३ माघ २०८१ बिहीबार
image/svg+xml
कला

वैदेशिक विभ्रमको विमर्श

अनुभूति

बिहान उठेर एकछिन मोबाइल हेर्नु दैनिकीजस्तै बनेको छ आजकल। तन जहाँ रहे पनि मन भने स्वदेशमै जाने रहेछ। दैनिकजस्तो हुने दुर्घटना, प्राकृतिक विपत्तिजस्ता घटनाका समाचारले मन खिचिरहेको हुन्छ। आज पनि कतै केही भयो कि भन्ने भयले मन अत्तालिँदो रहेछ। मोबाइल हेर्दै थिएँ, हेर्दै गर्दा त्यहाँ एउटा लेख देखेँ। लेखको शीर्षक थियो– ‘युवाका छरिएका सपना–विपना’।

उक्त लेखप्रति मेरो ध्यान केन्द्रित भयो। हुनु पनि स्वाभाविक थियो किनकि म स्वयं पनि सपनाको उडानमा परदेसिएको युवा थिएँ।

लिंक खोलेँ। लेखक चिनेकै हुनुहुँदोरहेछ। उहाँका लेखहरू निकै रोचक हुने भएकाले पनि यो लेख पढ्न आतुर भएँ। ‘नेपालमा के छैन, विकसित देशमा छ ? नेपालमा के छ, त्यो विकसित देशमा छैन ? किन आम मान्छेलाई स्वदेशप्रति वितृष्णा छ र विदेशप्रति आकर्षण ?’ लेख पढ्दै गर्दा यो लाइनले मलाई एकछिन सोच्न बाध्य बनायो। म केहीबेर घोत्लिएँ। आफूलाई उक्त ठाउँमा राखेर हेर्ने कोसिस गरेँ।

आखिर म किन परदेसिएँ ? देशभित्र के थिएन ? विदेश आएपछि के पाएँ ? हिजो स्वदेशमै रहेर सपनाको उडानमा उड्दै गर्दा जे देखेको थिएँ, त्यीमध्ये कति पूरा भए त ? आज यो लेखले मलाई आफैंप्रति प्रश्न गरिरहेको छ।

स्वदेश रहँदा के थिएन मसँग ? म्यानेजमेन्टमा स्नातकोत्तर गरेको थिएँ। रोजगारीको कुरा गर्ने हो भने बैंकिङ क्षेत्र, एनजिओलगायत अन्य विभिन्न क्षेत्रमा काम गरिसकेको अनुभव थियो मसँग।

विभिन्न क्षेत्रको अनुभव सँगालिसकेको र एक तहको उच्च शिक्षा पूरा गरिसकेको मजत्तिको युवालाई एक ठाउँमा नभए अर्को ठाउँमा रोजगारी पाउनु त्यति कठिनाइ पनि थिएन सायद। तर पनि म बिदेसिएँ। त्यो मेरो रहर थियो कि बाध्यता ? आजसम्म पनि मैले यसको जवाफ दिन सकेको छैन। रहर भनौं भने त्यस्तो धेरै विदेश जाने हुटहुटी पलाएर आएको पनि होइन। बाध्यता भनौं भने देशमा टिक्नै नसक्ने कमजोर धरातल पनि मेरो थिएन। यी यावत् प्रश्न आजपर्यन्त पनि बल्झिरहेका छन् मनमा।

म खासै विदेशप्रति आशक्ति बोकेको व्यक्ति थिइनँ। देशमै रहन्छु र त्यहीं केही गर्छु भनेर संकल्प बोकेको थिएँ। देशमा केही छैन, विदेश नै अन्तिम गन्तव्य भन्ने भाव ममा कहिल्यै पलाएन। तर एकदिन सँगै मास्टर्स पढ्दाको साथीले केही अन्तरंग कुरा गर्‍यो। उसको कुराले म केहीबेर सोचमग्न हुन पुगेँ। उसको कुराले मेरो विचारमा एकाएक परिवर्तन आयो र बिदेसिने रहर पलायो।

उसले भन्यो– ‘आज त सानोतिनो रोजगारी गरिएला, देशमै रमाइएला तर समयसँगै सबै कुराको चाहना बढ्दै जान्छ। उक्त समय हामी ढिलो भइसकेका हुन्छौं। समय ढल्किएपछि साथीभाइ, आफन्त सबैको प्रगति आफ्नो मात्र दुर्गति भयो भने त्यो बेला समय निकै ढिलो भइसकेको हुनेछ। बेलैमा विदेश गइयो भने बेलैमा आफ्नो बन्दोबस्ती गर्न सकिन्छ। त्यसैले बेलैमा विदेश जाऊँ।’

उसको कुराले म निकै घोत्लिएँ। एक मनले भन्यो– साँच्चै हिँड्नुपर्छ कि क्या हो म पनि विदेश ! साथीले भनेजस्तै यहीं बस्दा कतै सोचेजस्तो प्रगति गर्न नसकिने पो हो कि ? विदेश जान पाए त ढिलोचाँडो कार्ड बनाएर त्यहींको जिन्दगीमा रमाउन पाइएला। अर्को मनले भन्यो– के युरोप–अमेरिका गएका जति सबैको जिन्दगी सुखमै मात्र बितेको छ त ? युरोप अमेरिकामा रहेका नेपालीले पाएको दुःख र पीडाका समाचार र त्यहाँ कति नेपालीले आत्महत्या गरेका समाचार पनि नसुनेको होइन। निर्णय गर्न निकै कठिन भयो र पनि अन्त्यमा बिदेसिने निचोडमा पुगेँ।

विदेश मेरा लागि भने त्यति संघर्षपूर्ण रहेन। किनकि मेरा दाजु पहिले नै त्यहाँ पुगिसकेकाले हरेक कुरा मेरा लागि सहज नै रहे। तर विदेशलाई कर्मभूमि बनाएर अघि बढ्ने क्रममा मजस्ता धेरै नेपाली दाजुभाइको संघर्षपूर्ण जीवन भोगाइलाई नजिकबाट नियाल्ने अवसर पाएको छु। यस लेखमार्फत तिनै केही प्रतिनिधिमूलक पात्र र घटनालाई उजागर गर्ने जमर्को गरेको छु।

उक्त लेखमा भने जस्तै ‘के हाम्रो शिक्षाले युवालाई ‘हाइप–मेट्रोपिया’ (टाढाको मात्र देख्ने आँखाको समस्या) को समस्या बढाउँछ ? नेता र तिनका नजिककाले देशभित्र देख्ने अवसरै अवसर हामी आम युवाले किन देख्न सकेनौं ? कारण अवश्य छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाईजहाजमा उड्दै गर्दा एकपटक सपनाहरूले आकाश नछुने नेपाली सायद नै होलान्, चाहे ती कमाउन बिदेसिएका हुन् या पढाइका लागि। जुन सपना र सोच बोकेर विदेश उडिन्छ, के ती सबै पूरा हुन्छन् त ? सपना र यथार्थमा कतिको अन्तर छ विदेशमा ? अध्ययनका नाममा बिदेसिने युवा सबैले के साँच्चै पढ्छन् त ?

स्वप्नदर्शी नेपाली युवाका लागि मात्र होइन, संसारका विभिन्न महादेशका विकासोन्मुख र विकासशील मुलुकका मानिसका लागि पनि युरोप–अमेरिका लगायतका देश सपनाको संसार बन्न पुगेका छन्। यहाँका भौतिक तथा मानवीय विकासका सूचकले जीवनलाई एक आधुनिक स्वर्गका रूपमा चित्रित गराउन खोजेझैं देखिन्छ। त्यसैले युरोप–अमेरिकाजस्ता पश्चिमा देशमा जान र ती भूमिको प्रत्यक्ष अनुभव गर्न चाहनेहरू संसारमा धेरै छन्।

धेरै नेपाली युरोप–अमेरिकाजस्ता विभिन्न देशमा पुगेका छन्। त्यस्ता नेपालीका सफलताका कथा गैरआवासीय नेपालीका आर्थिक आकांक्षाहरू तथा उनीहरूका अनुभवहरू बनेर विभिन्न माध्यममार्फत प्रशस्त छरिएका छन्। तर, त्यहाँभित्र नेपालीले भोगेका दुःखका अनेक रूप र वेदनाका अनेक कहानी भने खासै बाहिर आउँदैनन्। यदाकदा पछिल्लो समय फाट्टफुट्ट आउन थालेका छन्, त्यो भिन्नै कुरो हो। यहाँभित्र नेपालीका अनगिन्ती पीडा र वेदना लुकेका छन्।

पछिल्लो युवापुस्ताको कुरा सुन्ने हो भने बिदेसिनु नै सफलताको शिखर चुम्नु हो जस्तो भान हुन्छ। युवापुस्ताको अन्तिम चाहना नै बिदेसिनु हो जस्तो देखिन्छ। नेपालमा रहेका साथीभाइको कुरा सुन्दा उनीहरू जति सक्दो चाँडो देश छोड्न चाहन्छन्। उनीहरूमा त्यो सोच नपलाओस् पनि कसरी?

देशलाई आमूल परिवर्तन गर्ने भनेर राजनीतिमा होमिएका कथित क्रान्तिकारी नेताका छोराछोरीदेखि उच्चपदस्थ सरकारी कर्मचारीका छोराछोरी अधिकांश विदेशमै छन् अनि आम सर्वसाधारण जनताका छोराछोरीलाई मात्र देशमै केही गर्नुपर्छ भनेर आदर्श भाषण छाँट्नु भनेको आफैंलाई लगाम लगाउनु र आफ्नो मुठीको कार्यकर्ता बनाइराख्नु सिवाय अरू केही होइन।

बिदेसिनु आफैंमा संघर्ष र चुनौतीको समिश्रण हो। नयाँ ठाउँ, नयाँ परिवेश जहाँ पाइलैपिच्छे हण्डरठक्कर भेटिन्छन्। बिदेसिने चाहना आज पनि गरिबीको दुश्चक्रबाट उम्कने पारिवारिक चाहनाको प्रमुख परिणाम हो। यद्यपि यसका परिणाम सधैं सुनिश्चित र सुरक्षित हुँदैनन्।

राज्यको दोष

सार्वजनिक बहसमा युवा बिदेसिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरिन्छ। सरकारले यसै वर्षदेखि कार्यान्वयनमा ल्याएको सोह्रौं पञ्चवर्षीय योजनाको कुरा गर्ने हो भने एकातर्फ युवाको विदेश पलायनलाई न्यूनीकरण गर्ने भनिएको छ, त्यसै परिच्छेदमा वैदेशिक रोजगारीका लागि नयाँ र आकर्षक गन्तव्य खोज्ने पनि भन्छ। कस्तो विरोधाभास कुरा।

मौद्रिक नीति (२०८१/८२) भन्छ– ‘वैदेशिक रोजगारी र विदेश अध्ययनमा ठुलो संख्यामा युवाहरू विदेश गएकाले आन्तरिक माग शिथित रहेको छ। सायद त्यसैले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बिनाधितो ऋण उपलब्ध गराउने व्यवस्था मौद्रिक नीतिमा छ।

सरकार नै युवालाई बिदेसिन प्रोत्साहन गरिरहेछ। जति पनि नेपाली विकसित देशहरूमा बिदेसिएका छन्, उनीहरू एक तहको शिक्षा पूरा गरेर मात्र बिदेसिएका छन्। १२ कक्षाभन्दा मुनिका त सायदै छैनन्। कोही स्नातक सकेर त कोही स्नातकोत्तर सकेर बिदेसिएका छन्। उनीहरू देशका लागि एउटा दक्ष जनशक्ति हुन्।

कतिपय व्यक्ति राम्रो जागिर हुँदाहुँदै त्यतिले सन्तुष्ट नभएर उच्च महत्त्वाकांक्षासाथ पलायन भएका छन्। उदाहरणका लागि म स्वयं यसको एउटा पात्र हुँ। मसँग पढाइ र जागिर दुवै थियो र पनि परदेसिएँ। १२ कक्षा पुरा गरेरै बिदेसिनेहरू पनि अधिकांशहरू राम्रो अंक ल्याएर पास गरेकाहरू नै छन्। उनीहरू भोलिका लागि देशलाई उपल्लो तहमा चाहिने जनशक्ति हुन्। तर राज्यले देशभित्रै सुलभ रूपमा उचित शिक्षा दिएर उनीहरूको पलायनलाई रोक्न सकेन।

बिदेसिए ठिकै छ तर विडम्बना, बिदेसिएका अधिकांशले आफ्नो पढाइलाई अगाडि लानै सक्दैनन्। उनीहरूको ध्याउन्न नै कसरी हुन्छ, त्यहाँको कार्ड बनाउने र त्यहीं स्थापित हुने भन्ने हुन्छ। यसले देशलाई त घाटा भयो भयो, स्वयम् व्यक्तिलाई पनि नराम्रो असर पर्न जान्छ। कतिपय देशको राम्रै अवसर छोडेर बिदेसिएकाहरूले विदेशमा तल्लो स्तरको काम गरिरहेका हुन्छन्। यसले उनीहरूमा निराशा र हीनताबोध त हुन्छ नै, उनीहरूसँग भएको दक्षता जुन देशभित्र रहँदा प्रयोग भएको थियो, त्यो बिदेसिएसँगै हराउँदै जान्छ र देशको एउटा दक्ष जनशक्ति विदेशको आशक्तिले उसको सिप पनि पलायन भएर जान्छ।

कालान्तरमा ऊ चाहेर पनि आफूभित्रको हीनताबोधका कारण स्वदेश फर्कन सक्दैन। मेरो एक जना साथी जो नेपालमा ओभरसियर थिए तर यहाँ आएर उनले रेस्टुरेन्ट क्षेत्रमा काम सुरु गरे।

अहिले उनलाई नेपाल जाऊँ जस्तो त लाग्छ तर नेपाल गएर आफूले गरेको पुरानै काम गर्न सक्ने हिम्मत उनमा छैन। पढेको सबै बिर्सियो, नेपाल गएर के गर्ने ? विदेश पलायनसँगै आफ्नो सिप पनि पलायन भयो। नेपालमै रहेका सँगैका साथीभाइ कहाँ पुगिसके। त्यही हीनताबोधका कारण पनि कैयौं नेपाली स्वदेश फर्कने चाहना हुँदाहुँदै पनि फर्कने हिम्मत गर्न सकेका छैनन्।

करिअर फगत जागिर होइन। पैसा कमाउने बाटो मात्र होइन। हामीले जीवनभरि गर्नका लागि रोजेको बाटोले पैसा दिनुपर्छ नै, त्योभन्दा बेसी सन्तुष्टि दिनुपर्छ। सन्तुष्टि केले दिन्छ भन्नेमा आजका हामी आम युवाहरू अल्मलिएका छौं भन्ने लाग्छ।

के बिदेसिएका सबै नेपालीको जीवन सुखमय छ त?

म हाल युरोपको जर्मनीलाई आफ्नो कर्मभूमि बनाएर यहीं बसोबास गरिरहेको हुँदा यस लेखमार्फत अमेरिका, अस्ट्रेलियाभन्दा पनि युरोपकै नेपालीहरूको जीवनगाथा अवस्थाबारे चर्चा गर्नु उचित होला। म जर्मनीस्थित विभिन्न नेपाली संस्थामा पनि आबद्ध रहेकाले यहाँलगायत युरोपका अन्य देशमा अवस्थित धेरै नेपाली दाजुभाइ दिदीबहिनीलाई भेट्ने र उहाँहरूको कथाव्यथा र अवस्था सुन्नेबुझ्ने अवसर पाएको छु। युरोपमा छिरेका नेपालीहरू मेरो वर्गीकरणअनुसार तीन किसिमका हुन्छन्।  

–विद्यार्थी भिसामा आउने र पढाइ पूरा गरेर स्वदेश फर्कने।

–विद्यार्थी भिसामा आउने तर पढाइ पूरा गर्न सके पढ्ने, नसके कसरी कहाँ गएर छिटो कार्ड बनाउन सकिन्छ, कार्ड बनाएर यतै बस्ने।

–पर्यटक भिसामा हुन्छ कि दलाली लगाएर तेस्रो बाटोबाट हुन्छ आउने र कार्ड बनाउन मिले बनाएर बस्ने, नमिले शरणार्थी भएरै पनि बस्ने।

विद्यार्थी भिसामा आएर पढाइ पूरा गरी फर्केकाहरू नगन्य मात्रामा मात्र छन्। उनीहरूको चर्चा गरिरहनु यहाँ खासै जरुरी भएन। तर जो विद्यार्थी भिसा वा अन्य कुनै माध्यमबाट यहाँ आएर कार्ड बनाउन संघर्षरत छन्, उनीहरू अधिकांशको कथाव्यथा कम मर्मस्पर्शी छैन।

नेपालीहरू एउटा देशमा बस्ने वैधानिक कागज नभएपछि अर्को देशमा हुन्छ कि भन्दै लुकीलुकी जाने गर्छन्। केही समयअगाडिसम्म मान्छेहरू पोर्चुगल प्रवेश गर्ने गर्थे। युरोपको कुनै देशमा प्रवेश गरिसकेपछि कार्ड बनाउन सहज देश पोर्चुगल थियो तर त्यहाँ केही महिना अगाडि आप्रवासीका लागि भिसा प्रक्रिया बन्द गरिदियो।

 आप्रवासीको प्रवेश बढ्दो क्रमसँगै त्यसले विभिन्न क्षेत्रमा असर पर्न थालेकाले इयुले नै पोर्चुगललाई आप्रवासी रोक्न दबाब दिएका कारण हाल पोर्चुगलमा प्रवेश बन्द छ। त्यसैले मानिसहरू अहिले इटली, स्पेनतिर जानेक्रम बढ्दो छ। एक देशबाट अर्को देश प्रवेश गर्दैगर्दा सीमा क्षेत्रमा पक्राउ परिएला भन्ने उस्तै त्रास। पक्राउ परेमा कि त सिधै विमान चढाएर नेपाल फिर्ता, नभए जताबाट आएको हो उही देश फिर्ता। कोही भने जेलै पनि पर्न सक्ने रहेछन्। यत्रो जोखिम भए पनि सोचेजति रकम जुटाउने हैसियत नबनाई कसरी घर फर्कनु ? जाँदाको ऋण चुक्ता गर्न नसकेपछि आफ्नै परिवार र नातागोताहरू पनि बैरी हुनु स्वाभाविक हो। कसैले त आठदश वर्ष बस्दा पनि एक पैसा बचाउन सकेका हुँदैनन्।

उता नेपालबाट ऋण गरेर पढ्न आएका वा कमाउन आएका छोराछोरीप्रति बाबुआमा विदेश पठाउन सफल भएकोमा गर्व गर्दै गाउँघरमा छिमेकीलाई फूर्ति दिन थाल्छन्। ‘मेरो छोरो नि फलानो देश गयो, महिनामा यति लाख कमाउँछ/उति लाख कमाउँछ।’

त्यहीअनुसार बाबुआमाले यता छोराछोरीलाई विदेश उडेदेखि नै पैसा पठाउन दबाब दिन थाल्छन्। आफ्ना छोराछोरी बिरानो परदेशमा उडेका छन्। भनेको जस्तो होला कि नहोला, पढाइ पूरा गर्न सक्लान् कि नसक्लान् ?, कतै अलपत्र पो पर्लान् कि भन्ने भावभन्दा पनि उहाँहरूको मानसिकतामा के हुन्छ भने युरोप–अमेरिका भनेको विकसित देश हो, त्यहाँ छिर्न मात्र पाइयो भने सबै कुरा स्वतः पूरा हुन्छन्। अनि अभिभावकले त्यो बिदेसिएका छोराछोरीप्रति एकैचोटि धेरै कुराको अपेक्षा राख्छन्।

 छोराछोरीले पढाइ पनि पूरा गरून्, कार्ड पनि बनाउन् र पैसा नि पठाउन्। यी तीनवटै कुरा एकैचोटि कसरी पूरा होस् र ! अनि ती बिदेसिएका छोराछोरीलाई दबाब बढ्न थाल्छ। उता नेपालदेखि महँगो ब्याज लिएर उडेको पैसा अनि यता बाबुआमाको अपेक्षा। बाबुआमा गाउँमा फूर्ति लगाउँदै हिँडेका छन्, यताको सबै वास्तविकता बताउन पनि भएको छैन। थाहा पाए उनीहरूको प्रेसर बढेर ढल्लान् भन्ने पिर, नभनूँ त यता आफ्नो प्रेसर बढेर मर्नु न बाँच्नुको अवस्था। बडो कहालीलाग्दो छ अवस्था।

वैधानिक कागज हुनेहरूका लागि त केही सहज छ तर जोसँग वैधानिक कागज छैन, उनीहरूसँग पीडाको शृंखला छ। पहिलो कुरो कागज नहुनेले काम पाउन गाह्रो, काम पाइहाले पनि भाषाको समस्याका कारण विभिन्न अवरोध झेल्नुपर्ने अवस्था। नेपाली दलालहरू छ्यापछ्याप्ती भेटिन्छन् गल्लीगल्लीमा।

भाषाको समस्याका कारण नेपालीले नेपालीलाई नै ठगिराखेका हुन्छन्। र पनि फुर्सदको समय मिलाएर सुकिलो लुगामा चिल्लो बाटो र अग्लो भवनहरूका अगाडि बसेर मुसुक्क मुस्कुराएको फोटो फेसबुकमा अपलोड गरिदियो अनि नेपाल बस्नेले सोच्छन्– त्यसले त जिन्दगी बनायो।

त्यहाँ बस्नेले यहाँको भोगाइ र पीडा कसले देखेको छ र ? रोएको र दुःख पाएको फोटो कसले घर पठाउँछ र ? फोटो त हाँसेकै पठाउँछन्। अनि सबैले मोजको जिन्दगी छ भन्ने नै सोच्छन्।

त्यसमाथि नेपालमा हुने साथीभाइहरू बेलाबेला म्यासेज गर्छन् र भन्छन्– के छ हाल खबर ? हामीलाई त बिर्सिस् त यार, पैसा कमाएसी तेरो भाउ बढेछ त, अलिकति पैसा पठाइदे न यार, पैसा भयङ्कर कमाइस् होला, घरघडेरी कतिको जोडिस् ? आउँदा मलाई मोबाइल इत्यादि ल्याइदे ल !

अनि त्यसपछि झन् पीडामाथि पीडा थपिन्छ। कुनै म्यासेजको जवाफ दिएन भने सोच्न थाल्छन् कि विदेश गएपछि ठूलो पल्टियो। यस्तै यस्तै कारण यहाँ कतिपय नेपाली १९/२० वर्षको कलिलो उमेरमा आएर यहीं बुढ्यौलीमा पुगेका छन्। सक्रिय उमेर विदेशमा बिताए अब नेपालमा कुन मुखले के गर्न जाने ? उनीहरूलाई यो कुराले धेरै पिरोल्छ। नेपाल फर्कने मन सबैलाई हुन्छ तर उनीहरू जब विदेश पसे, त्यसपछि यहींको परिबन्धमा फसे। रातो पासपोर्ट र पिआरको चक्करमा कमाएको पैसा र युवा उमेर यहीं बित्यो। बुढेसकालमा कार्ड त हात प¥यो तर कमाउन सक्ने सक्रिय उमेर पनि सकियो।

‘नेपाल गएर नि केही गर्न सक्ने होइन। सबै बिरानो भइसके। जीविकोपार्जन चलाउन झन गाह्रो छ नेपालमा। यहाँ त कार्ड भएपछि काम गर्न नसके पनि खानबस्न त सरकारले व्यवस्था गरिदिन्छ।’ त्यसैले यतै हराएका छन् कतिपय नेपालीहरू। तर नेपाल बस्नेले सोच्छन्– विदेशको मोजमस्ती र हावापानीले गर्दा उतै भुल्यो। कसले बुझ्ने वास्तविकता ? चाहेर भुलेको हो कि जन्जिरमा अल्झिएर ?

अब चर्चा गरौं अवैध बाटो युरोप छिर्दै गरेकाहरूको। केही समयअगाडि मेरै ठाउँतिरकी एकजना केटीसाथी ओर्किङ भिसामा साइप्रस आएकी रहिछन्। साइप्रसमा भनेजस्तो कमाइ पनि नहुने र पिआरको प्रक्रिया पनि झन्झटिलो हुने देखेपछि उनीहरूको एउटा समूह पोर्चुगल छिर्ने तयारी गरेछन्।

उनीहरू महिनौं दिन लगाएर पोर्चुगल आइपुगेका रहेछन्। एकदिन त्यो साथीसँग म पोर्चुगल घुम्न गएको बेला भेट भएको थियो, त्यसै बेला उनले आफ्नो पीडा सविस्तार सुनाएकी थिइन्।

उनले भन्दै थिइन्– ‘साइप्रसबाट सर्भिया त सजिलै दलालले गाडीमा राखेर ल्यायो र त्यहीं महिनौं दिन होटलमा राख्यो। त्यहाँबाट पहिला हामीहरू रोमानिया जानु थियो, जहाँ अर्को दलालको सम्पर्कमा पुग्नु थियो। त्यहाँबाट फेरि स्लोभानिया हुँदै इटली, स्पेन, फ्रान्स हुँदै पोर्चुगल पुग्नु थियो। सर्भियाबाट सीमा पार गरी रोमानिया छिर्ने क्रममा कयौंपटक मैले मृत्युसँग मुकाबिला गरेको छु। प्यासले सास रोकिनै लाग्दा कैयौं रात आँसु पिएर सुतेको छु।’

उनी युरोप पस्दाको दुःखबारे भन्दै थिइन्– ‘जंगली जनावरको त्रास उत्तिकै, सम्झँदा पनि आङ जिरिंग हुन्छ।’

उनको यात्रानुभूतिले मलाई धेरै पटक भावुक बनायो। अनेक दुःख गरेर युरोप आए पनि उनको दुःख सकिएन। उनीहरू दलालीमार्फत घुम्दै घुम्दै स्लोभानिया आइपुगे। केही दिनको स्लोभानिया बसाइका क्रममा बचेखुचेको पैसा पनि सकियो। दलाललाई पैसा दिन नेपालबाट पैसा मगाएर फेरि त्यहाँबाट फ्रान्सतिर हिँडे। फ्रान्स छिर्न सजिलो थिएन। कोरोना कहरले थिलोथिलो भएको युरोपका हरेक देशले सीमानाका कडाइ गरेका थिए। त्यसमा पनि अवैध रूपमा अर्को देश छिर्न आप्रवासीलाई फलामको चिउरा चपाएसरह थियो। इटली आएपछि कहिले अफ्रिकन त कहिले पाकिस्तानी दलालको पछि लागेर फ्रान्स छिर्ने बाटो खोज्यौं। यसै क्रममा लुकीछिपी सामान बोक्ने कन्टेनरमा छिरेर सीमा पार गर्ने कोसिस गर्‍यौं।

उनले आफ्नो अनुभव सुनाउँदै भनिन्– बस या रेल मार्गबाट सीमा पार गर्न खोज्दा प्रहरीको फन्दामा परिने त्रास थियो। हामीअघिका केही साथीलाई फ्रान्सेली प्रहरीले भेटेर फर्काएको थियो। हामी सकेसम्म प्रहरीको आँखा छल्न चाहन्थ्यौं। यही लुकामारीबिच एक दिन भाग्य या दुर्भाग्य भनौं, इटलीको बोर्डर पार गर्न दलालहरूले कन्टेनरभित्र त छिराए, तर त्यहाँ पनि फेरि अर्को पटक मृत्युसँग मुकाबिला गर्नुको विकल्प रहेन। आवाज निकाल्दा कन्टेनर चालकले थाहा पाउने हो कि भन्ने त्रास। खोक्न पनि नपाइने। बिनाहावा हामीले त्यो समय कसरी पार गर्‍यौं, सम्झँदासमेत अत्यास लागेर आउँछ। फ्रान्सबाट पोर्चुगलसम्मको यात्रा भने सहज नै थियो किनकि त्यहाँका सीमा केही खुकुला थिए।

यसरी यात्रा गर्दा हिँड्न नसकेर, बिरामी परेर अलपत्र पर्नेहरू धेरै हुन्छन्। कतिको बाटोमै मृत्यु हुन्छ। कति लुटिन्छन्। कोही बिरामी वा घाइते भए छाडेर हिँड्नुको विकल्प हुँदैन। त्यसरी यात्रा गर्नेहरूलाई जीवनको कुनै प्रवाह नहुने रहेछ। सुन्दर भविष्यको सपना साँचेर ज्यान बाजी राखेर यात्रा गर्ने उनीहरूको कथा दर्दनाक छ। कतिपय मान्छे इराक पार गरेर युरोप आउन खोज्दा लुटेरा र आतंककारीहरूको फन्दामा पर्दा रहेछन्।

उनी नेपालमा प्राइभेट बोर्डिङ स्कुल पढाउँथिन्। जेनतेन जीवन चलेकै थियो। पछि धेरै कमाउने लालसाले साइप्रस आइन्। त्यहाँसम्म पनि ठिकै थियो तर जब साथीहरूको उक्साहट र छिट्टै धेरै कमाउने लोभले उनी अवैध बाटो हुँदै पोर्चुगलसम्म आएकी रहिछन्।

‘त्यस्तो दुःख पाइन्छ भन्ने थाहा पाएको भए म पोर्चुगल आउने नै थिइनँ। बल्ल बल्ल आइयो। आएपछि पनि दुःख उस्तै, कमाइ नि साइप्रस र पोर्चुगलमा खासै भिन्नता रहेनछ। अहिले व्यर्थै यता आइएछ जस्तो लागिरहेको छ।’

पोर्चुगलका चोकचोकमा दैनिकजसो यस्तै पीडाको पोको बोकेर युरोप छिरेका धेरै नेपाली लगायत अन्य मुलुकका मानिस प्रशस्त भेटिन्छन्।

आखिर यस्तो अवैध बाटो भएर पनि मानिस किन विदेश छिर्न चाहिरहेका छन् ? स्वदेशमै राम्रो अवसर हुँदाहुँदै उनीहरू किन त्यहाँ सन्तुष्ट छैनन् ? कारण विविध छन्। देशभित्रको राजनीतिक, आर्थिक दुरावस्था त हुँदै हो, अर्को कारण भनेको देखासिकीको लहड र विदेशमा नेपालीहरूले खेप्नुपरेको दुःख र त्यहाँको वास्तविकता खासै बाहिर नआउनुले पनि हुन सक्छ।

केही समयअगाडि एउटा समाचार सुन्दै थिएँ– रुकुमको एउटा गाउँको मावि तहको शिक्षक आफ्नो जागिर छोडेर दलालमार्फत यस्तै बाटोबाट अमेरिका छिर्न भनेर हिँडे रे !

आखिर किन सबै बिदेसिरहेका छन्?

आजभोलि फेसनजस्तै बनेको छ– ‘१२ कक्षा पास, विदेशतिर टाप।’ युवायुवती मात्रै नभई उनीहरूका अभिभावकले पनि देशमा भविष्य देख्न छाडेका छन्। अलिअलि हुनेखाने वा ऋण गर्न सक्नेहरूको पहिलो उद्देश्य १२ कक्षा सकेर विदेश जाने भएको छ।

म केही समयअघि नेपाल जाँदा कलेज पढाउने साथीहरूसँग भेट हुँदा उनीहरू भन्थे– कलेजमा विद्यार्थी नै छैनन्। प्लस टुसम्म बलै पढ्छन्, त्यसपछि सबै विदेशको पछि लाग्नाले प्राइभेट कलेजले विद्यार्थी पाउनै छाडे। के पढ्ने ? जे सजिलो र सस्तो हुन्छ त्यही। ऋणको पिर र पैसा कमाउने लालसाले धेरैको पढाइ छायामा परेको छ। विदेसिएका केही व्यक्ति सातामा ६ दिन मरी मरी काम गर्छन् र ‘विकेन फन’ भन्दै समुद्री किनार वा कुनै पार्कमा राम्रा लुगा लगाएर यसरी फोटो हाल्दिन्छन् कि उता माइक्रोको कुनामा कोच्चिएर डाटाबाट फेसबुक चलाउँदै गरेकाहरूलाई लाग्छ– ‘वाह ! त्यस्तो पो जीवन।’

प्रमुख समस्या हामी आफैं

युवापुस्ताको मुख्य समस्या भनेको आफूभित्र केही गर्ने हुटहुटी नहुनु हो। हुटहुटी केले जन्माउँछ ? दुःखले, पीडाले वा संघर्षले ? दुःख आफैंले गर्नुपर्छ भन्ने छैन। अर्काले गरेको दुःख देख्न सक्ने आँखा र महसुस गर्न सक्ने मुटु हुनुपर्छ। हाम्रो पुस्ताले खालि गुनासो मात्र गर्न जानेको छ। आफूले पाएको कुराप्रति धन्य हुन जानेको छैन।

आजको पुस्ता अधिकारका कुरा निकै कड्किएर गर्छ। अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा हुन् भनेर केटाकेटी देखी रटेको भनाइ बिर्सिन्छौं। हामीसँग कोरा किताबी ज्ञान छ, अनुभव छैन। अनुभवको बाटो लामो, झन्झटिलो र अप्ठेरो छ। त्यो बाटो हिँड्ने आँट र धैर्य हामीमा नहुनु नै आजको विदेश पलायनको यो स्थिति सिर्जना हुनु हो।

प्रकाशित: २२ मंसिर २०८१ ०६:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App