१ चैत्र २०८१ शुक्रबार
image/svg+xml ११:४३ पूर्वाह्न
कला

अमृतभित्र विष घुलेको देखें मैले!

मुक्तक

१) मुक्तक

कोहीकोहीसँग मैले नजिक हुनै हुँदैन,

दुःख पोख्दै बेस्सरी कहिल्यै रुनै हुँदैन।

थाह छ बोल्यो कि पोल्यो भन्ने उखान,

ती फोहोरी हातलाई कत्ति छुनै हुँदैन।

२) मुक्तक

गयो विदेश नेपालको नुन बिर्सियो,

सुमधुर त्यो बाँसुरीको धुन बिर्सियो।

ठुलाठुला गफ दिई पछि म छु भन्थ्यो,

सहयोग गर्नेको सबै गुन बिर्सियो।

३) मुक्तक

कोपिला नलाग्दैमा फुलेको देखे मैंले,

घमण्डले बेस्सरी चुलेको देखें मैले।

अहंताले भरिएको घैंटो फुटाउन,

अमृतभित्र विष घुलेको देखें मैले।

४) मुक्तक

दुःख पर्दा लिईएको सहयोग त्यो नभुल्नु,

अपरिचित मानिससँग कहिल्यै नखुल्नु।

अहंताले मैमत्त भै दायाँबायाँ कतै नहेरी,

विद्ववान् सामु घमण्डले कहिल्यै नफुल्नु।

५) मुक्तक

भेटिएर छुटिंदा भक्कानो भो मुटु,

छियाछिया भएर अचानो भो मुटु।

भेटिनु र छुट्टिनु संसारकै रित रैछ,

आँसु झार्दै हिंडेपछि सानो भो मुटु।

६) मुक्तक

छिमेकीले सिमाना मिचेर मिचिदैंन,

देशको स्वाभिमान कहिले सिद्धिदैंन।

लड्नपर्छ माटोका लागि माया गर्नेले,

दुईचार तारा झरेर आकाश रित्तिदैंन।

७) मुक्तक

ठुलाबडाहरूको ठुलै नै हुन्छ लगानी,

धनी र गरिब बीच फरक छ कहानी।

जीवन चक्र हो घुम्दैफिर्दै आउने गर्छ,

नदेखाउ भयो पोखाएर आफ्नो जवानी।

८) मुक्तक

कहिले यता फेर्नुपर्छ कहिले उता फेर्नुपर्छ,

रहर हैन हजुर छ ज्यादै बाध्यता फेर्नुपर्छ।

सधैं तेरोमेरो भनेर चुनावमा झगडा नगरौं,

साँच्चै देशमा परिवर्तन ल्याउन नेता फेर्नुपर्छ।

९) मुक्तक

नेता भनेको राष्ट्रप्रति सदा झुक्ने हुनुपर्छ,

आहा भनेर माया ममतामा छुप्ने हुनुपर्छ।

यदि स्वास्थ्यमा केही भइहाले एकसाथ,

जनताको मन र देशलाई दुख्ने हुनुपर्छ।

१०) मुक्तक

मनभरि गुम्सिएका अनेकौं कुरा गुनाएर के फाइदा,

व्यवहार सबै माकुरीको जालझैँ बुनाएर के फाइदा।

अरूले तपाईं भनोस् नभनोस् आफैं मपाईं भन्नेलाई,

बेकारमा पद,जिम्मेवारीको कुरा सुनाएर के फाइदा।

- पूर्णबहादुर श्रेष्ठ (हृदयङकृत)

प्रकाशित: १८ माघ २०८१ १३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App