विसं २०८१ सकिन अझै तीन महिना बाँकी नै छ। अहिलेसम्मको तथ्यलाई हेर्ने हो भने यो वर्ष नेपाली चलचित्र उद्योगका लागि स्वर्णिम सावित भएको छ, भन्दा फरक पर्दैन।
वर्षको सुरुमै प्रदर्शनमा आएको ‘बोक्सीको घर’ले नेपाली बक्स अफिसमा १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेर धमका मच्चाएको थियो। झन्डै एक करोड लगानीमा निर्माण भएको बोक्सीको घरले लगानीको तुलनामा निकै राम्रो व्यापार गर्यो ।
त्यसपछि आएका नेपाली चलचित्रहरू ‘मनसरा’, ‘पुजार सार्की’, ‘फर्कीफर्की’, ‘घरज्वाइँ’, ‘खुस्मा’, ‘बेहुली फ्रम मेघौली’, ‘गाउँ आएको बाटो’ लगायतले पनि राम्रै आम्दानी गर्दै मनग्य चर्चा पाए। यीमध्ये अधिकांश चलचित्रहरूले नाफा कमाएको निर्माता र वितरकले दाबी छ।
दसैँको समय त नेपाली सिनेमाका लागि कुनै सपनाजस्तो बन्यो। उसो त विगत वर्षदेखि नै दसैँमा राम्रो चलचित्र व्यापार हुने हुनाले अधिकांश निर्माताहरुबीच क्यालेन्डरमा फिल्म रिलिज गर्न तछाडमछाड हुने गरेको छ। यो वर्षको दसैंतिहारमा पनि त्यस्तै भयो। दसैँ, तिहारदेखि छठसम्मको लामो बिदा र फेस्टिभ वातावरणमा दर्शक हलसम्म आउने र त्यसले व्यापार राम्रो हुन्छ भन्ने बुझाई चलचित्र निर्माणपक्षको हुने गरेको छ।
प्रतिस्पर्धात्मक रूपमा यो वर्षको दसैँ पनि विगतभन्दा फरक रहेन। बिदाको पहिलो दिन फूलपातीमा तीन चलचित्र एकैपटक पर्दामा उत्रिए। पुराना सहकर्मी दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्कापन्जा ५’ सँग जितु नेपालले ‘ज्वाइँ साब’ लाई ब्याटलमा उतारे। दसैँ बिदामा एकछत्र राज गर्दैआएको ‘छक्कापन्जा’ सिरिजको आधिपत्य खोस्न पुराना सुपरस्टार विराज भट्टको ‘१२ गाउँ’ पनि रिलिज भयो।
सिने उद्योगका पण्डित कहलिनेहरूले विगतजस्तै छक्कापञ्जाले एकलौटी व्यापार गर्ने दाबी गरिरहेका थिए। तर, सुरुदेखि नै १२ गाउँले छक्कापञ्जालाई टक्कर दियो। ज्याइँसाब धेरै पछि परेन। छक्कापञ्जा हेरिसकेका दर्शक विस्तारै १२ गाउँ र ज्वाईं साबसम्म पुगे। अन्तिममा तीनवटै चलचित्रलाई व्यावसायिक सफलताको ट्याग लगाइयो।
सार्वजनिक विवरण अनुसार ‘१२ गाउँ’ले २५ करोड, ‘छक्कापन्जा ५’ ले २० करोड र ‘ज्वाइँ साब’ले पाँच करोड रुपैयाँभन्दा बढी कमाएको दाबी छ। पाँच करोड नेपाली चलचित्रका लागि राम्रै व्यापार हो। कुनै समय यहीँ पाँच करोड कमाइ गर्ने चलचित्र उत्कृष्टमा दर्ज हुन्थ्यो।
दसैँमा रिलिज चलचित्रले प्रतिस्पर्धा चलिरहेकै बेला प्रदर्शनमा आयो ‘पूर्णबहादुरको सारङ्गी’। सुरुमा केही दिन शान्त चलेर झन्डै उत्रन लागेका बेला ‘सारङ्गी’को झङ्कारले बजार ततायो। सबैको कानसम्म गुञ्जिएको सारंगीको धुन आजपर्यन्त रोकिएको छैन। केही हलमा अझैँपनि यो सिनेमा चलिरहेकै छ।
पूर्णबहादुरको सारङ्गीले ठ्याक्कै कति कमायो? अहिलेसम्म आधिकारिक रूपमा चलचित्र विकास बोर्डले सार्वजनिक गरेको छैन। तर, नेपाली चलचित्र उद्योगमा सर्वाधिक कमाइ गर्ने फिल्म निश्चित रूपमा बनिसकेको छ।
‘पूर्णबहादुरको सारङ्गी’ले धेरै रेकर्ड एकैसाथ आफ्नो नाममा लेखाएका छ। यो देशैभर एक साथ पाँच सय भन्दा बढी स्क्रिन पाएको पहिलो नेपाली चलचित्र पनि बनेको छ। कमाइको कुरा गर्दा नेपालमा मात्रै करिब ५० करोड बढीको आर्जन गरेको बताइन्छ।
नेपाली सिनेमा हलमा यसअघि बलिउड चलचित्र हाबी रहन्थे। दसैँयताको परिवेश केही उल्टिएको छ। त्यसमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चल्दा बलिउडका धुरन्धर चलचित्र प्रतिस्पर्धामा आउनै डराएको देखियो। बहुप्रतिक्षित चलचित्र ‘सिंगम–३’को प्रदर्शन मिति ‘पूर्णबहादुरको सारङ्गी’ जुधेँको थियो। ‘सिंगम–३’ का लागि करोडौं खर्चेर नेपाली वितरकले भिœयाएका थिए। तर सारङ्गीको धुन गुञ्जिएका बेला कुन समयमा रिलिज भयो, कति चल्यो, कति कमायो, अनि कुन दिन उत्रियो अत्तोपत्तो भएन। जसले नेपाली वितरकलाई समेत बलिउड चलचित्र भन्ने वित्तिकै आँखा चिम्लेर लगानी गर्न पटकपटक सोच्न बाध्य बनाइदियो।
नेपालमा हालसम्म मुख्यगरी व्यावसायिक र आर्टिस्टिक गरी दुई प्रकारका चलचित्र बनिरहेका छन्। व्यावसायिक चलचित्रको उद्देश्य मुलतः पैसा कमाउने हुन्छ भने, आर्टिस्टिक चलचित्रले कला र कथामा बढी ध्यान दिन्छन्। अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित गरेर बनेका चलचित्रलाई आर्टिस्टिक मानिन्छन्। पछिल्लो समय नेपालमा दुवै खाले चलचित्रहरूले सफलता पाइरहेका छन्।
यसैवर्ष प्रदर्शन भएका ‘शाम्बाला’ र ‘गाउँ आएको बाटो’ले पनि व्यापक चर्चा पाए। यी दुवै चलचित्र आर्टिस्टिक रूपमा निर्माण गरिएका हुन्। दुवै फिल्म धेरै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन भएका थिए।
तिहारपछि ‘ह्रस्वदीर्घ’, ‘बमबहादुर’, ‘देववाणी’ प्रर्दशनमा आए। तर, खासै चर्चा पाएनन्। पुस ५ गते प्रदर्शमा आएको ‘बमबहादुर’ गोर्खाल्यान्डका लागि दार्जिलिङमा गरिएको संघर्षको कथामा आधारित छ भने, पुस १० गतेदेखि चलचित्र ‘देववाणी’ प्रदर्शनमा छ।
नेपाली चलचित्रहरूले आठ महिनामै एक सय करोडमाथिको व्यापार गरिसकेका छन्। अझैँ पुसको अन्तिम साता तथा माघ, फागुन र चैत डल्लै बाँकी छ। यो अवधिमा झन्डै दुई दर्जन चलचित्र प्रदर्शनको तयारीमा छन्। उसो त २०८२ को दसैँको समय पनि बुक भइसकेको छ।
अब कुन कुन चलचित्र आउँदैछन् त?
अभिनेता दयाहाङ राई चलचित्र ‘कार्साङ’ मार्फत ६ महिनापछि यो महिनाको अन्तिममा पर्दामा देखिँदै छन्। शेर्पा समुदायको कथामा यो फिल्म बनेको छ। यम शेर्पाको डेब्यु निर्देशन रहेको फिल्म पुस २६ गते रिलिजको तयारी छ। ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित छ। यसको ट्रेलरदेखि गीतको समेत अहिले निकै चर्चा छ।
माघको सुरुवात ‘फिरफिरे फिरिरी’ र ‘एक्टर’ बाट हुँदैछ। दुवै चलचित्र माघ ४ गतेदेखि प्रदर्शनको तयारीमा छन्। माघ ११ गते ‘केटी हराएको सूचना’ पर्दामा उत्रनेछ। माघ १६ देखि ‘एक्टर टेक वान’ प्रदर्शनमा आउँदैछ। माघ २५ गते ‘ममी’ र ‘जुना’ प्रदर्शनको तयारीमा छन्। समग्रमा माघमा मात्रै ६ वटा चलचित्रहरू प्रदर्शनको तयारीमा छन्।
फागुनमा पनि चलचित्रको ताँति नै छ। फागुनमा मात्र ८ वटा चलचित्र प्रदर्शनमा आउने भएका छन्। फागुन २ गते ‘दुखी आत्मा’ र ‘रंगी’ ले प्रदर्शन मिति बुक गरेका छन्। फागुन १४ गते महाशिवरात्रीमा नेपाली चलचित्रमा महाभिडन्त हुँदैछ। यस दिन चलचित्र ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिलिली’को त्रिपक्षीय प्रतिस्तप्रर्धा हुँदैछ। फागुन २३ गते ‘होस्टेल–३’ प्रदर्शनमा आउँदैछ। फागुन आन्तिम साता होली परेकाले २९ गते ‘अन्जिला’ र ‘आउट ल २१९’ प्रदर्शनमा आउँदैछ।
यो वर्षको अन्तिम महिना चैत १ गते ‘राजागंज’ प्रदर्शनमा आउँदै छ। चैत ८ गते चलचित्र ‘११ः५५’ र ‘द्रोपदी’ प्रदर्शनको तयारीमा छन्। चैत २२ गते ‘वसन्त’ ले आफ्नो रिलिजको समय लिँदा नयाँवर्षलाई लक्षित गरेर चैतको अन्त्यमा २९ गते ‘कर्मा’, ‘नरसिंहा अवतार’ र ‘पिताम्बर’ गरी तीन चलचित्र भिड्दैछन्। चैत्रमा मात्रै ७ चलचित्रले प्रदर्शनको घोषणा गरेका छन्।
यो वर्षको अन्त्यमा तीन ठूला चलचित्र भिड्ने निश्चित छ। लामो समयदेखि चलचित्र क्षेत्रमा विराम लिएका महानायक राजेश हमालको ‘नरसिंह अवतार’ र स्टार कलाकारको लामै लाइनअप रहेको ‘पिताम्बर’ बीचको प्रतिस्प्रर्धा वर्षको अन्त्यमा हुने देखिएको छ। चर्चित नायकहरू र महानायक बीचको यो प्रतिस्पर्धा वर्षको अन्त्यमा रोचक हुने देखिन्छ।
नेपाली चलचित्र प्रदर्शन र बजारको इतिहास हेर्ने हो भने, प्रतिस्प्रर्धामा आएका दुई मध्ये एक चल्ने र अर्को फ्लप हुने गर्छ। तर पछिल्ला उदाहरणले नेपाली चलचित्र बजारले एकै पटकमा तीन वटा चलचित्र हिट बनाइदिएको छ। यस्तोमा तीन वटै चलचित्र चल्ने वा फ्लप हुने सम्भावना पनि उत्तिकै रहने जानकारहरूको दाबी छ।
यो वर्षको दसैँ सकिएको केही महिना मात्रै भएको बेला अर्को वर्षको दसैँको समयमा रिलिज हुने चलचित्रको मिति तोकिसकिएको छ। निर्माण नै सुरु नभएको चलचित्र ‘दशमी’ले २०८२ को फूलपातीमा प्रदर्शनमा आउने भन्दै समय ओगटिएको छ।
नेपाली चलचित्र उद्योग पछिल्लो केही वर्ष चलायमान छ। चलचित्रहरुले हल पनि पाएका छन् र दर्शकलाई पनि डो¥याएकै छन्। केही नयाँ कथा र अभिनयको अपेक्षा गरेका दर्शकका लागि पूर्णबहादुरको सारंगी जस्ता चलचित्रले राम्रै मनोरञ्जन र विषय पस्किएका छन्। धेरै तामझामका साथ प्रचारप्रसारसहित पर्दामा उत्रिएका चलचित्रहरु निराश बनेर सातादिन भित्रै पनि उत्रिएका उदाहरण धेरै छन्।
जेहोस, २०८१ सालमा आजको मितिसम्म चलचित्र उद्योगले कीर्तिमान कायम गर्नेदेखि विश्वबजारसम्मै तहल्का मच्चाउने चलचित्र पाएको छ। थोरै बजेट र औसत कलाकारहरुको बेजोड प्रस्तुतीले पनि चलचित्र चल्छ है भन्ने भाष्य स्थापित भएको छ। सामाजिक सञ्जालदेखि पत्रपत्रिकाको प्रचारभन्दा दर्शकको रोजाइले हलसम्म तान्न सकिन्छ भन्ने कुरा स्थापित गरिदिएको छ। पूर्णबहादुरको सारंगीले स्थापित गरिदिएको चलचित्र उद्योगको यो खास आगामी दिनमा बन्ने चलचित्रहरुले जोगाइराखुन्, शुभकामना।
प्रकाशित: १९ पुस २०८१ १८:४५ शुक्रबार