छ। तर बहुमत नेपाली जनसंख्या आधारभूत सुविधा र सुरक्षाका लागि नै संघर्षरत छ। एकातिर नवसामन्तहरू आमजीवनको वर्तमान र सपनामाथि ताण्डव नाचिरहेछन् अर्कातिर पूँजीवादको तिलस्मी चटकले जीवनको गतिलाई मोडिदिएको अवस्था छ। बजारशास्त्रले गरिदिएको छ जीवन र संस्कृतिको नवव्याख्या र त्यसलाई चूपचाप स्वीकार्न बाध्य छन् मानिसहरू। हिजोका लगभग सबै नायकले बाटो फेरेका छन्। बदलिएको यो समयमा कवि पनि बदलिएको छ। कविता पनि आजकाल ‘बहुरुपिया’ हुन थालेको छ जसको रुप र सारमा बिलकुलै तालमेल छैन।

यो समयमा पारदर्शी कविता बोकेर बेइमान पात्र र प्रवृत्तिलाई निरन्तर  खबरदारी गर्दै आएका कवि हुन् विश्व सिग्देल। दुई दशकदेखि कवितामा निरन्तर सक्रिय सिग्देलका ४४ उम्दा कविताको संग्रह ‘तालीको समाजशास्त्र’ का अधिकांश कविताले हाम्रै समयका दुर्बल, विसंगत एवम् विकृत पक्षहरूप्रति असहमत, असन्तुष्टि प्रकट गरेका छन्।

नेपाली राजनीतिको दुर्गन्ध, वैचारिक आस्था र नायकत्वको क्षयीकरण समकालीन नेपाली कविताको लगभग केन्द्रीय विषयवस्तु हो। सामान्यतया कवितालाई लोकले ‘कोमल र मुलायम’ विधाका रूपमा अपेक्षा गरेको हुन्छ, सम्भवतः हुनुपर्ने पनि त्यस्तै हो।

कविताले आम मानसिकताभन्दा परको गहिराइ प्रकाशन गर्ने सामर्थ्य राख्दछ पनि। यति हुँदा हुँदै पनि कविताले लामो समयदेखि विद्रोह, संघर्ष र आक्रोशलाई मुख्य आवाज बनाउँदै आएको छ। नेपालमा त झन् सत्ता र सत्ताधारीहरूले असली कविहरूलाई कोमल, मुलायम कविता लेख्ने अवसर नै दिएका  छैनन्।

विश्व सिग्देल पनि तमाम् प्रतिभाशाली कविहरूले जस्तै राज्यसत्ता र त्यसको वरिपरिका शक्तिहरूसँग जुध्नमा नै सिर्जनशीलता खर्च गर्नुपर्ने अवस्थामा छन्। उनका कविता पनि सत्ता र शक्तिको वरिपरि घुमिरहेका माथिदेखि पुछारसम्मका स्वार्थी, बेइमान एवम् निरंकुश चरित्रहरूको भण्डाफोर गर्न अभिशप्त छन्। व्यक्तिगत जीवनदेखि राष्ट्रिय जीवन मूल्यमान्यता च्यूत भइरहेको अवस्था, पूँजीवादी बजारशास्त्रले चटाइदिएको लालच, विवेक र नैतिकता बन्धकी राखेको शक्तिको पछि लागेर ताली बजाउने प्रयोजनका लागि सीमित जनता, राष्ट्रवादको बेसारे रंग, पोलिमर नोट जस्तै बनिसकेको दर्शन र सिद्धान्त आदि बर्गेल्ती विसंगत अवस्थाहरू विश्वका कवितामा पनि छन्, जुन आजको सचेत कविताका केन्द्रीय स्वर हुन्।

हामीहरू मार्क्स हौँ

वा, हौँ  माओ

बुद्ध हौँ वा हौँ  ताओ

दर्शनलाई

रु. दशको पोलिमर नोट हुनबाट जोगाऔँ!

-पोलिमर नोट

विश्वका वैचारिक कविताको एउटा महत्त्वपूर्ण पक्ष बहसको आमन्त्रण पनि हो। उनी कवितामा कुनै कथित ‘क्रान्तिकारी कवि’ले जस्तो ठोकुवा गरेर निष्कर्ष दिँदैनन्, सन्दर्भ र प्रसंग उठाएर प्रश्न उमार्दछन्। राजनीति, कृषि, अर्थव्यवस्था, स्वास्थ्य, शिक्षा, संस्कृति आदि हरेक क्षेत्रका बारेमा प्रश्न उठाएका छन् विश्वका कविताले। कवितामा कविले कुनै वैचारिक निष्कर्ष ननिकाल्नु उसको विनयशीलता मात्रै होइन, वास्तवमा खाँट्टी प्रगतिशीलता त्यही हो। प्रगतिशीलता त्यो हो जसले पाठकको मनमा अन्धो समर्थन या विरोध भन्दा पनि मन्थन र बहस चलाउन सकोस्। विश्वका कविताले यो सामर्थ्य राख्दछन्।

उनका कविताले आफ्ना कविताले उठाएका मुद्दाप्रति पाठकको सहमति या असहमतिका लागि दबाब सिर्जना गर्दैनन्, बरु मुद्दाहरूको छलफलमा पाठकलाई पनि सँगै उभ्याउने किसिमको बौद्धिक कसरत गराउँदछन्। मेरो विचारमा यो एउटा वैचारिक कवितामा हुनुपर्ने विशेषता हो।

हो; म नाङ्गो छु

म नाङ्गो साबुन हुँ

तिनीहरूको बजारको नाङ्गो नाचभन्दा

कैयन् गुणा

शालीन र शिष्ट छ

मेरो नाङ्गो प्रस्तुति

आवरणहीन उपस्थिति!!

- नाङ्गो साबुन

विश्वका कविताले हामी र हाम्रो समयको वास्तविक बोली बोल्दछन्। उनका कवितामा फरकफरक ‘हामी’ आएका छौँ। थाहा पाएका हामी र थाहा नपाएका हामी बीचमा थाहा पाएर पनि नपाएझैँ गरी सत्ता र शक्तिको विनम्र बफादारहरू । विश्वका कविता थाहा पाउने हामीसँग लामबद्ध छन्, थाहा नपाउने हामीप्रति सहानुभूति राख्दछन् र थाहा नपाएको अभिनय गर्ने हामीलाई घृणा गर्दछन्।

समसामयिक विश्व र देशीय परिवेशसँग जोडिएका कविताहरूकै कित्तामा आउँछन् विश्वले भुइँमान्छेबारे लेखेका कविताहरू पनि। त्यसो त उनका कविताको मूल अभीष्ट जमीनको यथार्थसँग जोडिनु नै देखिन्छ। चाहे भूमण्डलीकरणको प्रभाव होस् अथवा देशको अराजनीतिक तक राजनीति, यी दुवैको जगमा भुइँमान्छेको पक्षधरता विश्वका कविताको उद्देश्य हो। उनले कतिपय प्रतिनिधि भुइँमान्छेलाई सिंगो कवितामा स्थान दिएर उनीहरूका आवाज र अन्तर्वेदनालाई कवितामा उठाएका छन्।

उखु पेलेर जुस निकाल्ने मान्छे, सालको पात बेच्ने तामाङनी, होटेलमा काम गर्ने कान्छा, मकै पोल्ने बुढी आमा, कपाल काट्ने मान्छे आदि सत्ता र शक्तिको केन्द्रभन्दा उपल्लो छेउका मान्छेका मार्मिक शब्दचित्र उनले कोरेका छन्।

नियमित दैन्दिनीमा सामान्य मानिएका र ठानिएका यस्ता कतिपय जीवनका मार्मिक कथा र तिनका जीवनका संघर्ष कवितामा अभिव्यक्त हुनुले कवि हुनुको संवेद्यता र गर्वलाई उठाउँछ। यति हुँदा हुँदै पनि आम जीवनको संवेदना र संघर्षलाई नकली पालिस लगाएर कवितालाई बेच्ने कवि र साँच्चिकै कवि बीचको भिन्नता सिग्देलको कवि हृदयले सोचेको छ।

ठीक छ

तिमी मख्ख छौ

सही तथ्याङ्क र ठ्याक्कैको आकडा

अझै तिम्रो झन्डामा पोतिएको छैन

अझै आफ्नै रङमा छ तिम्रो कोट!

–एक करोड चालीस लाख

विश्व सिग्देलका कविताको अर्को फरक पाटो पनि छ। निजी जीवनको भोगाइ र स्मृतिलाई कवितामा अभिव्यक्त गर्न उनी असाध्य रुचाउँदछन्। जीवनचर्या र परिवेश एवम् तिनका अनुभव र स्मृतिलाई कलात्मक स्वरूपमा उन्न सक्नुले ती कविता जीवन्त मात्रै लाग्दैनन्, पाठकले आफ्ना भोगाइसँग समवेत अनुभव गर्न सक्दछ। आमा, बा, परिवार, साथीभाइ र यात्राका फरक सन्दर्भहरूसँग जोडिएका उनका यस्ता कविता कलात्मक दृष्टिले पनि उत्तम छन्। तर ती वैयक्तिक हुँदा हुँदै पनि वैचारिक रूपमा धरातलीय यथार्थलाई नै प्रकट गर्दछन्।

जीवनप्रतिको मीठो मोह, माया, स्नेह र विश्वासको भाव संचरित गर्न ती कविता सक्षम छन्। राजनीतिक र त्योसँग जोडिएका सन्दर्भहरूलाई समेटिएका कविताले आफू बाँचेको समयका अव्यवस्थाप्रति रोष, घृणा र आक्रोशको भाव संरचित गराउने कवि आफैँ आफूसँग जोडिएको दैन्दिनी र सम्बन्धहरूप्रति न्यानोपन पैदा गराइदिन्छ। झट्ट हेर्दा यो अनपेक्षित र अड्मिल्दो लागे पनि कविको भोगाइसँग आएका पात्रहरू पनि तिनै कथित केन्द्रको परिधिबाहिरका भएकाले सारगत रूपमा यी अन्तरसम्बन्धित अवश्य छन्।

थाहा नपाएर बाँच्न सजिलो छ

थाहा पाएर बाँच्न गाह्रो

योधरि हामीलाई थाहा छ।

-हामीलाई थाहा छ

पछिल्लो समय नेपाली समाजकै कमजोरी भनेको आडम्बर हो, अर्थात् आफू जस्तो छ त्यसको आत्मप्रकाशन गर्न नसक्नु हो। व्यवहार र विचारको तालमेल मिलाउन नसक्नु हो। समाज जस्तै अधिकांश कविको चेतना पनि दिग्भ्रमित छ। धेरै कवि आफैँलाई ढाँटेर कविता लेख्ने होइन, बनाउने काम गरिरहेछन् जस्तो देखिन्छ। कोही अलग्गै युटोपियामा रमाइरहेका छन्, मानौँ आफ्नो वरपरको जगत्सँग उनीहरू निरपेक्ष भएर बाँचिरहेका छन्, कोही कवितालाई समाज र मान्छेको भोगाइको यथार्थसँग अलग्गै राख्दा आफ्नो कवित्व सुरक्षित हुने विश्वास राख्दछन्, अनि केहीलाई चाहिँ जर्बजस्ती क्रान्तिकारी बनिदिनु र देखिनुपर्ने बाध्यता पनि छ।

 धेरै राम्रा भनिएका कवि पनि कवितामा आफ्ना कुरा ढंगले राख्न नसकेर चुकेका छन्। उनीहरूका कविताको आत्मा एक आपसमा बाझेको प्रष्टै देख्नमा मिल्दछ। कविहरूको यो भीडमा केही असल र समर्थ कवि अवश्य छन्, जसका कविताले कुनै आडम्बर विना समय र यसको चेतनालाई बोकेर हिँडेको हुन्छ। कविता चेतना र संवेदनाको समवेत उछाल हो। कृत्रिम कविताले क्षणिक वाहावाही  त पाउँछ तर त्यसको आयु छोटो र फैलावट साँघुरो हुन्छ। मलाई विश्वास छ, कवि विश्व सिग्देलले कविताको यो सामर्थ्यलाई राम्ररी बुझेका छन्।

कैँची, जो उसको हातमा छ

लोकतन्त्रको सालनाल काटेको

किन आतुर छ त्यही कैँची

काट्न गर्धन लोकतन्त्रको?

-कैँचीको मुट।

प्रकाशित: १२ फाल्गुन २०८१ ०८:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App