१) मुक्तक
सबै पातहरू झरेको रुख जस्तै लाग्छ कहिले,
आँसु हाँसो दुखसुख जस्तै लाग्छ कहिले।
मूल्यहीन जिन्दगीलाई नजिकैबाट छाम्दै गर्दा,
परेछ मृग बागको सम्मुख जस्तै लाग्छ कहिले।
२) मुक्तक
शरीरमा लागेको घाउ मेटिए पनि खत नमेटिने रहेछ,
विगत बल्झाएर आउँदा यादहरू हुने छट्पट नमेटिने रहेछ।
निदाउनुको अर्थ नभेटेपछि निदाउन छाडेको छु म अचेल,
जानेर आउँछन् तिनै सपना पटकपटक नमेटिने रहेछ।
३) मुक्तक
आगो बनी पोल्न सके विसङ्गति,
फिर्के बनी मोल्न सके समुन्नति।
पक्कै बनिन्थ्यौं जगमाझ सुन्दर,
ठानी मुमा देश बसे युवा जति।
४) मुक्तक
नङ्ग्राहरूदेखि बने सबै चुर,
दाराहरू भाँच्न भनी गरे सुर।
फुल्थे कली रङ्ग उमङ्ग बोकी,
मुस्कानका साथ असङ्ख्य फुर्फुर।
५) मुक्तक
यो देश मेरो अनि हूँ म देशको,
मैले भुले देश समाज भेष यो।
सन्तान फुल्लन् र कहाँ वागनमा,
ठानी कुँदे देश बनिन्छ बेस यो।
६) मुक्तक
छानीछानी उचाल्न र पछार्न जान्नेलाई पनि पछार्ने समय आउँछ,
आफैंले आफैंलाई सर्वैसर्वा ठान्नेलाई पनि पछार्ने समय आउँछ।
अतिवादका विरुद्धमा अब पनि नउत्रिने हो भने नि साथी हो,
रावण बनेर रामको कुरा नमान्नेलाई पनि पछार्ने समय आउँछ।
७ ) मुक्तक
हाम्रा करोडौं परिपक्क हातले,
थाले भने गर्न न छेक्छ रातले।
भत्काउँदै कर्महरू अवान्छित,
हेर्नेछ पक्कै झुपडी प्रभातले।
८) मुक्तक
्कामका वादविवाद गोडी,
गाह्रातगारा अपवाद तोडी।
सङ्कीर्णता, लोभ र पक्षपात,
यो देश बन्थ्यो जकडे नछोडी।
९) मुक्तक
चिप्ला भाषण ठोकेर चिल्लाकार कुदाउने,
मान्छेहरू उकासेर मान्छे मान्छे जुधाउने।
जित्दछन् ठग हार्नेछन् बुद्ध सीताहरू जब,
त्यो देश देश बन्दैन विश्वमा मुस्कुराउने।
रोहिणी रसिक
प्रकाशित: ८ माघ २०८१ १२:५७ मंगलबार