११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार

त्रिमूर्ति निकेतनले ६ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान पुर्‍याउने रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको त्रिमूर्ति निकेतनको बैठकले सो निर्णय गरेको हो। साथै नाट्यसम्राट् बालकृष्ण समको व्यक्तित्व र कृतित्वमाथि महत्त्वपूर्ण दस्तावेज प्रस्तुत गर्नका अतिरिक्त नेपाली भाषासाहित्यको सेवामा मन, वचन र कर्मले समर्पित भई विशिष्ट योगदान गरेबापत प्राडा सावित्री कक्षपतीलाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरिने भएको छ।

त्यसैगरी नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि छ दशक अघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवर्धनमा विशिष्ट योगदानका निम्ति प्राडा बेञ्जु शर्मालाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने निर्णय भएको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए।

ताम्रपत्रका साथै यी तीनै पुरस्कारका राशि जनही एक लाख रूपैयाँ रहेको छ।  

प्रकाशित: ११ मंसिर २०८१ १३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App