४ माघ २०८१ शुक्रबार
image/svg+xml
कला

विनय-ग्रन्थ लोकार्पण

भूगोल साहित्य समाजले कवि विनय रावलका कृतिहरू समेटिएको कृति विनय-ग्रन्थ लाेकार्पण गरेको छ। समाजका अध्यक्ष विनोद नेपालको अध्यक्षता, वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलकाे प्रमुख आतिथ्य, डा. तुलसी भट्टराई र विनय रावलकी धर्मपत्नी सुलोचना रावलकाे आतिथ्यमा कार्यक्रम भएकाे थियाे।

प्रमुख अतिथि वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले विनय रावलको व्यक्तित्वका विभिन्न पाटा, स्वभाव र आनीबानीका साथै विभिन्न घटनाको स्मरण गरेका थिए।

त्यस्तै डा. भट्टराईले विनयसँगको प्रथम भेटको सन्दर्भ  र त्यसपछिको साथ, सङ्गत र सहकार्यबारे सुनाए। विनय रावल प्रजातन्त्रको एक दरिलो खम्बा थिए भन्दै उनले लोकार्पित कृतिले विनयका विषयमा अध्ययन, अनुसन्धान गर्न चाहने जो काेहीलाई सहयोग पुग्ने बताए।

यस्तै साहित्यकार ध्रुव मधिकर्मीले विनय रावलमा संगठन क्षमता भएका कारण समकालीन मित्रहरूको बारम्बार भेटघाट हुने गरेकोमा उनको आकस्मिक निधनसँगै त्यस्ताे खाले भेटघाट र सम्बन्ध प्रभावित भएको बताए।

विनय-ग्रन्थ डा. तुलसी भट्टराईको सम्पादन र संयोजनमा विनय रावल स्मृति प्रतिष्ठानद्वारा प्रकाशित भएको हो। ४ सय पृष्ठको यस ग्रन्थमा कवितासङ्ग्रहहरू मलाई तिमी आफूजस्तै बनाउ र सपनाको देशमा, लेखहरूको सँगालो समय- प्रवाह तथा नियात्रा टुल्दिदीको देश समेत रावलका चार कृतिका साथै ‘विभिन्न व्यक्तिका दृष्टिमा विनय रावल’ समेतका सामग्री समावेश छन्।

कार्यक्रममा जयबहादुर चन्दले विनय रावल स्मृति प्रतिष्ठानको विगत, वर्तमान र भविष्यबारे जानकारी गराएका थिए।

त्यस्तै उद्धव खनालले राष्टिय वाणिज्य बैंकको कर्मचारीका रूपमा विनय रावलसँगको सहकार्यका अनुभवहरूको स्मरण गरेका थिए।

कार्यक्रममा विनय रावलका दाजु विमल रावल र भाइ वरुण रावलले विनय-ग्रन्थ प्रकाशनका लागि विनय रावल स्मृति प्रतिष्ठान तथा भव्य लोकार्पण कार्यक्रमको आयोजनाका लागि भूगोल साहित्य समाजप्रति हार्दिक आभार व्यक्त गरेका थिए। कार्यक्रममा रावलका पुत्र सुतेज रावलको पनि उपस्थिति थियो।

स्रष्टा राजेश खनालले सञ्चालन गरेकाे कार्यक्रममा समाजका उपाध्यक्ष दिनेशविक्रम थापाले आगन्तुकहरूलाई स्वागत गरेका थिए। 

२०१३ साल कार्तिक २२ गते जन्मिएका विनय रावलको पूर्वोत्तर भारतको साहित्यिक यात्राका क्रममा २०६२ साल जेठ २५ गते सवारी दुर्घटनामा निधन भएको थियो। कार्यक्रम रावलको ६८औँ जन्मजयन्तीको अवसरमा आयोजना गरिएको हो।

प्रकाशित: २५ कार्तिक २०८१ १०:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App