"कहाँ जान थालेको बाबु?" राधाले बिहानै छोरा कतै हिंडेको देखेर आश्चर्य हुँदै सोधिन्।
"आमा आज स्कुलमा छिट्टै जानु छ। मेरो पनि केही काम छ। त्यसैले पहिले आफ्नो काम गर्छु।" रमेशले आफ्नो आमालाई बतायो।
"किन छिट्टै जाने अनि तेरो के काम छ आज?" राधाले बुझ्न खोजिन्।
आमा आज सरस्वतीको पुजा हो। उनी विद्याकी खानी हुन्। त्यसैले हामी छिट्टै स्कुलमा पुगी सबै मिलेर उनकाे पुजा गर्छौ।" रमेशले जानकारी गरायो।
ऊ दश क्लासको छात्र भए पनि अत्यन्तै पौरखी स्वभावको थियो। घरमा परिआएका काममा पनि सहयोग गर्थ्यो।
"एए अनि अहिले कता हिंडेको त पाँच बजे बिहानै।" राधाले सोधिन्।
"म पछि भनुँला हुँदैन?"रमेशले सटिकमा भन्यो।
"बाबु! तिमी भनेरै गएपछि मलाई ढुक्क हुन्छ। नाई भने कता गयो होला, किन गयो होला त्यही चिन्ताले सताउँछ।" राधा खिसिक्क हाँसिन्।
"आमा, आजबाट साना क्लासका दुई विद्यार्थीलाई ट्युसन पढाउने विचार गरेको छु। कसो होला?" रमेशले भन्यो।
"हो र? गज्जब हुन्छ बाबु अनि फीस कति दिन्छन् त?'राधाले छोरातिर हेरेर सोधिन्।
आमा फिस फ्री। असहाय बालबालिकालाई निशुल्क सेवा कसो लाग्यो?" रमेश मुस्कुराउँदै भन्यो।
एकछिन रमेशलाई खुट्टाबाट सिरसम्म नियालिन्।
"के भयो आमा ठिक लागेन? मेरो योजना।" रमेशले आमाले आफूलाई चुपचाप नियालेको देखेर सोध्यो।
"होइन छोरा धेरै खुसी लाग्यो। आफ्नो ज्ञान बाँड्नुपर्छ।" राधाले रमेशको सिरमा हात राख्दै भनिन्।
- सुरेशकुमार पाण्डे
प्रकाशित: २१ माघ २०८१ ११:५१ सोमबार