मेरा बा चीर निन्द्रामा निदाउनुभयो
जीवनयात्रामा
जति उकालीओराली आए पनि
कतै नलर्बराईकन
जीवनको पूर्णविरामपछि
आज नारायणी नदी तटमा
लामो थकाइ मार्दै हुनुहुन्छ
सुस्ताएर नारायणी नदीसँगै
लुकामारी खेल्दै बगरसँगै।
सगरभरि तारासरि
बगरभरि तिर्थालुहरू
पखाल्दै छन् जीवनका
बेनाम पापहरू
मेरा बा तिनीहरू भित्रको मान्छे
खोज्नुहुन्छ
मरुभूमि भैसकेको मान्छेको मनभित्र
भेट्नु हुन्न कतै पनि
अमूर्त छवि मानवताको
आफ्नो अस्तित्व
आफूभित्रको मान्छे, हराएको मान्छे
आफूलाई, ठुलो मान्छेको भ्रममा
दृष्टि दोषको भेउ नै पाउँदैन
उफ्,
लामो सुस्केरा छोड्नुहुन्छ मेरा बा!
बाका पालामा, उर्लिन्थ्यो नारायणी नदी
बगाउँथ्यो दुर्भावहरू
मान्छेका मनहरूभित्र मान्छे थियो
नारायणी तटभरि सुस्ताउँथ्यो
कर्तव्य, माया, प्रेम र सद्भावहरू
झ्याम्मिएको थियो
नारायणी नदी किनारका रुखहरू
शीतल छहारी थियो
गर्मीमा चिसो हावाले
कपाल स्पर्श गथ्र्यो
कठ्याङ्ग्रिने चिसोमा
घामको न्यानो किरणले
गालामा म्वाइँ खान्थ्यो
त्यहाँ स्वर्ग थियो,
जहाँ बा हुनुहुन्थ्यो,
जहाँ नारायणी नदी थियो
तर आज
लमतन्न परेको बगरमा
मानवताका चिहानहरू छन्
प्रेम स्नेह कर्तव्यहरू जल्दै छन्, पखालिँदै छन्
दिव्य तनको ऊर्जा खरानी र अस्तुसँगै
क्रन्दन गरिरहेछन्।
मेरा बा निसास्सिनुहुन्छ
तर म अवाक् नारायणी नदी तटमा
मानवताविहीन एउटा प्रतिनिधि पात्र
लोभ, मोह, द्वेष अहंकारले घर्लप्प छोपेर
प्रलयले निस्सासिएको वस्तीमा
सहारा बनेर उभिन सक्दिनँ
एउटा बत्ती निभेको आँगनमा
दियो बनेर जल्न सक्दिनँ
फगत नारायणी किनारमा
बर्साैँ अगाडि चितामा
सुताइएको बाको निस्तेज अनुहार
आँखा अगाडि आउँछ
अनायासै म भावुक हुन पुग्छु,
सजल नेत्रसँगै
बालाई सम्झेर नारायणी किनारमा
म एकोहोरो टोलाइरहन्छु, टोलाइरहन्छु।
-मञ्जु घिमिरे काव्याश्री
प्रकाशित: ५ माघ २०८१ ०९:२५ शनिबार