६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
कला

विश्वबन्धुत्वको सन्देश लिएर राष्ट्रगान यात्री नेपाली भारत यात्रामा

विश्वबन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देशसहित विश्व राष्ट्रगान यात्री रामजी नेपाली भारत यात्रामा निस्केका छन्। सोमबार पोखरादेखि बुटवल हुँदै उनी भारतको देहरादुनतर्फ लागेका हुन्। नेपालीले एक सय ६० देशका राष्ट्रगान गाउँदै आएका छन्। चन्द्र–सूर्य अङ्कित झन्डासहित देहरादुन, दिल्लीलगायत भारतका विभिन्न सहरको यात्रा गर्ने उनले बताए।

“केही समय देशभित्रैका विभिन्न ठाउँ घुमे, अब तीन महिना जति भारतमा रहन्छु”, नेपालीले भने, “राष्ट्रगानमार्फत शान्ति र विश्वबन्धुत्वको भावना जागृत गराउनु मेरो उद्देश्य हो, नेपालको सांस्कृतिक पर्यटनलाई यो यात्राले टेवा पुर्‍याउने मेरो विश्वास छ।”

नेपालीले गत वर्ष पोखराको फेवाताल किनारमा दैनिकजसो राष्ट्रगान सुनाएर विदेशी पर्यटकमाझ आफूलाई प्रस्तुत गरेका थिए।

आफ्नो देशको राष्ट्रगान नेपालीको गलाबाट सुन्दा विदेशी पर्यटकहरू टक्क रोकिएर राष्ट्रगानको सम्मान गरेको दृश्य मन छुने खालको देखिन्थ्यो। अन्य दर्शकले पनि नेपालीले अनेक भाषामा सम्बन्धित देशका राष्ट्रगान गाइरहँदा चाखपूर्वक सुन्थे। अर्कै महादेशमा आफ्नो देशको राष्ट्रगान त्यो पनि विदेशी गायकले गाएको देखेर पर्यटकहरू दङ्ग परे।

कोभिड–१९ महामारीयता बाहिरी देशको यात्रा प्रभावित बनेपछि उनले पछिल्लो समय पर्यटकीय राजधानी पोखरालाई आधार बनाएर सङ्गीत साधना र विश्वयात्राको अभियान अगाडि बढाउँदै आएका थिए। नेपाललाई विश्व बजारसँग जोड्ने र पर्यटन प्रवर्द्धन गर्ने ध्येय लिएर आफू यात्रामा निस्केको उनले सुनाए।

सबै देशका राष्ट्रगान गाउँदै विश्वयात्रा गर्ने लक्ष्य कठिन भए पनि विचलित नभई साधना र कर्ममा तल्लीन रहेको नेपालीको भनाइ छ। विश्वयात्राका क्रममा उनले हालसम्म ११ देश भ्रमण गरिसकेका छन्।

नेपाली दुई वर्षअघि संयुक्त अरब इमिरेट्स (युएई) मा तीन महिना बिताएर आएका थिए। कोभिड–१९ महामारीयता उनको पहिलो विदेशयात्रा त्यही थियो। उनले विश्वयात्राका लागि सहयोगको पनि याचना गर्दै आएका छन्। इष्टमित्र र शुभेच्छुकको सहयोगबाट केही देश पुग्न उनी सफल भएका हुन्।

“शुभेच्छुक सङ्घसंस्था र महानुभावहरूको सहयोगका भरमा म यो यात्रामा छु, मसँग त घुम्न  कुनै स्रोत छैन, सहयोगको याचना गर्दै हिंड्छु, यसरी नै चलेको छ”, उनले भने।

 नेपालीको पहिलो विदेशयात्रा सन् २०१७ मा बेल्जियमबाट सुरु भएको थियो। बेल्जियमसँगै फ्रान्स, स्पेन र नेदरल्यान्डका विभिन्न शहर र सार्वजनिकस्थलमा समेत राष्ट्रगान गाएको उनले सम्झिए।

“आइफिल टावरमा पुगेर फ्रान्सको राष्ट्रगान गाएँ, प्रवासी नेपालीहरूसँगको समन्वयमा म युरोप पुगेको थिएँ”, नेपालीले विगत सम्झिए। उनले चार वर्षअघि पहिलोपटक राष्ट्रगान यात्राका क्रममा भारत पुग्दा चेन्नइदेखि हिमाञ्चल प्रदेशसम्मको यात्रा गरेका थिए।

नेपालीले जुन देश पुग्दा पनि पहिले नेपालको र त्यसपछि मात्र सम्बन्धित देशको राष्ट्रगान गाउने गरेका छन्। सन् २०२५ भित्र एक सय ९५ देशका राष्ट्रगान गाउँदै विश्वका दुई सय ३२ वटै देश पुग्ने उनको लक्ष्य पूरा हुने देखिएको छैन। कोभिड–१९ महामारी, आर्थिक मन्दी आदिले यात्रामा अवरोध आएको नेपालीले बताए।

जस्तै सङ्कट आए पनि नयाँनयाँ देशको राष्ट्रगान सङ्कलन र गायन अभ्यासलाई भने आफूले नछाडेको उनको भनाइ छ। “मैले दायाँबायाँ केही सोचेको छैन, म यसैमा साधनारत छु, राम्रो समयको पर्खाइमा छु, आत्तिएको छैन”, नेपालीले भने।

बागलुङको बागलुङ नगरपालिका–६ भिरलाङ्खुरीमा जन्मिएका नेपालीसँग सबैभन्दा धेरै देशका राष्ट्रगान गाउन सक्ने गायकका रूपमा विश्व कीर्तिमान राख्ने सपना छ। त्योभन्दा बढी बुद्ध र सगरमाथाको देशका रूपमा नेपालको चिनारी देशदेशान्तर फैलाउने चाहना उनमा छ।

नेपालीले ‘गुगल’, ‘युट्युब’ जस्ता माध्यमबाट विभिन्न देशका राष्ट्रगान र तिनका ‘ट्र्याक’ खोजेर गाउने गर्दै आएका छन्। एक सय ९५ देशका राष्ट्रगान र तिनका धून सङ्कलन गरिसकेको उनको भनाइ छ। अनेक भाषाका राष्ट्रगान सही ढङ्गले गाउनु चुनौतीपूर्ण विषय भएको नेपालीको अनुभव छ।

“सङ्गीत, भाषा, उच्चारणदेखि धेरै पक्ष ख्याल गर्नुपर्ने हुन्छ, एउटा राष्ट्रगान गाउन सक्ने हुन लामो अभ्यास र प्रक्रिया पार गर्नुपर्छ”, नेपालीले भने, “सबै भाषाका गीतलाई नेपाली रोमनमा उतारेर गाउने गरेका छु।”  

प्रकाशित: ६ कार्तिक २०८१ १३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App