२८ श्रावण २०७७ बुधबार
कला

पठन संस्कृतिका पाठक र पुस्तक

काठमाडौं – निशान परियार विद्यार्थी हुन् । एकाधवर्ष अघिसम्म उनी आफ््नै शैक्षिक पाठ्यक्रमका पुस्तक मात्र पढ्थे अचेल पाठ्यक्रम बाहेकका पुस्तक पनि पढ्छन्। ‘अचेल म बाहिरका पुस्तक पनि पढ्छु,’ उनले अनुभव साटे, ‘यसरी पढ्दा अध्ययनकै विषयलाई पनि बृहत् बन्ने रहेछ।’

उनीजस्तै सयरा बिष्ट कोर्सबाहिरका पुस्तक पढ्ने मात्र होइन, पुस्तक लेखेरे अनलाइन प्रकाशनसमेत गर्छिन् । बुटवलका विद्यार्थी नवीन केसी पुस्तक आफूले मात्र पढ्दा एकथरी धारणा जन्मे पनि त्यस्ता पुस्तकको बहस र छलफलमा सहभागी हुँदा धेरै दृष्टिकोण बुझ्न अवसर मिल्ने बताउँछन् । उनीजस्ता नयाँ पुस्ताका पाठकले पठन संस्कृतिको विकासमा सक्रिय संस्था बुकहोलिक्सको ५० औं श्रृंखलाको चकटी बहसमा आफूहरू डिजिटल युगमा पुस्तकसँग नजिक हुँदै गएको अनुभव साटे।

नयाँ पुस्ताका पाठक मात्र हैन उनीहरू भन्दा उपल्लो पुस्ताका शिक्षक शिवराम ढकाल पठनपाठनसँगै पुस्तकका बारेमा थप जान्न बुझ्न पुस्तक बहसमा सहभागी भैरहन्छन् । ‘पठन संस्कृतिले शिक्षालाई बृहत्तर बनाउन मात्र हैन मानिसमा चेतनाको विकास पनि गर्छ,’ उनी भन्छन्।

अर्थशास्त्री पूर्ण टप्पुले पठन संस्कृतिको वृद्धिले बौद्धिक क्षेत्रमा योगदान गर्न सक्ने सम्भावना औंल्याए । लेखक मोहन मैनालीले नपढेका पुस्तकको छलफलमा बस्दा त्यो पढ्न प्रेरणा अझै जाग्ने गरेको अनुभव सुनाए । कवि विप्लव प्रतीकले थपे, ‘किताब पढ्नु भनेको नयाँ संसारमा पुग्नु हो । रसियामा जताततै पुस्तक पढ्ने मानिस भेटिन्छन् । यस्तै  संस्कृति नेपालमा छिट्टै विकास होस भन्ने चाहन्छु ।’

मार्टिन चौतारीमा भएको छलफल कार्यक्रममा चौतारीका रमेश पराजुलीले नेपालमा पठन संस्कृतिको आरोह अवरोहको इतिहास केलाउँदै २००७ सालको प्रजातन्त्र आगमनसँगै फस्टाउन थालेको पठन संस्कृतिलाई पञ्चायती शासनले निलेको बताए । उनले भने, ‘२०१७ सालपछि पुस्तकालय पञ्चायती शासकका लागि खतरा बनेको महसुस गरेर मासिए,’ पराजुलीले भने, ‘राज्यले शिक्षालाई अघि बढाउनुपर्छ भन्ने मान्यता राखेको त देखियो तर पुस्तकालय भने मासिए ।’
सार्वजनिक वृत्तका रुपमा पुस्तकालय रहेकाले पनि त्यहाँ राजनेताहरु गएर बोल्ने, छलफल हुने गर्दथ्यो । पराजुलीले पश्चिमा मुलुकतिर चिया वा कफी पसल सार्वजनिक वृत्तका रुपमा रहने भए पनि नेपालमा पुस्तकालय, चौतारो आदि त्यस्ता स्थानको रुपमा मौलाएको बताए । उनले गरेको अध्ययन अनुसार अचेल एउटा समूहले खोलेको पुस्तकालय बन्द भए अर्को समुदायले खोल्ने प्रवृत्ति रहेको छ।

तर त्यो बेला पञ्चायती शासकले बन्द गराएको पुस्तकालय फेरि जन्मन नै रोक लागेको उनको भनाइ थियो । २०४६ सालको प्रजातन्त्रपछि मार्टिन चौतारी जस्ता संस्थाहरुले पुस्तक प्रकाशन र पठन संस्कृतिको विकासमा योगदान गरिरहेको उनले दाबी गरे । ‘निस्केका पुस्तकले पाठक नपाइरहेको अवस्थामा तत्कालीन पत्रिकामा पुस्तकको समीक्षा गर्न थालियो,’ उनले भने, ‘त्यसपछि नयाँ लेखकका पुस्तक प्रकाशन हुन थाले ।’ बुकहोलिक्सका सञ्चालक मध्येकी एक सगुना शाहले पुस्तक पढ्नुलाई अक्षरमा जन्मेको असीम आनन्द रहेको बताइन् । संस्थामा अहिले १२ हजार सदस्य पुग्नु पठनसंस्कृतिको विकासकै उपज रहेको उनले जनाइन्। छलफलका सहभागीहरूले आफ्नो क्षेत्रबाट हरेकले पठन संस्कृतिको विकासमा सघाउनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: २५ चैत्र २०७४ ११:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App