हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले करिब १० वर्षपछि ‘महजात्रा’ नामक प्रहसनमार्फत आफ्नो प्रस्तुति दिन सुरु गरेका छन्। मिरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजना गरिएको प्रहसन बिहीबारदेखि राजधानीको नेपाल प्रज्ञाप्रतिष्ठानमा सुरु भएको छ।
आगामी मंसिर १८ गतेसम्म चल्ने ‘महजात्रा’ प्रहसनमा मह जोडीसहित कलाकारहरू राजाराम पौडेल, किरण केसी, शिवहरि पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ र दिनेश काफ्ले लगायत हास्यकलाकारले प्रस्तुति दिइरहेका छन्। यसअघिका मह जोडीको ‘यमलोक’, ‘प्यारालाइसिस’, ‘अंशबन्डा’, ‘विज्ञापन’, ‘नेपाल बन्द’ र ‘वडा नं. ३४’ लगायत प्रहसन चर्चित छन्।
कलाकार किरण केसीका अनुसार प्रहसन आगामी मंसिर १, ४, ५, ६, १२, १३, १७, १८ गते प्रज्ञाप्रतिष्ठानमा हुनेछ। पार्किन्सन्स रोगबाट पीडित हास्य कलाकार श्रेष्ठले आफ्नो अभिनय, लेखन र गायनलाई भने निरन्तरता दिइरहेको उनले जानकारी दिए। उनले आफ्नो स्वास्थ्यले साथ दिएसम्म कलाकारिता क्षेत्रमा लागिरहने बताउँदै आएका छन्।
प्रकाशित: ३० कार्तिक २०८१ ११:०४ शुक्रबार