३ पुस २०८१ बुधबार
image/svg+xml
कला

जन्तेबाख्रोको स्वाद

निबन्ध

पहाडको काखमा बसेर हुर्केको म, बाल्यकालदेखि नै गाउँघरका परम्परागत चाडपर्व र भोजभतेरहरूसँग निकट सम्बन्ध राख्दै आएको। तिनै चाडपर्वहरूमा पाइने जन्तेबाख्रोको स्वादको सम्झना मेरो मनमा अझै ताजै छ। जन्तेबाख्रो, जसलाई परम्परागत रूपमा बिहेको अवसरमा बेहुली लिन जाने जन्तीहरूका लागि बारीका पाटामा ढुंगाको चुलो बनाएर पकाइन्छ।

‘जन्तेबाख्रा’ एउटा परिकार मात्र नभई संस्कृतिको एउटा अमूल्य अभिव्यक्तिको रूपमा स्थापित छ।

मंसिर महिनामा बिहेका लगनहरू धेरै जुर्थे र बिहेका तामझाम प्रशस्तै हुन्थे। कति तन्नेरीहरू बिहेका लागि मंसिर कुर्थे। अब अहिले मंसिरको मैजारो संघारमा मलाई मेरो बाल्यकालीन ती दिनहरूको याद आइरहेछ।

जन्तेबाख्रोको स्वाद केवल त्यसको मासुको कुरामा सीमित छैन। यो स्वादले गहिराइमा हाम्रो परम्परा, भावनात्मक सम्बन्ध र सामुदायिक एकतालाई बोक्छ। जन्तेको बलि चढाउने प्रथा नेपाली समाजको प्राचीन संस्कार हो। विवाह मण्डपमा बेहुला र बेहुलीलाई विधिपूर्वक पण्डितले पढ्ने मन्त्रोच्चारणको वातावरणले यस कार्यलाई पवित्रता प्रदान गर्छ।

लावालस्करसहित जन्तीले बेहुलीको घरबाट बेहुलाको घरमा ल्याउँछन् । यसरी ल्याइँदा पञ्चबाजाको रौनक, गाउँले नाचगानको रमाइलो पाटो अर्को अविस्मरणीय पक्ष हो। यो क्रम बाटोभरि कायम रहन्छ। बेहुलाको घरमा बेहुली ल्याइसकेपछि जन्तेबाख्रोको मासुभात जन्तीलगायत गाउँभरिका इष्टमित्रहरूलाई खुवाइन्छ।

यो परम्परा आफैँमा सामूहिक भावना र सहअस्तित्वको प्रतीक हो। खेतबारीका पाटामा लस्करै बसेर टपरीमा भात र दुनामा जन्तीहरूले जन्तेबाख्रोको भात खान्छन्। यसरी खाइएको जन्तेबाख्रोको सामूहिक भोजन स्वादिष्ट हुन्छ। दिनभरिको घामले मासुलाई आगोले जत्तिकै तताएर राखे पनि भोका जन्तीका लागि त्यही मासु स्वादको हुन्छ। कति दिनदेखि मासुभात खान नपाइरहेका तथा दिनभरिको हिँडाइले भोकाएका ज्यानले मासुभात खान पाउनु त्यसमाथि गाउँभरिका सबै जना एकै स्थानमा भेला भएर हाँसीखुशी, सन्तुष्टि र आनन्दले खानुको स्वाद नै बेग्लै हुन्छ।

यसले ग्रामीण जीवनका हार्दिक मनहरूलाई झन् नजिक राख्छ। आ–आफ्नै किसिमका गाउँले परिकारका विधिहरूले पकाएर बनाइएको स्वादले गाउँलाई फेरि एकपटक चाडपर्वको उमङ्ग पनि प्रदान गर्छ।

मलाई याद छ, बाल्यकालमा हामीले यस परिकारको स्वाद लिनुभन्दा पहिले त्यसको तयारी हेर्दै रमाइलो गर्थ्याैं। कोही दाउरा चिर्ने, कोही ठूल्ठूला भाँडा पखालपुखुल गर्ने। कोही पानीको व्यवस्थामा जुट्ने। कोही आगो बाल्न तम्सिने। महिला दिदीबहिनीहरू दालचामल केलाउँदै गीति भाकामा रमाउने। आलु ताछ्ने, साग केलाउने, मासु काट्नेहरूको बेग्लै टोली।  

दाउराको दन्कुटी आगोमा पकाएको खसीको मासुको सुगन्धले गाउँभरि मगमग वासना फैलिन्थ्यो। केटाकेटी, बूढाबुढीहरू नयाँ बेहुलीको अनुहार हेर्न हत्तारिरहेका हुन्थे। नाच्न तम्सिने, गाउन अघि सर्नेहरू त्यत्तिकै हुन्थे। गाउँमा बल्ल आएको यो बेग्लै किसिमको मनोरञ्जन थियो। घरलाई सल्लाको दियालो बालेर उज्यालो पारी घर मन्दिरको रूपमा बद्लिदिन्थ्यो।

वास्तवमा ती दिनहरूमा जन्तेबाख्रो खाँदा जिब्रोको स्वाद मात्र नभई आत्माको एक अनौठो तृप्ति अनुभव हुन्थ्यो।

आज समय फेरियो। परम्परागत चाडपर्वहरूमा जन्तीको स्थान ओझेल पर्दै गयो। जन्तेबाख्रोका ठाउँमा आधुनिक परिकारहरूले प्रवेश गर्न थाले। बट्टामा प्याक गरिएका खानाका सामग्रीहरूले हाम्रो भान्सालाई सजिलो बनाए पनि परम्पराको गहिरो आत्मीयता गुमाएको अनुभूति हुन्छ।

जन्तेबाख्रोको स्वाद मासुको स्वाद होइन, यो हाम्रो विगतको स्मृति हो, जसले हाम्रो पहिचानलाई जोगाएर राख्न मद्दत गरेको छ। त्यसैले आधुनिकताको दौडमा दौडिँदा पनि हाम्रा जरा समातेर राख्ने यी परम्परागत परिकारहरूको महत्वलाई बिर्सनु हुँदैन। जन्तेबाख्रोको स्वादले हामीलाई हाम्रो जरा, हाम्रो संस्कृति र हाम्रो सामूहिक भावना सम्झाइरहन्छ।

त्यसैले जन्तेबाख्रोको स्वाद एक व्यञ्जन मात्र होइन, यो हाम्रो सभ्यता र संस्कृतिको गहिरो कथा हो। यसले हाम्रो समाजलाई केवल भौतिक रूपमा मात्र नभई भावनात्मक रूपमा पनि जोडेर राखेको छ। यो परम्पराको जगेर्ना गर्नु हामी सबैको जिम्मेवारी हो। जन्तेबाख्रोको स्वादलाई सम्झिँदै, हामीले हाम्रो पहिचान र परम्परालाई सधैँ जोगाइराख्नुपर्छ।

गाउँघरको बिहे जन्तेबाख्रो र जन्ती जाने परम्परागत पाटो आजको पुस्ताका लागि चाखलाग्दो हुनसक्छ। किनभने हिजोआज शहरमा मात्र होइन गाउँमा पनि सडक सञ्जालले सुविधा धेरै पु¥याएको छ। फलस्वरूप पुरानो जमानाको जन्तेपाख्रो खाने चलन छैन। बारीको डिल छेउमा बसेर लस्करै लामो लाइन लागेर दिनभरिको घामले घामै गनाउने झोलैझोलको जन्ती बाख्रोको स्वाद पनि अचाक्ली मिठो हुन्थ्यो। आजको बिहे पार्टीहरूको खर्चिलो खानपिनको स्वाद त्यसले बिर्साउँथ्यो।

यसैगरी खोला तर्दै ओरालो झर्दै, उकालो चढ्दै बल्ल पुगिन्थ्यो दुलही लिन दुलहीको घर। फर्किँदा दिनभरिको हिँडाइले थाक्नुसम्म थाकिन्थ्यो। रात परेपछि राँको बालेर त्यसकै उज्यालोको सहारामा दुलहाको घर आइन्थ्यो।

जन्तेबाख्रोको स्वाद चाख्न जन्तीको यात्रा लामै हुन्थ्यो। ग्रामीण परिवेशमा यस किसिमको जमघट हत्पती कहाँ हुनु!

बाल्यकालका हरेक स्मृतिहरूमा एउटा सुगन्ध छ। त्यसमा हाम्रा गाउँघरका संस्कृति, परम्परा, र त्यस्ता क्षणहरूको सजीव सम्झना भेटिन्छन्, जसले हामीलाई हाम्रै जरा खोज्न अभिप्रेरित गर्छ। तीमध्ये, गाउँघरका बिहे जन्तीको कुरा सम्झिँदा मेरो मानसपटलमा जन्तेबाख्रोको स्वाद र जन्ती जाने परम्पराको झल्को फेरि ताजा भएर आउँछ।

ती दिनहरूमा सडक सञ्जालको सुविधा थिएन। गाउँगाउँबाट सडक जोडिएको छैन, गाडी र मोटरसाइकलको फुर्ती कहाँ थियो र ? जन्ती भन्नु आफैँमा एउटा साहसिक यात्रा हुन्थ्यो। पहाडका बाटोघाटोले कहिल्यै सजिलो बनाएको थिएन। खोलापारि दुलहीको घरमा पुग्नका लागि गह्रौँ पाइलाहरूले उकालो–ओरालो छिचोल्नै पर्थ्याे। जन्तीको यो यात्रा न केवल दुलही लिन जानका लागि हुन्थ्यो, यसले नातागोताको सम्बन्ध बलियो बनाउने माध्यमका रूपमा पनि भूमिका खेल्थ्यो।

यात्रा हिँडेर गरेपछि भोक लाग्ने कुरा स्वाभाविकै हो । त्यही बेला, जन्तीको थकान मेटाउन दुलहीका घरमा तयार पारिएको जन्तेबाख्रोले ठूलै भूमिका खेल्थ्यो । सालको पातले बनेको थाल अनि झोल भरिएको जन्तेबाख्रोको मासु ! बारीको डिल छेउमा बसेर पङ्क्तिबद्ध भई खाएको त्यो झोलको स्वाद अहिलेको महँगा भोजभतेरले पनि कहाँ दिन सक्छ। जन्तेबाख्रोमा सिङ्को घिउ राखेर पकाएको झोल, जसको गन्ध र स्वाद घामको कठ्याङ्ग्रिने दिनमा झन् मिठो लाग्थ्यो।

जन्तीको उत्साह यात्रा मात्र थिएन; यो भावना र सामूहिकता बाँड्ने अवसर थियो। जन्ती हिँड्नुअघि टोलभरि हलचल मच्चिन्थ्यो। बिहानैदेखि हरेक जन्ती दुलहीको घर जानका लागि तयार हुन्थे। दुलाहाको समूह, उमङ्गले भरिएको यात्रा, गफगाफ, र हासोले हरेक मोड, हरेक ओरालोलाई रमाइलो बनाउँथ्यो। खुट्टा थाक्दा पनि बेहुली लिन जाने उत्साह र चाहनाले थकानलाई पन्छाइदिन्थ्यो।

तर यो यात्रा जति रमाइलो लाग्थ्यो, फर्किने यात्रा त्यति नै कष्टकर हुन्थ्यो। दिनभरिको हिँडाइ, थाकेको शरीर, अनि साँझ परेपछि बाटोमा लहरै बालिएका राँकोका उज्यालोमा हिँडेको सम्झना अझै पनि आँखाअगाडि जीवित देखिन्छ। राँकोको उज्यालोले जन्तीको अनुहार उज्यालो बनाए पनि, शरीरभरिको थकानले उनीहरूको गह्रौँ खुट्टालाई अलि गाह्रो बनाउँथ्यो।

आज यो सबै परम्परा गुम्दै गइसकेको छ। सडक सञ्जालले हाम्रा गाउँहरूलाई शहरसँग जोडिदिएको छ, तर भावनाको त्यो गहिराइ हराउँदै गएको छ। जन्तीका सजीव र सहज सम्झनाहरू अहिले भौतिकतामा हराउन थालेका छन्। आजका विवाह समारोहमा सजावट र खानपिनका परिकारहरू महँगा भइहाले, तर तिनले जन्तेबाख्रोको त्यो अनौठो स्वाद दिन सकेका छैनन्।

हिजोका ती जन्तीका यात्रा र स्वादलाई सम्झिँदा लाग्छ, एउटा युग आफैँमा गुमाइसकेको छ। तर ती स्मृतिहरू अझै मेरो  हृदयमा जीवित छन्, जसले हाम्रो समृद्ध सांस्कृतिक सम्पत्तिको महत्वलाई सम्झाइरहन्छ। जन्तेबाख्रोको झोल र जन्तीको परम्परा मात्र होइन, त्यो सामूहिकता, त्यो माया, त्यो सादगी नै अमूल्य धरोहर हो, जुन सधैँ मेरो हृदयमा बाँचिरहने छ।

प्रकाशित: २९ मंसिर २०८१ ११:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App