६ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

रहर आफ्नाआफ्ना

पुस्तक

केही समयअघि नै मेरो घरसम्म आइपुगेको थियो, ‘रहर आफ्नाआफ्ना’ । विविध कारणले समय दिन सकेको थिएन। दशैंको विदाका लागि खुराक खोज्ने क्रममा ‘रहर आफ्नाआफ्ना’ भेटियो। मैले यसैलाई दशैं खुराक बनाएँ। मुक्तकीय महिमाले मेरो दिमाग रङ्गमगाइरह्यो, मैले मुक्तकसङ्ग्रह ‘रहर आफ्नाआफ्ना’  पढिरहेँ। पढिरहँदा आनन्द आयो।

उक्त आनन्दलाई अक्षरमार्फत अभिव्यक्त गर्न रहर जाग्यो। यसको एउटै उद्देश्य छ, पठन संस्कृतिको विकास र स्रष्टालाई प्रोत्साहन। यसरी मेरा अभिव्यक्तिहरूमा मुक्तकको सैद्धान्तिक र लीला रेग्मीको परिचय सहायक आधार हुन् भने ‘रहर आफ्नाआफ्ना’ मुक्तकसङ्ग्रह मुख्य आधार हो। यसैका जगमा टेकेर परिचर्चा गर्ने जमर्को गरेको छु।

मुक्तकको परिचय

मुच् धातुमा त प्रत्यय लागेर (मुच् +त = मुक्त) मुक्त शब्द बन्याे र मुक्त शब्दमा क प्रत्यय लागेर (मुक्त + क = मुक्तक) मुक्तक शब्द बनेकाे हाे। मुक्तक स्वतन्त्र काव्य विधा हाे। छाेटाे भइकन पनि चाेटिलाे हुने भएकाेले मुक्तक लाेकप्रिय हुँदै आएकाे छ।

यसरी सर्वत्र रुचाइएकाे कविताकाे उप विधा (मुक्तक) काे रचना शुरुवाती अरेबियन भाषाबाट भएकाे मानिन्छ तापनि संस्कृत भाषामा प्रयाेग भएकाे श्लाेक र फारसी भाषाकाे रुवाइ हुँदै नेपाली भाषामा मुक्तकले आफ्नाे परिचय र आकार ग्रहण ग-याे भन्दा अतियुक्ति नहाेला। प्राचीन कालमा संरचनाका दृष्टिले एक पदीय देखि सात/ आठ पदीय कविताका ढाँचालाई मुक्तक भनिए पनि हाल आएर चार पद ( पाउ) भएकाे AABA काे फर्म्याटमा लेखिएकाे कवितात्मक उपविधालाई मुक्तक भनेर स्वीकार गरिएकाे छ।

यसमा रहेका चार पदमध्ये पहिलो पाउले विषयको उठान, दोस्रो पाउले उठाइएको विषयमा समर्थन, तेस्रो पाउ स्वतन्त्र भएर पनि वातानुकूलित आधारभूमि तयार गर्ने र चौथो पाउले परिणामरूपी मैजारो मार्ने गरी बनेको हुन्छ।

यसरी चार हरफ र तुकबन्दी मिल्दैमा उक्त रचना मुक्तक कहलाई हाल्ने पनि होइन। खास मुक्तकले त भाव र गहिराइको माग राख्दछ। मुक्तक कहलाउन भाव, लघुत्तम संरचना, भाषा शैली, लय, बिम्ब, प्रतीक, अलङ्कार र रस जस्ता तत्वहरूले सिँगारिएको हुनुपर्छ तब मात्रै मुक्तक बनेर आउँछ। अग्रजको एउटा मुक्तक उदाहरणका रुपमा यहाँ राख्ने अनुमति चाहन्छु, 

प्रत्येक पहेँलो धातुलाई सुनको गजुर भन्न मन लाग्छ

प्रत्येक रङ्गिन चरालाई वनको मजुर भन्न मन लाग्छ

चाकडी गर्दा गर्दा यस्तो बानी परिसक्यो अब त

बाटामा कुनै गधा देखे पनि हजुर भन्न मन लाग्छ।

(भूपि शेरचन)

स्रष्टा परिचय

अधिकारीकी छोरी हुँ म घरको रेग्मी थर मेरो

कर्मथलो बाँके जिल्ला सुर्खेत माइती घर मेरो

उत्तरतिर चुरे पहाड दक्षिणमा बागेश्वरी मन्दिर

स्वर्गभन्दा कम्ती छैन कोहलपुर यो शहर मेरो।

लीला रेग्मी

मनकुमारी अधिकारी र समरबहादुर अधिकारीकि सुपुत्रीका रूपमा मिति २०३४/१२/२० गते लेकबेँसी- ४, दशरथपुर सुर्खेतमा जन्मी हुर्की नेत्रलाल रेग्मीसँग विवाह बन्धनमा बाँधिएपछि  काेहलपुरलाई कर्मथलाे बनाएकी लीला रेग्मी नै 'रहर आफ्ना आफ्ना'की सृष्टिकर्ता हुन्। कविता, मुक्तक, कथा लेख्ने उनको रुचि मुक्तकीय भएर साहित्यिक फाँटमा लहलहाएको छ। उनी पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुरकी कार्यसमिति सदस्यको रूपमा आबद्धता रही साहित्यिक कर्म गरिरहेकी छन्।

कृति परिचय

सर्वदा साहित्य सङ्गम, नेपालगन्जबाट प्रकाशित मुक्तक सङ्ग्रह हो -‘रहर आफ्नाआफ्ना’ । यसका श्रष्टा लीला रेग्मी हुन् भन्ने कुरा माथि नै चर्चा गरिसकिएको छ। रहर आफ्नाआफ्ना मुक्तकसङ्ग्रहभित्र समेटिएका अधिकांश मुक्तकहरु अ‍ोजिला र खँदिला छन्।

मुक्तकीय संरचनाभित्र कलात्मक प्रस्तुति र शिल्पगत परिष्कारले सबै मुक्तक मुक्तकीला भएका छन्। विक्रम शिशिरको आवरण कला र वसन्तराज अज्ञातको साजिसज्जामा सजिएको कृतिको भूमिका भने नेपालगन्ज क्षेत्रका मुक्तक सम्राट खगेन्द्र गिरी ुकोपिलाुको छ।

स्रष्टाका मुक्तकीय अनुभूतिहरु रहर आफ्ना आफ्नामा पोखिएका छन् भने यो कृति  माता पितामा समर्पण गरिएको छ। २०८० सालमा प्रकाशित यश सङ्ग्रहको मूल्य भने व्यक्तिगत रु।२००र र संस्थागत रु।५००र राखिएको छ।

‘रहर आफ्नाआफ्ना’ भित्रको अन्तर्य

लीला रेग्मीद्वारा रचित मुक्तकहरुको सङ्ग्रह ‘रहर आफ्नाआफ्ना’ भित्र सङ्ग्रहित मुक्तकहरु पढ्ने अवसर पाइयो। सङ्ग्रहित १८६ मुक्तकले विविध विषयलाई समेटेका छन्। विषयवस्तुका हिसाबले विविधता पाइन्छ। मान्छे सामाजिक प्राणी हो। ऊ समाजमा घट्ने हरेक घटनाको हिस्सेदार हुन्छ नै। ऊसँग चेतना छ र घटित घटनाप्रति सकारात्मक वा नकारात्मक प्रतिक्रिया दिन्छ।

यसरी प्रतिक्रिया दिने माध्यम वा शैली भने फरकफरक हुन सक्छन्। कोही गालीगलौजमा उत्रदै सामाजिक सञ्जाल रङ्गाउँछन भने कोही साँघातिक हमलामा उत्रदा कानुनको फन्दामा पर्छन्। तर विवेक भएकाहरुले फरक शैलीमा आफ्ना प्रतिक्रियालाई अभिव्यक्त गर्छन्। यही शैली अबलम्वन गर्दै लीलाले आफ्ना अनुभूति र अनुभवहरुलाई मुक्तक मार्फत पोखिन्। कसैले कथामार्फत त कसैले उपन्यास। कसैले कविता त कसैले गजल। कसैले निबन्ध त कसैले संस्मरणलाई माध्यम बनाएझैँ उनीले मुक्तकलाई माध्यम बनाइन्। विविध विषय समेटेर लेखेका उनका मुक्तकहरुलाई मोटामोटी रुपमा निम्नानुसार वर्गिकरण गरी अध्ययन गरिएको छ

देश प्रेम र बलिदानी

उनका मुक्तकले देशको बर्तमान विद्रुप अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। देश र जनताको अवस्था परिवर्तनका लागि प्राणको आहुती दिने वीर सन्तानहरु र उनीहरुको योगदानमा मोजमस्ती गर्ने राजनीतिक नेतृत्वप्रति मुक्तकले खबरदारी गरेका छन्। वीर सन्तानप्रति सम्मान र नेतृत्वप्रति रोष प्रकट गरिएको देखिन्छ।

हे वीर सहिद १ मातृभूमिका निम्ति ठुलो त्याग गरेर  गयौ

प्राणभन्दा ठुलो देश हो भन्दै देशका लागि मरेर गयौ

तिम्रो रगतमा आज यी भक्षकहरु रजाइँ गर्दै छन्

जननी जन्मभूमि स्वर्गभन्दा प्यारो यो सन्देश छरेर गयौ। ( पृष्ठ: ११)

उत्तरतिर चीनले सगरमाथा नापेको समाचार आउँछ

दक्षिणतिर भारतले सिमाना च्यापेको समाचार आउँछ  

कस्तो अनर्थ हुन थाल्यो हरे स्वर्ग जस्तो हाम्रो देशमा

दिनदिनै यहाँ हुने नहुने कुरा छापेको समाचार आउँछ। (पृष्ठ: १७)

अब देशको सत्तामा युवाशक्ति आउनुपर्छ

थला परेको राजनीतिले निकास पाउनुपर्छ

कति हेर्नू विदेशीको इशारामा दलाल नाचेको

स्वाभिमानी जनलहर अब देशैभरि छाउनुपर्छ।

(पृष्ठ: १३)

संस्कार र अन्धविश्वास

हाम्रो सनातनी संस्कारका केही राम्रा पक्ष छन् त केही सुधार गर्नुपर्ने पक्ष पनि रहेका छन्। वर्तमान परिप्रेक्षमा समाजमा हुने गरेका विभेदका विरुद्ध नयाँ जागरण आएको छ। समान अधिकार र समान काम अनि समान ज्याला जस्ता माग मुखरित भएर आइरहेका बेला पनि सामाजिक संस्कार र मान्यता अनुसार वंश धान्ने छोराले हो। मरेपछि पनि स्वर्गको बाटोका लागि छोरो चाहिन्छ भन्ने मान्यताले गुज्रेको समाज र यही संस्कारलाई टेकेर गरिने अस्वभाविक व्यवहार प्रदर्शनप्रति उनी यसरी रोष प्रकट गर्छिन्

अझै पनि हाम्रो समाजमा पाल्ने छोरा चाहिन्छ रे

छोरीले हुँदैन रे काँधमा हाल्ने छोरा चाहिन्छ रे

पुरुषप्रधान समाज हाम्रो कहिलेसम्म चल्छ होला

छोरी पराइको नासो हो, मर्दा फाल्ने छोरा चाहिन्छ रे

(पृष्ठ: १२)

आज अन्तिम सोमवार देख्छु सबैले मन्दिर धाएको

फेसबुकमै भए पनि रमझम सबैलाई तिज आएको

कसले देख्छ, बुझ्छ ऋण कर्जा हुनेकोभित्री

समस्या बाहिर सबैले देख्ने भनेको हाँसीखुसी लाएको खाएको।

(पृष्ठ: १५)

एक महिना अघिदेखि खानुपर्ने दर भएपछि

आम्दानी नहँदा पनि सुन लाउने रहर भएपछि  

यस्तो तिजले कसरी पतिको आयु बढ्ला र  खै

तडकभडक र प्रदर्शनले भरिएको घर भएपछि।

 (पृष्ठ: १७)

समाजमा देखिने उचनिचले ल्याएको नकारात्मक उतार चढावप्रति नीति शिक्षाको आवश्यकता महशुस गर्दै मुक्तक मार्फत यसरी नैतिक शिक्षा प्रदान गर्ने काम पनि गरिएको छ

अरूको कुरामा धेरै चासो गर्नु राम्रो होइन

बितेका कुरामा गुनासो गर्नु राम्रो होइन

मानव हामी दया र सहयोग गरेको राम्रो हो

दुस्खीलाई ठट्टा गरि हाँसो गर्नु राम्रो होइन।

(पृष्ठ: १३)

राजनीति र नेतृत्व

राजनीति भनेको माऊ नीति हो। सम्पूर्ण नीतिहरू माऊ नीतिबाटै निर्देशित हुन्छन्। नेतृत्व सक्षम र इमानदार भएको खण्डमा राजनीति स्वतस्  

सङ्लिन्छ तर नेपालको राजनीति बुझिनसक्नुको छ। नेताहरूको चरित्र झन् उनीहरू आफैले बुझ्दैनन्।

राजनीति सङ्लिनुको साटो झन् पछि झन् धुमिल हुँदै गएको छ भने नेतृत्व एकपछि एक फस्दै गएको परिदृश्य हेर्न पाइन्छ। सत्ता लिप्सा, नातावाद, कृपावाद, परिवारवाद र झोलेवादमा रुमल्लिएको राजनीतिले जनता निराश भएका छन् भने स्वार्थ समूह उत्साहित भएको देखिन्छ। यस्तो परिवेशले स्रष्टाहरू यही बेथितिकिरुद्ध कलम चलाउँछन्। अहिले बढी लेखिने विषय नै बेथिति भएको छ । यही विषयमा नै लीलाले पनि कलमको निभ निकै खियाएको भेटिन्छ।

जालझेल गरेरै भए पनि माथिको सत्ता चाहिने

रित्याएर देशको ढुकुटी मोज गर्न भत्ता चाहिने

सधैं तानातान सधैं हानाहान स्वार्थ पूरा नभए

नेतालाई विदेशकै डलर, कपडा अनि लत्ता चाहिने

(पृष्ठ: ३१)

देशलाई लुट्न सजिलो पार्ने गणतन्त्र आएर के गर्नु

देशको अवस्था उस्तै छ जनअधिकार पाएर के गर्नु

पुगेपछि कुर्सीमा प्रायस् ले नैतिकता नै बेच्दा रहेछन् 

जनताको नजरबाट खसेपछि जति मोटाएर के गर्नु!

(पृष्ठ: ४१)

तिम्रा झुटा नारा भाषणले केही लछारपाटो लाउने छैन

भ्रष्टाचारी पाखा नलाएसम्म देशले निकास पाउने छैन

जबसम्म कुर्सीका भोका लुछाचुँडी खेल खेलिरहने छन् 

विनाश नै हुने छ देशमा विकासको बिहानी आउने छैन।

(पृष्ठ: ३५)

बलात्कार र दण्डहीनता

विकृत राजनीतिको सहारामा चोरी चाकरी र बलात्कार जस्ता अमानवीय घटनाहरू घटिरहेका छन्। सुरक्षित रूपमा बाँच्न पाउने अधिकारको हनन् हुँदा समेत सरकार निकम्मा भएको छ। यसैको फाइदा उठाएर निर्मला र भागीरथी जस्ता कलिला मुनाहरू बलात्कृतपछि हत्याका शिकार हुनु परेको कहालीलाग्दो दृश्य नाचिरहन्छ। यस्तै यस्तै विद्रुप अवस्थालाई मुक्तकमार्फत यसरी अ‍ौंल्याइएको देखिन्छ

बुझेर पनि किन यस्तो देखावटी प्रेममा पर्ने गर्छन् 

बत्तीको मोहमा होमिँदा जलेर पुतली मर्ने गर्छन्

प्रेमको नाममा हत्या हिँसा बढ्दैछ दिनानुदिन यहाँ

फुल्न नपाउँदै सुन्दर फूल कोपिलामै झर्ने गर्छन्।

(पृष्ठ: ५२)

विविध

विषयमा विविधता भएकै कारण मुख्य विषय बाहेक अन्य विषयहरुलाई एकै ठाउँमा राखेर चर्चा गर्ने जमर्को गरिएकोछ। मुक्तकमा मायाप्रेमका कुरा छन्। कतै निराशताका पहाड उभिएका छन् भने त्यही वरिपरि आशाका दियो पनि बलेका भेटिन्छन्। आमा महात्मेसँगै चुला चौकाका कुरा पनि आएका छन्। साहित्यमा चोरी चाकरी पनि उजागर भएको पाइन्छ। कतै घरपालुवा अ‍ोमेनका व्यथा अ‍ोकलिएको छ। युवाहरू खाडीमा पसिना बगाउनुपर्ने विवशताले ल्याएको झाडी काण्डका घटना मुखरित भएका छन्।

घरखर्च अट्कली गनेर दिन्छन्

दुईचार गाली सधैं भनेर दिन्छन्

पराश्रितको जीवनमा कमाइँ नहुँदा

पाल्नेवालाले मालिक बनेर दिन्छन्।

(पृष्ठ: २६)

 भन्छन् चोखो माया गर्नेहरूले हदै पार गरेको दिन

प्रेमको अमरकथा लेख्दै प्रेमकै लागि मरेको दिन

प्रेमलाई रातो गुलाफको प्रतीक मान्दै विश्वले आज

प्रेमले नै शान्ति जन्माउँछ भन्ने सन्देश छरेको दिन।

(पृष्ठ: ५३)

निष्कर्ष

सुन्दर नगरी कोहलपुरलाई कर्म क्षेत्र बनाएर जीवन जिउने उपक्रममा लीला रेग्मीले गरेका सिर्जनात्मक कोसेली ‘रहर आफ्नाआफ्ना’ मा दशैँ बिताइयो। उनका मुक्तकमा विविधता पाइन्छ भनेर माथि चर्चा गरिसकियो। उनको पहिलो सङ्ग्रह भए पनि सोचाइभन्दा निकै माथि छ।

एकपटक सबैले पढेर रस्वादन गर्न समेत अनुरोध गर्छु। विविध विषयमा रचिएका मुक्तकहरूमा तरकारीमा नुन अलिकति अलिनो भा झैँ विचार पक्ष थोरै कम हो कि भन्ने महसुस हुन्छ। अन्यथा सबै मुक्तक उत्तम छन्। उनको लेखन तथा कृतिगत सफलताको कामना गर्दै उनकै एउटा मुक्तक मार्फत बिट मार्छु

सत्य बोल्न कहाँ सक्छ र मनमा खोट भएको मान्छे

हँसिलो कहिल्यै देखिँदैन भित्र चोट भएको मान्छे

लिन्छ लक्ष्य केही कर्तव्य पालनमा दुस्ख बिर्सिंदै

 सधैं अगाडि नै बढ्छ मनमा अठोट भएको मान्छे।

(पृष्ठ : ६६)

-छविलाल खड्का

प्रकाशित: ४ मंसिर २०८१ १३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App