१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला

पोर्चुगलमा 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स' अडिसन सम्पन्न

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाद्वारा आयोजित 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स' सिजन-२ को पोर्चुगल अडिसन सम्पन्न भएको छ।

लिस्बनस्थित 'लभ लिस्बन' रेष्टुरेन्टमा आयोजित अडिसनमा नेपाली समुदायको उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रमका प्रमुख अतिथि फाउण्डेसनका कार्यकारी निर्देशक चुडामणी भट्टराई रहेका थिए भने विशेष अतिथिका रूपमा संस्थाका सांस्कृतिक विभाग प्रमुख ओमराज गुरुङको उपस्थिति रहेको थियो।

कार्यक्रम उत्साहजनक भएको संयोजक देवी गर्बुजा मगरले जानकारी दिइन्। 'मेरो भ्वाइस युनिभर्स' तर्फ ३२ जना प्रतियोगीले आफ्नो गायन प्रतिभा प्रस्तुत गरेका थिए भने 'मेरो डान्स युनिभर्स' तर्फ १६ जना प्रतियोगीले आफ्नो नृत्य प्रस्तुत गरेका थिए। नेपाली मौलिकता झल्किने पोशाकमा सजिएर आएका प्रतियोगीहरूले आफ्ना उत्कृष्ट प्रस्तुति दिएर मन जितेको उनले बताइन्।

फाउण्डेसनका कार्यकारी निर्देशक भट्टराईले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली भाषा, कला र संस्कृतिको विश्वव्यापी प्रवर्द्धन गर्ने यो अभियानले प्रतिभाशाली नेपालीहरूलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने बताए।  

कार्यक्रम संयोजक देवी गर्बुजा मगरले पोर्चुगलमा पहिलो पटक आयोजित अडिसन अत्यन्तै सफल भएको र यसले नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिन्।

कार्यक्रमको निर्णायक मण्डलमा मेरो भ्वाइस युनिभर्समा अमेरिकाबाट गायक तथा संगितकार केशब पौडेल, पोर्चुगलबाट गायक अर्जुन सोनाम, त्यसैगरी 'मेरो डान्स युनिभर्स'मा अमेरिकाबाट नृत्य निर्देशक रुपेश उप्रेती र पोर्चुगलबाट नृत्यंगाना देवी गर्बुजा मगर रहेका थिए भने दिपेश विस्टले कार्यक्रम संचालन गरेका थिए। यो अडिसनबाट गायनतर्फ ५ जना तथा नृत्यतर्फ ४ जना छनोट भएर नेपाल जाने छन्।

नेपालका लागि काठमाडौँ, पोखरा, दमक र नेपालगञ्जमा तथा अन्तर्राष्ट्रिय रूपमा बेलायत, थाइल्याण्ड, हङकङ, जापान, दुबई, कतार, अष्ट्रेलिया र भारतका विभिन्न शहरहरूमा अडिसन हुने कार्यक्रम तालिका अनुसार तयारी भइरहेको जानकारी दिइएको छ। 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स' का विजेताले १ करोड नेपाली रुपैयाँ पुरस्कार पाउने छन् भने दोस्रो स्थान हासिल गर्नेले २५ लाख र तेस्रो स्थान प्राप्त गर्नेले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा छनोट भएका प्रतिभाहरूलाई आगामी चरणका लागि काठमाडौँमा प्रतिस्पर्धा गराइने छ।

प्रकाशित: ९ फाल्गुन २०८१ १२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App