१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला

लताको सफलताको लहरो

पुस्तक

केही समयदेखि पुस्तकहरूले मलाई गिज्याइरहेको भान भइरहेको थियो। जब मेरा आँखाहरू पुस्तक राखेको ठाँउमा जान्थे, म पुस्तकसँग आँखा जुधाउन सक्दिन थिए। हतपत्त मेरा आँखा अर्कैतिर मोडिन्थे। यस्तो प्रतीत हुन्थ्यो, म कुन अपराधी हुँ र अपराधबोधले मैले आँखा जुधाउन सकिराखेको छैन। हुन पनि पुस्तक लिएर नपढनु, लेखक प्रति बैमानी गर्नु हो। यस अर्थमा प्राप्त पुस्तक नपढ्नु एकप्रकारको अपराध हो भन्दा अतिशयोक्ति नहोला। एकदिन अनायसै लता केसीको लघुकथासङ्ग्रह सफलतामा आएर रोकिएका मेरा आँखाहरूलाई झिमिक्क हुन दिइन पुस्तक फुत्त टिपेर व्यस्तताका बाबजुत पढ्न शुरु गरे। केसीको उक्त लघुकथासङ्ग्रह थिचोलीसकेपछीको पाठकिय दृष्टिकोण अर्थात समालोचना, यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु।

आरम्भ

नेपाली लघुकथाको उन्नयनको क्षेत्रमा योगदान पुर्‍याउनेमध्येमा नछुटाउने नाम हो, लता केसी। उनले विसं २०७६ सालदेखि मात्र लघुकथा लेखनको शुरुवात गरेको भए पनि छोटो अवधिमा नै तीन लघुकथासङ्ग्रह प्रकाशित गरी नारी सष्टामध्येमा सबैभन्दा बढी लघुकथासङ्ग्रह निकाल्ने इतिहास सच्न सफल भएकी छन्।

उनले पठन संस्कृतिलाई योगदान दिने हेतुले फेसबुकपेजमार्फत लघुकथा वाचन, विश्लेषण, समीक्षा गराएर लघुकथाको विकासमा अतुलनीय योगदान पुर्‍याउन आएको पाइन्छ। जसको कारणले साहित्यका अन्य विधामा कलम चलाइरहेका साहित्यकारहरूलाई लघुकथा लेखनमा आकर्षण बढेको मात्र छैन लघुकथाको अध्ययन, लेखन, पठन, विश्लेषण वा रुचि राख्ने जो कोहीलाई पनि सहजता थपेको छ।

२०१७ साल जेठ २७ गते पिता लक्ष्मीबहादुर र माता जान्दवीदेवी खड्का क्षेत्रीको सुपुत्रीको रूपमा भोजपुरको दावामा जन्मिएकी केसी विएसम्मको अध्ययन गरेकी छन्। आफ्नू बिस वर्षे शिक्षण पेशाबाट अवकाशप्राप्त केसीको साहित्यिक यात्रा भने २०३९ सालमा कथा लेखनबाट शुरु भएको पाइन्छ।

यस वीचमा उनले चोटदेखि मृत्युसम्म, दृश्य र सफलता गरी तीन लघुकथासङ्ग्रह प्रकाशित गरिसकेकी छन्। उनले प्रारम्भिक सम्पादन गरेका दिमागको बिर्को, उमङ्ग, आशीर्वाद र शुभाशुं लघुकथासङ्ग्रहहरू साथै संयुक्त सम्पादनमा निस्किएका पाठशालाका लघुकथा भाग १,२,३ तथा हाम्रो लघुकथा पाठशाला स्मारिका (२०७६/२०७८) ले उनको दक्खल सम्पादनमा पनि रहेको पृष्टि गरिसकेको छ।

हाम्रो लघुकथा केन्द्र, नेपालकी संस्थापक / वर्तमान अध्यक्ष रहेकी केसीको साहित्यिक महत्त्वकाङ्क्षा नै लघुकथाको उन्नयन रहेकाले के पृष्टि गर्दछ भने उनको जन्म नै लघुकथाको विकासका लागि भएको हो। हुन पनि उनले नेतृत्व गरेको संस्था हाम्रो लघुकथा केन्द्र र सो केन्द्रद्वारा संचालित फेसबुक पेजले धेरै लघुकथाकार मात्र जन्माएको छैन, थुप्रै लघुकथाको क्षेत्रमा लागेका साहित्यिक व्यक्तित्वहरूलाई सिक्ने, सिकाउने र उत्प्रेरित समेत गरेको छ।

केसीले बिष वर्षको समयसम्म शिक्षण पेसमा अँगालेको अनुभवलाई लघुकथा पाठशाला संचालन गरेर सदुपयोग गरेकी छन्। यस मानेमा उनलाई लघुकथा लेख्न सिकाउने शिक्षिका “लघुशिक्षिका”को उपमा दिंदा फरक नपर्ला।  ज्ञातव्य  छ, त्यही लघुकथा पाठशाला आजको लघुकथा केन्द्र बनेको छ। लघुकथाको क्षेत्रमा नवप्रवेशी लेखकलाई उनले शिक्षिका बनेर लघुकथा लेखनको शिक्षा मात्र दिएकी छैनन् एउटा दिदी बनेर भाइबहिनीहरूको हेरचाह गरे जस्तै नवलेखकलाई प्रोत्साहन र उत्प्रेरणा दिने काम पनि गरेकी छन्। त्यही भएर उनी लघुकथा क्षेत्रमा “लता दिदी”ले पनि चिनिन्छिन्। भनिन्छ, “विद्यार्थीलाई सच्चाइ दिनुले काम गर्ला तर उनीहरूलाई प्रोत्साहन गर्नाले धेरै काम गर्नेछ” । अब उनै केसीको तेस्रो लघुकथासङ्ग्रह सफलताबारे चर्चा गरौं।

अमित घिमिरेले कोरेको एकजना महिलाले तीन पुस्तक बोकेको रङ्गीन आवरण अत्यन्तै आकर्षक छ। जो पनि सफल हुन चाहने वर्तमान परिवेशमा पुस्तकको नाम सफलताले पाठकको सजिलै मन खिच्न सक्छ। केसीको साहित्यिक व्यक्तित्व चिनेका जो कोहीलाई पनि यो आवरणमा उनले तीन लघुकथासङ्ग्रह निकालेर पाएको सफलता इङ्गीत गर्न खोजेको सजिलै बुझ्न सक्छन भने अन्य पाठकलाई यो पुस्तकमा के रहेछ, कस्तो सफलता होला भनेर कौतुहल सृजना गरेको छ।

सरोज बलामीको लेआउट रहेको लघुकथासङ्ग्रहको मूल्य २०० रूपैयाँ रहेको छ। हाम्रो लघुकथा केन्द्र नेपाल, दक्षिणकाले प्रकाशक रहेको छ। “लता केसीका लघुकथामा समकालीन यथार्थको चित्रण” शीर्षक दिएर प्राडा कपिल लामिछानेले लेखेको वजनदार भूमिका वास्तवमा एउटा पुस्तक समिक्षाभन्दा कम ओजको छैन।

राजु क्षेत्री ‘अपुरो’ को शुभकामनापश्चात “नामअनुसार काम” शीर्षक अन्तर्गत डा. शेखरकुमार श्रेष्ठले कौशलपूर्ण तवरमा केसीको व्यक्तित्व र कृत्तित्वमाथि प्रकाश पारेका छन्। ततपश्चात केसी स्वयंको आफ्नू भनाइ हुँदै उनन्तीसौं पेजबाट लघुकथाहरू शुरु भएको पाइन्छ। यस पुस्तकमा बैसाठी लघुकथा छन्। पुस्तकको मूल कथावस्तु सामाजिक यथार्थको सूक्ष्म चित्रण गर्दै समकालीन नेपाली समाजमा देखिएका विकृति, विसंगति, कुरीति, कुसंस्कृति, अनियमितता, पारिवारिक सम्बन्ध तथा असमझदारीका उदाङ्गो पार्नुका साथै राजनैतिक व्यंग्य गर्नु रहेको छ।

लघुकथाहरू पढ्दा उनको नारी प्रधान र नारी सशक्तीकरणमा गाढा रुचि रहेको प्रष्ट हुन्छ। सरल भाषा शैली उनको विशेषता नै देखिन्छ। अफ्ठ्यारो पात्रको नाम, शब्द, विषयवस्तुको छनौट गरेर लघुकथा लेख्दा उत्कृष्ट हुन्छ भन्ने मान्यता राख्नेहरूलाई उनले तेजिलो झापट दिएकी छन्। अधिकांश लघुकथा पढन, पाठन वा वाचनमा सरल, सहज हुने किसिमका रहेका छन्। उनको लेखन शैली खहरे खोलाको उतारचढावभन्दा पनि हिमनदीको जस्तो लगातार एकैनासले वग्ने खालको रहेको पाइन्छ।

विन्दुमा सिन्धु

केसीका अधिकांश लघुकथाहरूले विन्दुमा सिन्धु खिच्न सफल भएको देखिन्छ। लघुकथामा उनको लेखनको उत्कृष्ट शिल्प सहजै झल्किएको छ। घटना, पात्र, लयविधान र अन्तर्वस्तुसँग सम्बन्धित विविध पक्षलाई छुट्याइएको भए पनि परिवेश र आयाममा भने लघुकथाहरूमा उनी चुकेको देखिन्छ। केही लघुकथामा दुई वा सोभन्दा बढी आयाम र परिवेश रहेको देखिन्छ। यसबाट के प्रष्ट हुन्छ भने, उनले कथा क्षेत्रमा पाइला चाल्ने हो भने उनी लामो दौडको घोडा बन्न सक्छन।

शुरुवात र अन्त्य

छोटो आयाम र बान्की परेको बुनोटले भरिभराउ छन् लघुकथाहरू। लघुकथाहरू संवादबाट मात्रै शुरु गर्नुपर्छ भन्ने मान्यतालाई उनले तोड्न खोजेको देखिन्छ। यद्यपि लघुकथाहरू उठान पृष्ठभूमिबाट गरिएको छैन। अचानक घटनामा प्रवेश गरेर लघुकथा सुरु गर्नुका साथै काम गर्दै गरेको अवस्था देखाइएको छ। सबै लघुकथाको उठान र अन्त्य एक वाक्यमा गरेको देखिंदैन। अन्त्य विपरीत झडकेदार हुनुपर्ने मान्यता भए पनि केही लघुकथाले पाठकलाई झड्का दिन सकेका छैनन्। जसले गर्दा अप्रत्यासित तवरबाट कथाको अन्त्य नभएको हो कि भन्ने देखिन्छ। केही लघुकथाका अन्तिम वाक्यले पाठकलाई अचम्म र धेरै समयसम्म तरंग पैदा नगरेका भने छैनन् तर सबै लघुकथा एकरूपता भने देखिदैन।

पात्र, शैली र नाटकीय स्वरुप

लघुकथामा कम पात्र हुनुपर्ने मान्यतामा केसी अडिक देखिन्छ। मानव मात्र होइन मानवेतर पात्र जस्तै पशुपन्छी, सागसब्जी र वनस्पतीहरूले कथामा रौनक थपेका छन्। शैलीगत दृष्टिमा उनले सरल, सहज र सरस वर्णनात्मक शैली प्रयोग गरेको पाइन्छ। विम्ब प्रतीकको कम प्रयोग उनक विषेशता नै हो कि उनी चुकेको हो छुट्याउन सकिएको छैन। कथामा प्रयोग भएको संवाद र नाटकीय स्वरूपले उनको नाटक लेखनमा समेत सम्भावनाको ढोका खोलेको छ भन्दा अतिसयूक्ति नहोला। “लघुकथा एकाकी जस्तै छोटो कथा हुन” भन्ने मान्यतालाई उनका लघुकथाहरूले उद्‌घाटित गरेका छन्। कतिपय लघुकथा नाटकका रूपमा मन्चन गर्न सकिने प्रकृतिका छन् जसले उनको अब्बलता र पृथक शैली झल्काउँछ।

शिक्षा, गहिरो छाप

सबै लघुकथा उत्कृष्ट हुदा हुदै पनि केसीको यो लघुकथाले चाहिं उनको पहिचान बन्यो है भन्ने गहिरो छाप छोड्न चुकेको देखिन्छ। कथाले के शिक्षा दियो वा पाठकको दिमागमा बत्ती बाल्यौ कि बालेन र भन्ने प्रश्नको उत्तर भेट्न हम्मेहम्मे पर्छ। यसका बाबजुत कथा राम्रा वा संदेश दिने खालका भने अवश्य छन।

लघुकथाहरू कस्ता छन्?

केसीका कदम, आरोप, बुझाइ, चेली, दुर्वचन, परिवर्तन, अफसोस, कथा, असमझदारी, वेदना, निःशब्द र सोच लगायतका लघुकथाहरूमा पारिवारिक सम्बन्ध र विवाहलाई बेजोड रूपमा प्रस्तुत गरिएको छ। प्रभाव लघुकथामा गर्भपतनले  नारीमा पर्न गएको प्रभाव र असरलाई सूक्ष्म र मनोवैज्ञानिक रूपमा देखाइएको छ।

भोक, विचित्र, रहस्य, छेपारो, घमन्ड, कर्म लगायतमा जनावर र बोटबिरुवालाई पनि पात्रको रूपमा प्रयोग गरिएको छ। मूल्य, भाग्य, आदर्श, बालापन, दिग्भ्रम र स्वार्थजस्ता धेरै कथा उत्कृष्ट छन्। कुण्ठा, अदृश्य, कला, वृद्धाश्रम, माग, किन, सहयोग, अवस्था, चरित्र, दोष, लाचार, मनस्थिति, बोधक, सन्त्रास, उपदेश,कमजोरी, सभ्यता, परिवेश, बोली, अनुरोध, फरक,मूल्याङ्कन, परिणाम, निर्णय, चासो, कुपात्र, खेल,इच्छा, मान्यता, विजय, फैसला, हल्लैहल्ला, मनोविज्ञान, निर्माण, प्रतिकार र चाहना कथाहरू सरल रूपमा नै राजनीतिक, सामाजिक, शैक्षिक, पर्यावरणीय, मनोवैज्ञानिक र मानवीय स्वभावलाई प्रस्तुत गरेका छन्। कतिपय लघुकथा भने लामो आयामका देखिन्छ जसमा भाग्य, विजय, फरक, दिग्भ्रम, बोधक, छेपारो र स्वार्थलाई लिन सकिन्छ।

निष्कर्ष

निश्कर्षमा भन्नु पर्दा केसीका समग्र लघुकथाहरू विषय, बनोट, बुनोट, स्वरुप, शैली र प्रस्तुतिगत विशिष्टताले भरिपूर्ण छन्। आगामी दिनमा आयाम र परिवेशमा भने लघुकथाकारले कसरत गर्नुपर्ने देखिन्छ। विषयवस्तु, भाषा शैली, पात्र छनौट राम्रो भए पनि पृथक र अभिनव भने नभएको हो कि भन्ने प्रसस्त ठाँउ छ। उनका सबै लघुकथा एकनासमा बगेका छन्। कथा पढ्दा यस्तो लाग्छ, यो कथा हाम्रै परिवार, घर, गाउँ र आँखाको सामु घटेको हो। ठेट नेपाली शब्दको प्रयोग, जनजिब्रोको बोली, अन्य भाषाका शब्दहरूको कम प्रयोग, सरल भाषा शैली र कृल्सट भाषाको कम प्रयोगले उनको पुथक लेखन शैली उद्‌घाटित गरेको पाइन्छ। फरक विषयवस्तुको छनौट, शैलीगत विविधता, सामान्यभन्दा पनि समाजलाई दिशानिर्देश गर्ने जटिल र गम्भीर विषयवस्तु छनौट गरी एउटै उद्देश्य, घटना र परिवेशको परिधिभित्र रहेर समापनलाई अझ झडकेदार बनाउन सके उनको लघुकथाको क्षेत्रमा छुट्टै पहिचान बन्न सक्ने प्राय निश्चित छ। लघुकथाको उन्नयनमा योगदान पुर्याउने उनको साहित्यिक महत्त्वाकाङ्क्षा चाडै पूरा होस् मेरो शुभकामना।

  - रुद्र अधिकारी ‘निर्दोषी’

प्रकाशित: ५ कार्तिक २०८१ ११:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App