१२ पुस २०८१ शुक्रबार
image/svg+xml
कला

आशाले बाँचिरहेकाहरू

बिदेसिनेका व्यथा

मानिसलाई आशाले बचाउँछ। आशा भएन भने जीवन थप कष्टकर हुन्छ। आशाले मानिसलाई पर्खिन सक्ने बनाउँछ। कैयन् मानिस सुन्दर भविष्यको कल्पनासहित पर्खिरहेका हुन्छन्।

कोही अस्पतालको शय्यामा आर्थिक सहयोगको आशामा हुन्छन्। अझ तिनलाई सरकारले सहयोग गरिदेला कि भन्ने आशा हुन्छ।

यसरी प्रतीक्षा गर्नेहरूमध्येकी एक हुन्– कैलालीकी अमृता कैइला। यसअघि उनलाई कसैको प्रतीक्षा हुँदैनथ्यो। वैदेशिक रोजगारीका निम्ति युएई पुगेकी उनी बिरामीले थला परिन्। कमाएको सबै उपचारमै सकियो। अहिले उनका निम्ति एउटा मात्र भरोसा सरकार हो। त्यसैकारण अहिले जीवनका निम्ति वैदेशिक रोजगार बोर्डमा याचना गरेकी छन्।

बोर्डको तथ्यांकअनुसार वैदेशिक रोजगारीका क्रममा चालु आर्थिक वर्षको मंसिर ११ गतेसम्म बिरामी तथा अंगभंग भएर देश फर्किनेको संख्या एक सय ७४ पुगेको छ। तर, यो आर्थिक सहयोग पाउनेको संख्या मात्रै हो। बिरामी भएर बोर्डको आर्थिक सहयोगको आसमा बसेकी अमृताले भने निवेदन दिएकी छन्। तर, उनको हातमा एक पैसा पनि परेको छैन।

वैदेशिक रोजगारीका क्रममा बिरामी तथा अंगभंग र मृत्यु भएकाका हकवालाले आर्थिक सहायता पाउँछन्। सहायता पाउन श्रमिकले श्रम स्वीकृति लिएको हुनुपर्ने, यसको नवीकरण गरेको हुनुपर्ने र बिरामी वा मृत्यु भएको वर्ष दिनभित्रै बोर्डमा निवेदन दिनुपर्ने कानुनी प्रक्रिया छ। रोजगारीको खोजीमा बर्सेनि लाखौं नेपाली विभिन्न देश पुग्छन्। त्यसमध्येकी अमृता पनि एक हुन्।

उनी छोराहरूको पढाइमा मद्दत गर्न युएई पुगेको तीन वर्ष नपुग्दै रोगले चापेपछि स्वदेश फर्किएकी हुन्। ‘युएईको कम्पनीमा सरसफाइको काम गर्थें,’ उनले भनिन्, ‘एक्कासि कम्मर दुखेर काम गर्न सकिनँ।’

युएईकै अस्पतालमा जाँच गर्दा कम्मरको नसा च्यापिएकाले काम गर्न नसकेको उनले थाहा पाइन्। अस्पतालले भनेबमोजिम अपरेसन पनि भयो। तर, अपरेसनपछि पनि हलचल गर्न नसक्ने भएपछि नेपाल फर्किनुको विकल्प रहेन।

यस्तो दुःखमा समेत दुई छोराकी आमाको सहारा पति पनि बन्न सकेनन्। ‘बुढा विदेश जानुपर्ने ठाउँमा म आफैं कमाउन गएँ,’ उनले भनिन्, ‘कमाएर पठाउन्जेल सबै आफ्ना तर आफैं बिरामी भएर फर्किएपछि सबै टाढा हुने रहेछन्। छोराहरूलाई दुःखसुख आफैंले पढाएँ। अहिले त आफैंलाई उपचार गर्न पनि पुगेको छैन।’

बिरामी भएर फर्किएकी उनले छोराहरूलाई पढाइखर्च जुटाउन नसके पनि बिहानबेलुका खाना बनाइदिन्छिन्। आफैं अस्वस्थ भएपछि पनि टाढिएँ। ‘उहाँबाट मैले कहिल्यै सुख पाइनँ, न पहिले न त अहिले नै। विदेशबाट बिरामी भएर आएको खबर त उहाँलाई थाहै होला। तर, पनि घर आउनुभएको छैन। आफू त अर्काकी छोरी, मेरो त माया लागेन लागेन, ती छोराहरू त आफ्नै रगत हुन्। उनीहरूको त माया लाग्नुपर्ने हो नि ?’

उनका अनुसार दुई छोरा क्रमशः १७ र १४ वर्षका भए पनि तिनका निम्ति बाबुले एकजोर लुगा किनिदिएको अनुभव छैन। आफूलाई गाह्रो भए पनि पढाइ बढाइरहेका सन्तानलाई बाबु र आमा दुवैको माया दिएको उनी बताउँछिन्।

‘बाबुहरूलाई खाना बनाएर खुवाउनबाहेक दिनभरि अरू केही काम गर्न सक्दिनँ। सकुन्जेल त गरौंला, नसके खै के गर्ने होला? घरमा चाहिने रासनपानी सबै माइतीबाट बुबाले हेर्नुभएको छ। मेरै अपरेसन गर्न पनि तीन लाख ५० हजार रूपैयाँ लाग्यो। त्यो पनि उहाँहरूले नै पैसा हालिदिनुभएको हो,’ उनले भनिन्। माइतका बाआमा रहुन्जेल आफू पनि बाँच्ने आशा भएको अमृता बताउँछिन्।

जति बेला पतिको सहारा चाहिन्थ्यो, त्यति बेला पति र परिवारको साथ नपाएको भन्दै उनी भक्कानिइन्। ‘एउटी महिलाका लागि बलियो खम्बा भनेकै उसको पति हो,’ उनले भनिन्, ‘पति साथमा नभएपछि कसैले पनि केही वास्ता गर्ने रहेनछन्। आफू बेलाबेलामा अझै अस्पताल गइरहन्छु। अरूका साथमा उनीहरूका पति देख्छु। आफ्नो भने सपना मात्रै रहन्छ।’

आफूसँगै युएई गएका साथीले सकुशल काम गरिरहे पनि आफूलाई रोगले काम गर्न नदिएकोमा उनी चिन्तित छिन्। उनी आफ्नै भाग्यलाई दोष दिन्छिन्। उनलाई आफ्नै शरीर बोझ भएको छ। आफ्नै शरीर आफ्नोजस्तो लाग्दैन। दाहिने कम्मरको नसा च्यापिएर अपरेसन गरेदेखि नै त्यतातिर चल्दैन। प्रायः सधैं लाटो हुन्छ शरीर पनि। राम्रो उपचार नपाएर यस्तो भएको हो कि जस्तो लाग्छ उनलाई।

विदेशबाट फर्किएलगतै बोर्डमा निवेदन दिएको पनि ७/८ महिना भइसकेको छ। उनी सरकारले दिने आर्थिक सहायताको प्रतीक्षा गरिरहेकी छन्। विदेशबाट फर्केपछि थ्याच्च बस्न र गह्रौं सामान उठाउन नसक्ने अवस्थामा उनी पुगेकी छन्।

साउदी अरेबियाबाट बिरामी भएर फर्किएका कैलालीकै ३६ वर्षीय राजेन्द्रसिंह खड्काले पनि बोर्डमा आर्थिक सहायताका लागि निवेदन दिएका छन्। बिरामी भएका सबै कागजात चालु आर्थिक वर्षको साउन ३१ गते बोर्डमा बुझाए पनि आर्थिक सहायता भने नपाएको उनको पनि गुनासो छ।

परिवारको आर्थिक भार बोकेर साउदी अरेबिया पुगेका राजेन्द्र २० महिना नपुग्दै नेपाल फर्कनुपरेको हो। साउदीमा टायल र मार्बल कम्पनीमा काम गर्ने उनी धुलोकै कारणले बिरामी हुनुपरेको सुनाउँछन्।

‘टायल कम्पनीमा धेरै धुलो हुन्थ्यो,’ उनले भने, ‘मेरो काम भनेकै धुलो उठाउने थियो। काम गर्दागर्दै एक्कासि पेट दुख्यो। चेकजाँच गराउँदा केही त्यस्तो समस्या देखिएन। दिन प्रतिदिन कमजोर भएसँगै खाना हेर्न मन नलाग्ने भयो। त्यहाँ उपचार गराएँ तर केही देखिएन। अर्काको देशमा काम नगरी बस्न नसकिने रहेछ। त्यसैले नेपाल फर्किएँ।’

स्वदेश फर्किएर धनगढीस्थित एक अस्पतालमा उपचार गराउँदा आफ्नो पित्तथैलीमा प्रोटिन जमेको खबर थाहा पाएको राजेन्द्रले बताए। ‘हामी काठमाडौंमा गएर उपचार गराउन नसकिने रहेछ।

भारतको लखनउ गएर उपचार गराएसँगै औषधी खाइरहेको छु। अहिले बिरामी भएर बसेको तीनचार महिना भयो। घरमा छोराछोरी, आमा र बुढी छन्। उनीहरूको हेरचाहका लागि विदेश गएको म, अहिले उनीहरूले मलाई हेर्दै बसेका छन्,’ राजेन्द्रले भने। औषधी खाइरहे पनि आफ्नो स्वास्थ्य अवस्था ठिक नभएको उनको पीडा छ।

वैदेशिक रोजगारीका लागि साउदी अरेबिया उनको पहिलो देश थिएन। उनी विगतमा चार वर्षभन्दा बढी युएईमा रोजगारीका लागि बसेका हुन्। साउदीमा थला परेर स्वदेश फर्केका उनी आफू ठिक भएपछि पुनः विदेश जाने सोच रहेको बताए।

‘मेरो पारिवारिक, आर्थिक अवस्था साह्रै कमजोर छ। विदेश गएर पनि केही गर्न सकिएन। अहिले बिरामी भएर बस्दा राम्रो उपचारलगायत औषधी किन्न पनि दश पटक सोच्नुपर्ने भएको छ,’ उनले भने, ‘बोर्डबाट आर्थिक सहायता पाइन्छ भन्ने खबर पाएपछि निवेदन दिएको पनि तीन महिना हुन लागिसक्यो। बोर्डबाट केही खबर आएको छैन। उपचार गराउन नपाएर मान्छे नै मरेपछि पो सरकारबाट सहयोग पाउने हो कि?’

छोराछोरीलाई कसरी पढाउने भन्ने चिन्ताले पिरोलेको उनको दुखेसो छ। वैदेशिक रोजगारीमा साउदी अरेबिया पुगेर बिरामी भई फर्किएका राजेन्द्र पनि अमृताजस्तै बोर्डले दिने आर्थिक सहयोगको प्रतीक्षामा छन्।

वैदेशिक रोजगारीमा कुवेत पुगेका बागलुङका निराज गौचन पनि बिरामी भएर स्वदेश फर्किएलगतै बोर्डमा आर्थिक सहायताको माग गर्दै असोज २१ गते निवेदन दिन पुगेका थिए। उनी कुवेत पुगेको वर्षदिनमै बिरामी भएकै कारण नेपाल फर्किनुपरेको थियो।

 निराजका ससुराका अनुसार कुवेत पुगेको केही समयपछि बिरामी पर्न थालेका थिए। उहाँले हामीलाई काम धेरै गाह्रो छ भन्नुभएको थियो। एक्कासि बिरामी भएर आएपछि मात्रै थाहा भयो उहाँको अवस्था गम्भीर छ भनेर।

‘पोखरा अस्पतालमा उहाँको उपचार भइरहेको छ,’ निराजका ससुराले नागरिकसँग भने, ‘टाउकोमा रगत जमेको रे ? ज्वाइँको आधा खप्पर निकालेर राखेको छ। अहिले अपरेसन भइरहेको हुँदा दुई चार दिनपछि उहाँको आधा बनाएर राखेको टाउको सिङ्गो हुन्छ रे ?’

नातिनातिना छोरीसँगै बागलुङमा छन्। उनीहरू आफूलाई फोन गर्दै सोध्ने गरेको निराजका ससुरा भन्छन्, ‘हजुरबुबा हाम्रो बाबालाई के भएको हो ? कहिले आउनुहुन्छ हाम्रा बाबा ?’ नातिनातिनीको प्रश्नले आफूलाई पीडा भएको निराजका ससुरा बताउँछन्।

पोखरास्थित अस्पतालमा ज्वाइँको उपचारमा केही दिन अघि मात्रै उनी पुगेका थिए। घरमा आफ्नो काम पनि सम्हाल्न परेको हुँदा उनी केही दिनका लागि ज्वाइँबाट टाढा भएको बताउँछन्। ज्वाइँ निराजका लागि आर्थिक सहयोग मिल्ने आसमा उनी वैदेशिक रोजगार बोर्ड पनि धाएका थिए।

‘विदेश कमाउन गएका ज्वाइँ के कारणले बिरामी परेर स्वदेश फर्किए ? त्यो थाहा भएन। उहाँको उपचारमा धेरै खर्च लागिसक्यो। ज्वाइँले बोर्डबाट आर्थिक सहयोग पाउने कागजात भएकै कारण म काठमाडौं धाएँ तर पैसा आएको छैन,’ उनले नागरिकसँग भने।

निराजका ससुराले पनि ज्वाइँले आर्थिक सहायता पाएपछि उपचारमा केही सहयोग हुन्छ भन्ने आसमा बोर्डमा निवेदन दिएका थिए। तर, महिनौं बित्दा पनि बोर्डबाट आर्थिक सहयोग नपाएको निराजका ससुराले गुनासो पोखे।

वैदेशिक रोजगारीमा जाने संख्या बढेसँगै मृत्यु, बिरामी तथा अंगभंग भएका व्यक्ति पनि बढेका छन्। यसले वैदेशिक रोजगारी चुनौतीपूर्ण रहेको संकेत गर्छ। खाडीलगायतका मुलुकमा नेपाली रोजगारीका लागि जाने गरेका छन्। विदेशमा कामका लागि गएकामध्ये दैनिक सरदर तीन नेपालीको शव आउने गरेको बोर्डको तथ्यांक छ।

 बोर्डका सूचना अधिकारी टीकाराम ढकालका अनुसार वैदेशिक रोजगारीका क्रममा बिरामी तथा अंगभंग र मृत्यु भएका व्यक्तिका हकवालाले आर्थिक सहायता पाउँछन्। साथै उनीहरूसँग अस्पतालमा उपचार गराएको प्रमाणसँगै श्रम स्वीकृति लिएको हुनुपर्ने, श्रम स्वीकृति नवीकरण र बिरामी वा मृत्यु भएको वर्ष दिनभित्रै बोर्डमा निवेदन दिएमा आर्थिक सहयोग पाउँछन्।

श्रमिकको उक्त कागजातहरू बोर्डले विशेषज्ञ चिकित्सकको एक समितिलाई देखाएर सिफारिस गरेपछि बिरामीले आर्थिक सहायता पाउने उनले बताए।

‘बिरामीको अवस्था हेरेर बोर्डबाट उपचार खर्च दिइन्छ,’ उनले भने, ‘करार अवधिभित्र विदेशमा रहेका कामदारलाई क्यान्सर, मिर्गौला, मुटु रोग र पार्किन्सन्सजस्ता ठुला रोग लागेको खण्डमा त्यहीअनुसारको उपचार खर्च पाइन्छ। श्रम स्वीकृतिको नियमानुसारको मान्य अवधि भएका कामदारलाई मात्र बोर्डबाट आर्थिक सहयोग गरिन्छ।’

अवैध रूपमा बिदेसिएका र श्रम स्वीकृति नलिएका वा करार अवधि सकिएको अवस्थामा विदेशमा ज्यान गुमाउने र बिरामी तथा अंगभंग भएर स्वदेश फर्किनेले बोर्डबाट आर्थिक सहयोग पाउने प्रावधान छैन।

त्यसरी फर्किएका श्रमिकको यकिन तथ्यांक सरकारसँग छैन। चालु आर्थिक वर्षमा मंसिरको दोस्रो साता नसकिँदै वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको संख्या चार सय ७७ पुगेको छ। राज्यको सहयोग पाइन्छ भन्नेहरूको आशा भने अझै मरेको छैन। उनीहरू प्रतीक्षारत छन्। आशा मर्‍यो भने तिनले जीवन गुमाउने निश्चित छ।  

प्रकाशित: २२ मंसिर २०८१ ०८:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App