९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

नेपाली चलचित्र आकर्षण बढ्दै, तीन दिनसम्म हल अग्रिम बुकिङ

इन्द्रदेव चलचित्र मन्दिर चितवनको पुरानो सिनेमा हल मध्येको एक हो। यहाँ विगतका वर्षमा नेपाली चलचित्रले हाउस फुल गर्न सञ्चालकलाई कठिन हुन्थ्यो। तर, हिजोआज भने नेपाली चलचित्र हेर्ने दर्शकको भिड थेग्न कठिन छ।

‘दुई वर्ष अघिसम्म दसैँ र तिहारमा पनि खाली हलमा सो सञ्चालन गर्नुपर्दथ्यो,’ इन्द्रदेव चलचित्र मन्दिरका व्यवस्थापक हरी रेग्मीले भने ‘अहिले दर्शकको भिड थामिसक्नु छैन।’ उनका अनुसार चितवनमा नेपाली चलचित्रले हालसम्मकै राम्रो व्यापार गरेका छन्। दसैँ तिहार र छठ पर्वलाई लक्षित गरेर प्रदर्शनमा आएका चलचित्रहरूले निकै राम्रो व्यापार गरेका हुन्।

दसैँको समयमा चलचित्र १२ गाउँ र छक्कापन्जाले दर्शकको मन जित्न सफल भने तिहारको समयमा चलचित्र पूर्णबहादुरको सारङ्गीले दर्शकको मन जितेको छ। नेपाली चलचित्र कोहिनुरपछि यस बर्ष चलचित्र १२ गाउँ, छक्कापन्जा र पूर्णबहादुरको सारङ्गीले हाउसफुलका साथ व्यापार गरिरहेको उनले बताए।

‘अहिले चलिरहेको पूर्णबहादुरको सारङ्गी चलचित्र हेर्न आएका ४५ सय बढी दर्शक फकिएका छन्, उनले भने, ‘टिकट व्यवस्थापन गर्नै कठिन भइरहेको छ।’ इन्द्रदेव हलमा अहिले दैनिक चार शाे सञ्चालन भइरहेको छ। सबै शोमा पूर्णबहादुरको सारङ्गी प्रदर्शन भइरहेको छ। विगतका वर्षहरूमा दसैँ तिहारमा पनि हाउसफुल नहुने हलहरूमा यसपटक तीन चार दिन अघि देखिनै टिकट बुकिङ गर्नुपर्ने अवस्था आएको उनले बताए।

चितवनमा सुविधा सम्पन्न हलहरू रहेका छन्। एउटै हलमा पाँच सय ३३ जना दर्शक अट्ने क्षमता छ। अहिले यी हलहरू तीन दिन अघि देखिनै बुकिङ भएको क्युएफएक्सका व्यवस्थापक विकास पोखरेलले जानकारी दिए। उनले क्यु एफएक्समा बिहान ६ः३० बजेदेखि राती ९ः४५ बजेसम्म ८ सो सञ्चालन हुँदा पनि दर्शकको माग पुरा गर्न नसकिएको बताए।

क्युफएक्स जलमामा ८ सो मध्ये ६ सो पूर्णबहादुरको सारङ्गी, १ सो १२ गाउँ र भारतीय चलचित्र सिंगम २ र भुलभुलैयाले १ सो पाएका छन्। भारतीय चलचित्रमा भन्दा नेपाली चलचित्रमा दर्शकको आकर्षण बढी रहेको पोखरेलले बताए।

चितवनमा ६ वटा फिल्म हल छन्। अहिले सबै हल हाउसफुलका सञ्चालनमा आएको चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले बताए। उनका अनुसार यसरी नेपाली फिल्म चलेको यो पहिलो पटक हो। चितवनमा तिहारपछि हरेक दिन २३ लाखको हाराहारीमा चलचित्रले कारोबार गरिरहेको उनले बताए। पछिल्लो समय दर्शकको साथले नेपाली चलचित्रको भविष्य राम्रो छ भन्ने प्रमाणित गरेको अधिकारीको भनाई छ। पछिल्लो समय नेपाली चलचित्रहरू राम्रो कथावस्तुमा आउन थालेका कारण दर्शकको माया पाएको उनको बुझाई छ।

क्यु एफएक्स सिजी हलका व्यवस्थापक प्रविन कार्कीले धेरै दर्शक टिकट नपाएर फर्किएको बताए। उनले दसैँमा हाउसफुल रहेको हल तिहारका एक दुई दिन खाली भएपनि अहिले झन् भीड बढेको बताए। कतिपय दर्शकले रातकै भएपनि सो थपिदिन आग्रह गरेको उनको भनाई छ।

चलचित्र पूर्णबहादुरको सारङ्गी हेर्न आएका भरतपुर ८ का  धुर्वहरी क्षेत्री टिकट नपाएपछि फर्किए। उनले बिहीबार चलचित्र हेर्न आएका क्षेत्रीले तीन दिनपछिको टिकट काटेर फर्किएका छन्। फिल्मी हलमा आएर टिकट नपाएर फर्किएको पहिलो पटक भएको उनले सुनाए। ‘प्राय जसो फिल्मी हेर्न आउँछु। तर टिकट नपाएर फर्किएको पहिलो पटक हो’, उनले भने ‘नेपाली चलचित्र हेर्नका लागि टिकट नपाउँदा अचम्ममा परेको छु।’ 

प्रकाशित: २२ कार्तिक २०८१ १७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App