२५ माघ २०८२ आइतबार
image/svg+xml
कला

‘प्रि अर्डर’ को चरण सकिएपछि 'नेपथ्य' अब पुस्तक पसलहरूमा प्रवेश गर्दै

‘नेपथ्य’ पुस्तक अब भने डिजिटल सञ्जालबाट फैलिँदै यो सातादेखि विस्तृत पाठक घेरामा प्रवेश गर्नेभएको छ । तीन दशकभन्दा लामो अवधिदेखि प्रत्येक नेपाली युवा पुस्ताले आफ्नो ढुकढुकी बनाएर हुर्काएको नेपथ्य ब्याण्ड हालसम्म सुनिँदै आएकोमा अब भने ती सबैले यसलाई पढ्न पनि सक्ने भएका छन् ।

ब्याण्डका मियो अमृत गुरुङसँगको लामो संगतमा लेखक गिरीश गिरीले यो पुस्तक तयार पारेका हुन् ।

बजार व्यवस्थापनमा नयाँ प्रयोग थालनी गरिएको यस किताबलाई यसअघि 'अनलाइन प्रि अर्डर' मार्फत घरघरमै उपलब्ध गराउने चरण सम्पन्न भइसकेको छ ।

‘यो पुस्तकको प्रि अर्डरलाई व्यवस्थापन गर्ने जिम्मेवारी हामीले पाएका थियौं,’ अनलाइनमार्फत किताब बेचबिखनमा अग्रणी भूमिका निर्वाह गर्दैआएको थुप्रै डटकमका राजु गोतामे भन्छन्, ‘आजसम्मै अनलाइन प्रि अर्डरबाट हामीले बेचेको सबैभन्दा धेरै किताबको रेकर्ड यस पुस्तकले राख्न सफल भइसकेको छ ।’

यसरी इन्टरनेटको घेराबाटै पुस्तक हातपार्ने पाठकहरुको प्रतिक्रिया पनि सामाजिक सञ्जालमा देखिन सुरु भइसकेको छ । त्यसैमध्येका एक युवा पुस्तामाझ लोकप्रिय लेखक सुबिन भट्टराई पनि हुन् ।

‘भर्खर भर्खरको तात्तातो भर्सीनै बाँकी, विमोचन पनि भइनसकेको किताब,’ चर्चित उपन्यासकार भट्टराईले फेसबुक र एक्स (ट्विटर) मा तस्बिरसहित अगाडि लेखेका छन्, ‘नेपथ्यलाई जान्न र बुझ्न पढ्नैपर्ने ।’

पुस्तकमा नेपथ्यको जन्म, विभिन्न कालखण्डमा यसको उन्नति र अवनतिदेखि गीतको खोजीमा गरिएका संघर्षहरूको बेलिबिस्तार पढ्न सकिन्छ । त्यसैगरि संगीतबाट अर्जित लोकप्रियतालाई नेपाली समाजको समग्र हितमा कसरी उपयोग गर्न सकिन्छ भनेर गरिएका प्रयत्नहरुको जानकारी पनि यसले समेटेको छ ।

यसरी अनलाइन बिक्रीको अध्यायसँगै अब आम पाठकको घेरा समात्न देशभित्र र बाहिरका समेत पुस्तक बिक्री केन्द्रहरुमा यस किताबको प्रवेश हुनलागेको हो ।

सांगीतिक टोली ‘नेपथ्य’ र व्यवस्थापन समूह ‘नेपालय’को संगम भएको २५ वर्ष अवसर पारेर यस पुस्तकलाई ‘पब्लिकेशन नेपालय’ले प्रकाशन गरेको हो । त्यसैले यस किताबको आगमनलाई ‘२५ मय’ बनाइएको छ ।

पहिलो २५ भाग्यमानी ग्राहकलाई २५ रुपैयाँ मूल्य लिएर बिक्री सुरु गरिएको यस पुस्तकको बजारमा प्रवेश गर्ने दिन पनि दोस्रो महिना (फेब्रुअरी) को पाँच तारिखलाई नै तय गरिएको छ । अर्थात् यसै बुधबारका दिनदेखि पुस्तक सर्वत्र उपलब्ध हुनेछ ।

प्रकाशित: १७ माघ २०८१ १८:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App