३ माघ २०८१ बिहीबार
image/svg+xml
कला

निर्देशक बस्नेतले अस्ट्रेलियामा ‘पिआर’ बनाउँदै

<br>

सलोन सलिना फिल्मसको व्यानरमा फिल्म ‘पिआर’ निर्माण हुने भएको छ। आरएफएम फ्यासिलिटी मेनेजमेन्ट अस्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्नेछन्।

फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल निर्माता र एप्लाई वर्ल्डका गणेश केसी कार्यकारी निर्माता छन्। निर्देशक शोभितकाे अनुसार फिल्मका लागि अस्ट्रेलियाका विभिन्न स्थानमा अडिसन हुँदै छ।

एम्बिसन कलेज रकडेल, आरटुएम एकाउन्टिन रकडेल र विकास अधिकारी (प्रिज्मस् एजुकेसन एन भिजा सर्भिस) विशेष सहयोग रहने फिल्ममा राजजंग क्षेत्री प्रोडक्सन हेड छन्।

फिल्ममा मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद छ। निर्देशक बस्नेतले फिल्मको सम्पूर्ण छायांकन अस्ट्रेलियाको विभिन्न शहरमा गरिने बताए। ‘सम्पूर्ण कलाकार र प्राविधिक अस्ट्रेलियाबाटै छानिने छन्। अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर हामी सुटिङमा जानेछौं’, उनले भने।

फिल्म निर्माण समूहले फिल्मको फस्टलुक पनि सार्वजनिक गरेको छ। फस्टलुकमा हातमा सुटकेस बोकेर अस्ट्रेलिया जान लागेका एक व्यक्तिलाई देखाइएको छ। जसको शरीरको आधा भाग महिलाको छ भने आधा पुरुषको। महिलाको भागमा नेपालको झण्डा देखाइएको छ भने पुरुषको भागमा हातमा सुटकेस बोकेर कोट लगाएको देखाइएको छ। पृष्ठभूमिमा अष्ट्रेलिया र नेपालको दृश्य राखिएको छ। त्यस्तै उडिरहेको हवाईजहाज पनि देखाइएको छ।

प्रकाशित: २४ मंसिर २०८१ १०:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App