१) दृष्टिकोण
गोधुलि साँझ चारैतिर रमाइलो थियो। टोलका बालबालिकाहरू खुला चौरमा जम्मा भएर खेलिरहेका थिए। चराचुरुङ्गीहरू बास बस्ने तरखर गर्दै थिए। यस्तैमा प्रहरी भ्यान आयो, घनश्यामको घरअगाडि रोकियो अनि घरमा बसिरहेका घनश्यामलाई गाडीमा राखेर लग्यो।
यो सबै देखेका छिमेकीहरूले प्रतिक्रिया व्यक्त गरे-
-‘नेता हुँ भन्थ्यो, कुनै नचाहिने काम गर्यो कि!’
-‘तस्करी गर्छ भन्थे, कुनै केसमा पर्यो कि!’
- ‘हैन सरकारी र सार्वजनिक सम्पत्ति लुँड्याएको छ भन्थे, अख्तियारले पो समात्यो कि!’
-‘यसको सान देख्दा निको चाला छैन भन्ने त मलाई लागेको थियो।’
छिमेकीहरूले मनमनै घृणा व्यक्त गरे।
साँझ सञ्चारमाध्यमबाट मन्त्रिमण्डल पुनर्गठन भएको र घनश्याम मन्त्री भएको खबर प्रसारण भयो।
त्यसपछि बधाई दिन उनै छिमेकीहरू घनश्यामको घरमा लाम लागे।
२) कारबाही
प्रहरीहरूले रातको समयमा लजमा छापा मारे र सात जोडीलाई पक्रेर एउटा हलमा जम्मा गरे।
“सबैलाई सार्वजनिक गर्छु र कडाभन्दा कडा कारबाही गर्छु। लाज पचाएकाहरू!” प्रहरी प्रमुख कड्किए। वातावरण स्तब्ध भयो।
केही समयपछि एकजना प्रहरी हाकिमको नजिक गयो र कानमा फुसफुसायो। एकछिनमा एउटा जोडी बाहिरियो।
तत्कालै अर्को प्रहरी आयो र हाकिमका कानतिर आफ्नो मुख जोत्यो।
“साँच्ची!” हाकिमको आवाज हावामा थरथरायो। अनि अर्को जोडी पनि घट्यो।
यत्तिकैमा पक्राउ पर्नेमध्ये एक जनाले खल्तीबाट एउटा कागज निकाल्यो र खुसुक्क हाकिमलाई देखायो। अघिसम्म हावा भरेर टुमुक्क भएको भकुण्डो जस्तो हाकिमको पोटिलो अनुहार क्षणभरमा हावा खुस्केको बेलुनजस्तो भयो। अनि किचिक्क दाँत देखाएर उसलाई सलाम गर्यो।
यसै हिसाबले केही समयमा छ जोडी छुटे। एउटा जोडी मात्र बाँकी रह्यो।
“बुढा निद्रा लाग्यो, सुत्न जाम्।” बुढीले भन्दै थिइन्। यस्तैमा पुलिसले त्यो जोडीलाई गाडीमा हाल्यो र आफ्नो कार्यालयतिर लग्यो।
३) चन्द्रमा र हिउँपरी
पूर्णिमाको चन्द्रमाले हिमालयको काखमा बसेकी हिउँपरीलाई देख्यो।
हिउँपरीको सुन्दरता देखेर चन्द्रमा मोहित भयो र प्रस्ताव राख्यो, “हिउँपरी म तिमीसँग प्रेम गर्न चाहन्छु। मेरो प्रस्ताव स्वीकार गर्छ्याै?”
हिउँपरी मुस्कुराई, मस्किई तर केही बोलिन।
“तिमीले सुनिनौ?” चन्द्रमा फेरि बोल्यो।
“तिमी राति मात्रै आउँछौ। मलाई राति आउने प्रेमी मन पर्दैन। दिउँसो उज्यालोमा रम्न पाए पो।” हिउँपरीले जवाफ दिई।
“यस्तै शान्त वातावरणमा प्रेम गर्न रमाइलो हुन्छ। मेरो प्रस्ताव स्वीकार गर। म तिमीलाई धेरै माया दिन्छु।” चन्द्रमाले फकाउने प्रयास गर्यो।
“नाइँ, म दिनमा आउने सूर्यसँग प्रेम गर्छु।” हिउँपरीले नखरा पारी।
“सूर्यले विभिन्न बहाना बनाएर तिमीलाई पगाल्न सक्छ। तिमी घर न घाटकी हुन्छ्यौ। पछि पछुताउनुपर्ला।” चन्द्रमाले आफ्नो प्रयास जारी राख्यो।
रातभरि वार्ता भयो तर पनि कुरो मिलेन। निराश हुँदै चन्द्रमाले क्षितिजको नेटो काट्यो।
अर्को दिन सूर्यको तापले हिउँपरी पग्लिँदै गई। सुन्दर अनुहार नराम्रो भयो।
“के भएको यस्तो? तिमी त कुरूप भइछौ!” साँझ चन्द्रमाले भन्यो।
हिउँपरी पग्लिँदै थिई, चन्द्रमाले शीतल प्रकाश पठाएर पग्लिने क्रम रोकिदियो।
“हिजो मैले भनेको कुरा तिमीले मानिनौ।” चन्द्रमाले भन्यो। हिउँपरी बोलिन। रातभरि फकायो तैपनि चन्द्रमाले उसलाई मनाउन सकेन।
अर्को दिन सूर्यको तापले हिउँपरीको बाँकी शरीर पनि पग्लेर पानी भयो। ऊ नदीसँगै बग्न थाली।
हिउँपरीको त्यो अवस्था देखेपछि चन्द्रमाले आफूलाई थाम्न सकेन। उसका आँखाबाट आँसु बर्सिन थाले र शीत बनेर धर्तीभरि छरिए।
४) न्याय
ब्वाँसोले अचाक्ली गर्यो। वन्यजन्तुका पाठापाठी खाएर बस्नै नसक्ने बनायो।
मृग, जरायो, खरायो आदि शाकाहारी जनावरहरू एक ठाउँमा जम्मा भएर छलफल गरे। ब्वाँसोविरुद्धमा वनका राजा सिंहकहाँ उजुरी गर्ने सहमति भयो।
“प्रभु! ब्वाँसोले अचाक्ली गर्यो। हाम्रो त वंशै नाश हुने भयो। कारबाही गर्नुपर्यो!” सबैले एक स्वरमा बिन्ती गरे।
जनावरहरूका कुरा सुनेपछि रिसाउँदै सिंहले भन्यो, “ए! त्यो पाजी ब्वाँसाको त्यत्रो हिम्मत? पख, त्यसलाई ठेगान लगाउँछु।”
सिंहको कुरा सुनेर जनावरहरू खुसी भए। आपसमा कुरो गरे, “राजा भनेका राजै हुन्।”
त्यसपछि सिंह डुक्रियो, “त्यो दुष्ट ब्वाँसोलाई तुरुन्त हाजिर गराउनू।”
वनका राजा सिंहले दुष्ट ब्वाँसोलाई कडा कारबाही गर्छन् भन्ने कुरामा जनावरहरू आशावादी भएका थिए। त्यै वेला टाँगमुनि पुच्छर लुकाउँदै ब्वाँसो हाजिर भयो।
उपस्थित जनावरहरूले आँखा झिमिक्क नपारी त्यो दृश्य हेरिरहे।
ब्वाँसो उपस्थित भएपछि रिसले आगो हुँदै सिंहले ब्वाँसोलाई आफ्नो नजिक बोलायो। जनावरहरू झन् उत्साहित भए।
“अब सिंहले ब्वाँसोको गर्धन निमोठ्छन् होला!” जनावरहरूले साउती गर्दै थिए त्यस्तैमा सिंहले ब्वाँसोलाई आफ्नो नजिक बोलायो अनि काननिर आफ्नो मुख जोडेर साउती गर्यो, “धूर्त ब्वाँसा, मृग र जरायोको मासु तँ एक्लै खाने? मेरो भाग खै?”
५) प्रमाण!
दाइँमा गोरु जम्मा गरेजस्तै उसले गाउँभरिका बाख्रा जम्मा गर्यो र पहिलेदेखि बनाइराखेको अस्थायी खोरमा हुल्यो।
घाम टाउकामाथि आइसकेका थिए। दायाँ हातलाई निधारको माथि पाली बनाएर सदरमुकामबाट आउने बाटोतिर हेर्यो। बाटोमा कतै धुलो उडेको देखेन। लामो सुस्केरा हाल्दै मनमनै भन्यो, ‘यति बेलासम्म त आउनुपर्ने।’
त्यस्तैमा गुमाने कान्छो आयो।
“के छ कान्छा?” उसले सोध्न मात्रै भ्याएको थियो, गुमाने जङ्गियो, “हेर है काइँला, अस्ति भर्खर बाली लागेको बाख्रो हो, केही भैहाल्यो भने त्यसको जिम्मा तेरो!”
“चिन्ता नगर, केही हुन्न। एघार बजे आउँछु भनेका थिए, बाह्र बजिसक्यो। आउँदै होलान्। एक घण्टाभित्र तेरो बाख्रो घरै ल्याइदिन्छु।”
त्यस्तैमा माथि बाटोमा एउटा गाडी देखियो। काइँलाले भन्यो, “उः आए। तँ भाग।”
“तपाईंका आफ्नै बाख्रा हुन्?” हाकिमले सोधे।
“हजुर सर, मेरै हुन्। धरोधर्म! विद्या कसम!”
“प्रमाण के छ?”
“प्रमाण? भित्र राखेको छु, यहीँ ल्याम?”
“पर्दैन।” हाकिमले सहायकका अनुहारमा हेरेर आँखा सन्क्यायो।
केही समयपछि सहायक मुख मिठ्याउँदै र आफूले बोकेको सानो झोला सुमसुम्याउँदै बाहिर आयो।
“उहाँकै रैचन हजुर, मैले प्रमाण हेरेँ।” झोलातिर इसारा गर्दै सहायकले भन्यो, “सबै ठिक छ हजुर। मैले बाख्राको फोटो पनि खिचिसकेँ। कृषि अनुदान स्वीकृति गर्दा हुन्छ।”
( कथाकार डा . हरिप्रसाद भण्डारीकाे ‘समयको स्पन्दन’ लघुकथासङ्ग्रहमा सङगृहीत।)
प्रकाशित: ७ माघ २०८१ ११:०८ सोमबार