१ पुस २०८१ सोमबार
image/svg+xml
कला

‘स्रष्टा र संवाद’मा गोपाल अश्क

सिर्जना अभियान समाजको आयोजनामा भएको स्रष्टा संवाद तथा कृति विमर्श कार्यक्रममा स्रष्टा गोपाल अश्कलाई प्रस्तुत गरिएको छ। कार्यक्रममा स्रष्टासमालोचकहरूले स्रष्टा गोपाल अश्कको सिर्जनाबारे विमर्श गरे।

कार्यक्रममा प्रमुख वक्ता डा. पुष्करराज भट्टले स्रष्टा अश्क नेपाली लगायत भोजपुरी, हिन्दी र अंग्रेजी आदि विविध भाषाका साहित्यमा पनि कलम चलाउँदै आएका स्रष्टा बताउँदै उनले नेपाली लघुकथाको सिद्धान्तबारे पहिलो पटक कृति लेखेर यो विधालाई स्थापित गराउन महत्त्वपूर्ण योगदान गरेको बताए।

कथाकार धुव मधिकर्मीले स्रष्टा अश्क लघुकथाका सर्जकका साथै द्रष्टा पनि भएको बताउँदै उनको हालै प्रकाशित लघुकथा प्रक्रिया र पाठ कृतिले नेपाली लघुकथाको समग्र रूपमा परिचय दिन सफल भएको उल्लेख गरे।

साहित्यकार मातृका पोखरेलले स्रष्टा तथा समालोचक अश्कलाई शुभकामना दिँदै उनको कृति लघुकथा प्रक्रिया र पाठ परिवद्र्धित संस्करणको प्रकाशनले लघुकथाकारलाई फाइदा पुग्ने बताए।

स्रष्टा अश्कले कुनै पनि विषय वा वस्तुलाई हेर्ने दृष्टिकोण स्थान र परिवेशले पनि निर्धारण गर्छ भन्दै अन्य विधामा जस्तै लघुकथामा पनि आफूले नेपाली लघुकथाको अध्ययनलाई ध्यानमा राखेर यसको दायरा फराकिलो पार्न अवधारणा र पाठसहित पुस्तक तयार पारेको बताए।

कार्यक्रममा लघुकथाकारहरू आर आर चौलागाई, ममता मृदुल र दीपक लोहनीले स्रष्टा अश्कका कृतिमाथि विविध जिज्ञासा राखेका थिए। कार्यक्रम समाजका अध्यक्ष धनमान श्रेष्ठको सभापतित्वमा भएको थियो।

प्रकाशित: १ पुस २०८१ ०९:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App