३ माघ २०८१ बिहीबार
image/svg+xml
कला

घाउ

निबन्ध

केही दिनदेखि चुपचाप थिएँ।

यद्यपि चुपचाप बस्ने स्वभाव हुँदै होइन मेरो। चुपचाप बस्दा मन अलिक भारीजस्तो हुन्छ। मस्तिष्कमा अनेकौं कुराको खिचडी पाकिरहेको थियो।

एक दिन कुनै पुस्तक पढिएन भने वा कुनै कुरा लेखिएन भने यस्तो लाग्छ। पढ्ने–लेख्ने कुरा पनि नराम्रो लत रहेछ। एक प्रकारको नशा।

कतिपय समयमा– के लेख्ने के नलेख्ने ? हुन्छ अचेल। जीवन धान्ने जोहो पनि गर्नु छ। साथीभाइसँगको सम्बन्ध पनि नवीकरण गर्नैपर्ने। यसो हेर्छु– रिडिङ टेबलमा पुस्तकहरू थुप्रिरहेका थिए। कुन पुस्तक पढूँ ? कसको पुस्तकमाथि समीक्षा गरौं ? मनको शान्त दहमा मस्तिष्कले केही तरंग छोडिरहेको थिए। अचेल केही निबन्धहरू पढिरहेको थिएँ। मसँग निबन्धका प्रायः कमै पुस्तक छन्। भर्खरै प्रकाशित निबन्धकार मुकुन्दराज शर्माको ‘धोबीघाट मेलोडी’ छ। मोमिलाको ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ निबन्धसङ्ग्र्रहका केही निबन्धभित्र पस्दै निस्किँदै गरिरहेको थिएँ। म पनि निबन्धको स्वादमा भिजिरहेको छु। पोहोर मुस्किलले आफ्नै जीवनमाथि एउटा निजात्मक निबन्ध लेखेको थिएँ। पछि पढ्दा आफैं रोमाञ्चिक भएको थिएँ।  

प्रायः यात्रामा निस्किन्छु– यात्रा गर्दा नियात्रा लेख्ने आदत बसिसकेको छ। अब आत्मपरक निबन्ध सुरु गरौं भन्ने लागेको छ। राम्रो वा नराम्रो कस्तो हुन्छ त्यो थाहा छैन तर प्रयास गरौं भन्ने लागेको छ। त्यसैले पनि सकेसम्म निबन्धका पुस्तक पढ्न मन पर्छ। आ व्यर्थै, समीक्षा पनि कति लेख्नु ? समीक्षा लेख्दा–लेख्दै आफ्नो मौलिक सिर्जना हराउला भन्ने डर। पोहोर साल कवि श्रीबाबु कार्कीको आत्मपरक निबन्ध ‘सन्दिग्ध शताब्दी’ पढेको थिएँ। कति आह्लादित भएको थियो मन। जीवनलाई पोख्न त निबन्ध जत्तिको अर्को विधा हुन्न होला। उहाँको काव्यात्मक भाषामा लेखिएको जीवन–दर्शन बेजोड लागेको थियो।

कार्कीजीसँग नभेटेको पनि थुप्रै भएछ।

मैले उहाँलाई फोन लगाएँ। हामीले बिहान भेटेर चिया खाने मेसो मिलायौं। निबन्धकार श्रीबाबुजीसँग भेटेर निबन्धको बारेमा गफिन निकै उत्सुक भएँ म।

बेलुकी मनमा अनेक तर्कनाहरू आए र गए। पुस्तक पढ्ने मन भएन। लेख्ने मन पनि थिएन। रेडियोमा पुराना गीत सुन्दा–सुन्दै निन्द्राले झ्याप भएछु। बिहान उठेर नित्यकर्म सकेँ। चिया खाएर श्रीबाबुजीलाई फोन गरेँ।

हामीले कौशलटारमा भेट्ने वाचा गर्‍यौं। म घरबाट निस्केँ। निस्केको पाँच मिनेटमै असामान्य परिस्थितिको सामना गर्नुपर्‍यो। मैले जे सोचेको थिएँ, त्योभन्दा ठिक उल्टो भयो परिस्थिति। विपरीत दिशाको गल्लीबाट हुइँकिँदै आएको मोटरसाइकलले मलाई नमज्जाले ठक्कर दियो। म भुइँमा पछारिएँ। केहीबेर त मैले केही भेउ नै पाइनँ। जब म नर्मल अवस्थामा आएँ, अनि सडकबाट बल्ल उठेँ। त्यतिखेर मलाई धक्का दिने बाइक र मान्छे फरार। यस्तो लाग्यो मानवीयता मरेछ।

गल्ती गर्नेले त कम्तीमा उठाइदिने धृष्टता त राख्नुपर्ने। अहँ, मेरो मात्र अपेक्षा भएर के गर्नु। यसो साइड लागेर बसेँ पेटीमा। एकजना मर्निङ वाकमा आउने सज्जनले मेरो बाइक उठाएर साइड लगाइदिए। अनि प्रहरीकोमा जाऊँ भनेँ। मलाई प्रहरीकोमा भन्दा नि उपचारतिर जानु जरुरी थियो। श्रीबाबुजीलाई सामान्य एक्सिडेन्टमा परेको सूचना दिएँ, सँगै नजिकको एक भाइलाई पनि कल गरेर बोलाएँ। उति साह्रो पोलेको थिएन घाउ। फेरि कल आयो कार्कीजीको। जडीबुटीमा भेटियौं। एक्सिडेन्टको कथा सुनाएँ र पठाउ गरेर अस्पताल लागेँ।  

उपचार कक्षमा पुगेपछि बिस्तारै पोल्न पो थाल्यो मलाई। यता पोल्छ, उता दुख्छ, उफ ! दर्दमय समय मेरो। पाइन्ट खोलेर हेरें। धेरैतिर साना ठुला घाउ छन्। स्वास्थ्यकर्मीले एक्सरे गराए। ड्रेसिङ गरेर घाउमा बेन्डेज गरिदिए। घुँडामा घाउ अलिक बढी, अन्त छाला ददारिएको त कति कति। पेनकिलर पनि सिफारिस गरेर एक दिन बिराएर ड्रेसिङ गर्न सुझाए। अँ साँच्चै, मेरो बाइक पनि घाइते भएको थियो। उसको उपचारका लागि मैले सुमन भाइलाई जिम्मा लगाइदिएर आएको थिएँ।

दुर्घटनाले बिरामी परेको शरीर सोफामा पसारिइरहेँ। अनि दिनभरि घाउको चस्कामा रन्थनिएर सोच्न थालेँ। घाउले मलाई आज दुखाइको शाश्वत अनुभूति गरायो। मनमा अनेक सवाल उठे। मानवता मरेको समय हो यो। अरूलाई अनाहक दुःख दिने बेला हो यो। यो याममा कहाँ दया जाग्छ र ? सबैको मनमा हरि मरिसकेको छ। घाउका अनेक कुम्ला बित्थामा दिएर अरूलाई खुसीमा रम्न उद्धत मान्छेको मन कस्तो ! कलियुगको जमाना हो यो– जमानासँगै बदलिएछन् मान्छे। अर्काको दुःखमा दुख्ने मनहरू आज हराएछन्। अर्काको पीडामा मलम बनेर शीतलता प्रदान गर्ने भावना रित्तिएछन्। जन्मदेखि मृत्युको मुखमा नपरुन्जेलसम्म अरूलाई दुखाउँदा खुसी हुनेहरूको बाहुल्य भएको समय रहेछ यो। यस्ता धेरै तर्कवितर्कहरूले मेरो मनमा घर बनाइरहे।

घाउ आफैंमा देख्दा सानो तर त्यसले दिने पीडा कहाँ शब्दमा अभिव्यक्त हुन सक्छ र ? घाउको असर खै कसरी भन्ने र ! तत्काल भोलिसम्म तथा दूरगामी प्रभाव पार्न सक्ने हुँदोरहेछ। यसो सोचेँ, के रहेछ त अर्थ शब्दकोश झिकेँ। पल्टाएँ पाना– ‘फुटेको वा पिलिएको खटिरो’, ‘रगत आउने गरी हतियारबाट लागेको वा कुटपिट, ठक्कर आदिबाट भएको चोट’ भनेर परिभाषित गरिएको रहेछ। यहाँ चाहिँ शारीरिक घाउको मात्र परिभाषा भएजस्तो मानेँ मैले। वास्तवमा मानसिक पनि त घाउ हुन्छ। पीडा हुन्छ। दर्द हुन्छ। अपमान हुनु पनि त घाउ हो। जसले तपार्इंको मानमर्यादा र इज्जत प्रतिष्ठामा आघात पुग्छ। बिछोडिँदाको पीडा पनि घाउ हो, जुन शारीरिक घाउभन्दा गहिरो र पीडादायी हुन्छ।

त्यसैले मलाई लाग्यो– परिभाषित नै चाँहि नगरौं होला घाउको। प्रेमीले वा प्रेमिकाले आफ्नो हुनेवाला पार्टनर छोड्दा पनि त घाउ हुन्छ। मन भरंगित हुन्छ वा दुख्छ। सायद यसैलाई भन्छन् माया। म बहकिएको होइन, हजुरलाई यथार्थसँग साक्षात्कार गराएको। धेरै गाह्रो हुन्छ घाउ हुँदा। हजुरलाई थाहै होला, दुखाइको मनोदशा। कि भुक्तभोगी हुनुहुन्न ? यसो हो भने थाहा हुन्न। म बलियो छु लाग्थ्यो। अनि सोच्थेँ– मलाई केही हुन्न। सम्झनुस् मलाई कहिल्यै केही हुन्न। तर आज मेरो जीवनको दुःखको आरब्ध भएको हो कि के हो ? मलाई दुखिरहेछ।

समय सिकाइकर्ममै अघि बढ्दै जाने हो, जसरी अहिले गइरहेको छ। हिजो सुरम्य थियो समय, आनन्दित थियो यात्रा, व्यस्तताका बाबजुद आफ्नो लयमा लयबद्ध। जीवन चारैतिर उज्यालो लाग्थ्यो अध्याँरोसँग संगत नपरुन्जेल अथवा यसो भनूँ, जिम्मेवारी थाप्लामा नचढुन्जेल। तर अहिले उज्यालोभन्दा जीवनको अँध्यारोले आफूलाई हाबी गराएको छ। भनूँ, घाउ थपेको छ। जिम्मेवारीको थिलथिले घाउ जहिल्यै चहर्‍याउँछ।

रहर र उत्साहमा घाउ लागेको छ। उद्देश्य र भविष्यमा घाउ अवरोध बन्ला भन्ने उत्तिकै डर छ। यथार्थ र कल्पनामा कति विशाल दुरी छ। चिन्ता र चासोले पनि खास अर्थ राख्दोरहेनछ। जीवनले अभाव झेल्नुपरेपछि, मनका रहर मनमै गुम्स्याउनु परेपछि, जीवनका हरपल विभिन्न प्रकारका घाउसँग पौंठेजोरी खेल्न उद्दत हुनुपर्दोरहेछ। त्यसैले मलाई घाउका केस्रा केस्रा केलाउने मन छ।

मान्छे सृष्टिको सबैभन्दा सुन्दर प्राणी। त्यही भएर समानता नभएको होला। बेमेल भएको होला। मानव स्वभाव फरक फरक भएको होला। आफू राम्रो हुन, आफू सुखी हुन, आफू खुसी हुन यही सुन्दर प्राणीले अर्को सुन्दर प्राणीलाई सकस दिन्छ, दुःख दिन्छ अनि घाउ दिन्छ नमिठो। पीडादायी घाउ। अनि आत्मसन्तुष्टिको जीवन जिउँछु भन्छ। तर कहाँ हुनु उसलाई पनि त अर्काले देला नि घाउ। यसैले मानवलाई स्वार्थीको राजा मानिएको होला। यसरी एक मान्छेले अर्को मान्छेलाई स्वार्थले टाढा बनाएको होला। म त कहिलेकाहीं यस्ता घाउ सम्झिँदा मात्र पनि थाकेर लखतरान पर्छु।

हुन त जिन्दगी एउटा बहुआयामिक फाँट हो, जहाँ सुख र दुःखका बाली मज्जैले उब्जाउ हुन्छन्। तपाईंले के लगाउनुहुन्छ, तपाईंको मर्जी हो। कहिलेकाहीं नसोचेको भइदिन्छ। सुखका बालीहरू तपाईंको मेहनत र गोडमेल अनि मलजलले राम्रै हुन्छ। तर भित्र्याउने बेला घाउ असिना बनेर बर्सिन्छ र पाकेको सुखको फसल सबै झारिदिन्छ जिन्दगीले भित्र्याउन नपाउँदै। कहिलेकाहीं सुखका बिउहरू गतिला भएर उम्रन्नन् अनि कहिले समयमै मल पाइँदैन र बालीहरू सप्रन पाउँदैनन् अनि खोस्टारूपी फल घाउ बनेर फलिदिन्छ। मान्छेको जिन्दगीको विडम्बना अद्भुत छ। यस्तै सुखसँग मित्रताको बलियो गाँठो कस्न खोज्दा अनेक प्रयत्नका बाबजुद मित्र पनि घाउ बन्दै मित्रता टुट्ने प्रबलता नकार्न पनि नमिल्ने रहेछ।

 भोगाइका अनगिन्ति शृङ्खला बोकेर जीवनको यात्रा अघि बढाउने मान्छे। अभावका चाङहरू आफ्नै कारण र आफैंले चिन्दै तनावहरू बेहोर्दै बाँच्ने जिजीविषा पाल्ने पनि यही मान्छे। जिन्दगी बडो अजिब छ। भिरैभिरको अभावको यात्रा कठिनतम उस्तै। आवश्यकता पूरा भएको समथर यात्रा सहज। वैभवपूर्ण र सम्पन्न जीवन उस्तै मज्जेदार। जिन्दगीका रंगीन सपना पूरा हुँदाको जिन्दगी पनि उस्तै सुखद र रंगीन।

कसैलाई केको पिर, कसैलाई केको अभाव ! तारेभिरको यात्रा कसैलाई ! कसैलाई स्वप्निल संसारको यात्रा। पात्र र परिवेश मात्र फरक, प्राणी उही। जीवन जिउने तरिका मात्र विविध। अभावका घाउमा पिल्सिएर जीवनका पलहरूसँगै जुध्दै बाँच्न विवश छन् कति। सुखका पलसँग रम्दै र रमाउँदै जिइएका जिन्दगीहरू छन् कति। दुई छाक खान नपुग्ने, धेरै ठाउँमा टालेको मक्किएको लुगा लगाउने कहालीलाग्दा घाउ मनभरि बोकेर अभिशप्त जीवन जिउने छन् कति। चौरासी व्यञ्जन ज्युनार गरेर डकार्दै आलिसान महलमा सुस्ताउने जीवन छन् कति !

मान्छे आरोपको घाउ दिन्छ अरूलाई। अपमानित हुन्छ। अनेक लाञ्छनाको सिकार बन्छ। अपहेलित र तिरस्कृत पारिन्छ। यस्ता मानसिक घाउ अरूलाई थोपर्न मान्छे किन उद्दीप हुन्छ ? किन यति धेरै असहिष्णु बन्छ ? किन अरूको कदर र आदर गर्न जान्दैन वा मान्दैन ? कस्तो समयसँग बाँच्दैछ मान्छे ? यी सबाल मर्मस्पर्शी र हृदयस्पर्शी छैनन् ? किन यस्ता हीनभावले ग्रस्त छन् आजको मान्छे ? कस्तो उदाङ्गो वर्तमान समाज ? मान्छे निष्ठामा छैन वा त्यसरी बाँच्न चाहँदैन ? अहिले मायाप्रेम घृणामा बदलिएकै हो।

मेरो चेतनात्मक अनुभूतिले ठान्छ, मान्छे आफ्नै कारण सकिन्छ। मेरो मनको भित्री तहसम्म यस्ता कुरा गडेर बसेका छन्। म यस्ता कुराले कमजोर र अलिक खुकुलो भएको महसुस गर्छु। यी सबै मैले उठाएका सुपरिचित सवालमा अरूको टिप्पणी कस्तो होला। मन आतुर छ सुन्न।  

मान्छेले आफ्नै जीवनमा अनावश्यक घाउ दिएर आफ्नै अस्तित्वमाथि बलात् अतिक्रमण गर्दैछ, खेलवाड गर्दैछ, अमूल्य जीवनप्रति नानाभाँती नशा लिएर। जिउने आआफ्नै तरिका होलान्, खाने वा दैनिकी आआफ्नै मुनासिब माफिकको लय होला। तर आआफ्नै कारण दुःखका घाउहरू बेसाएर बाँच्न उद्दत छ मान्छे। आज मान्छेको शत्रु मान्छे ! मान्छेको हत्यारा मान्छे ! नैतिकहीन मान्छे ! विवेकशून्य मान्छे ! मानव जीवनलाई असभ्य, दुःखी र बदनाम गराउने पनि यही मान्छे ! कस्तो जंगली विवेक बाबै आजको मान्छेमा ! अहँ, मान्छेले म को हुँ भनेर स्वयम्लाई चिन्न सकेन भन्या।

यो स्निग्ध र सुन्दर अनि फूलजस्तै कोमल र सुवासिलो जीवनमा मान्छे अरूको कारण मात्र नभएर स्वयम् आफ्नै कारण घाउ बनाइदिन्छ। कहिल्यै खाटा नबस्ने घाउ। अनावश्यक सोचाइ र कल्पनामा रम्न खोज्दा दुखाइदिन्छ कोमल मन। भोलि के हुन्छ भन्ने चिन्ताले पनि घाउ बनाई हामीलाई पोलिरहेको हुन्छ। अनिश्चित छ भोलि, आजै किन चिन्ता गरेर मन दुखाउनु बेकार। हामीलाई थाहा छ त निम तितो हुन्छ तर उखु गुलियो। निम तितो भएको र उखु गुलियो भएकोमा चिन्ता गर्न छोडौं अनि मात्र घाउ दुख्दैन। चुपचाप बाँचौं वर्तमानमा। यसैमा जिन्दगीको सार्थकता छ।

प्रकाशित: ८ मंसिर २०८१ ०७:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App