१) मुक्तक
पदप्रतिष्ठा जबसम्म थियो धेरै थिए साथी
रिटायर्ड जब भइयो, अहिले शून्य भए साथी
एक्ला एक्लै घरमा झोक्रिएर बस्दैछु हरदम
अस्तित्वका जुँगा मात्र रहे अरू सबै बासी।
२) मुक्तक
बिणा बेसुर भयो तार खुकुलो भयो
आँसुका धाराले गाला भिजेर सार गयो
वेदना भन्दै थियो सङ्गीतलाई के भयो
गीतका हरेक शब्द पूरै नुनिलो हुँदै गयो।
३) मुक्तक
मुहार फेरियो जीवनशैली फेरियो
घर फेरियो ढेरा बसने शैली फेरियो
राता रात महलको आराम सँगसँगै
मानिसले मानिसलाई हेर्ने शैली फेरियो।
४) मुक्तक
चिन्तनमा खोट भएकाहरू जनतालाई दास ठान्छन्
आसेपासे, आफू र आफन्तलाई उनीहरू खास ठान्छन्
आफूलाई अब्ब्ल देखाउन विभिन्न बहानावाजी गर्छन्
जनताका आवाजलाई अनावश्यक वकवास ठान्छन्।
५) मुक्तक
एउटा पाना जीवनको नसकिदै अर्को पाना पल्टाउनुपर्ने
अनगिन्ती कठिनाइसँग जुद्धै समस्या सल्ट्याउनुपर्ने
विडम्बना कस्तो आर्थिक समस्याले ग्रसित छ जीवन
भोक,रोग र शोकसँग लड्दै जीवनका पाना पल्टाउनुपर्ने।
६) मुक्तक
तगारा छन् बाटामा होस पुर्याई आउनु
बीचमा छेक्न सक्छन् होस पुर्याई आउनु
बाध्यताले टाढा भए तर अवश्य भेट हुनेछ
मनमा साहसको उर्जा बोकी अवश्य आउनु।
७) मुक्तक
परिवर्तन र विकासमा फड्को मारे भन्छ मान्छे
अस्तित्व जोगाउन हतियार निर्माण गरे भन्छ मान्छे
दैनिक पड्किने मिसाइलले क्षतविक्षत छ विश्व
अझै उन्नति प्रगतिको ढ्वाङ फुक्दै हूँकार गर्छ मान्छे।
८) मुक्तक
होसमै छु बेहोसीको ओखती किन खुवाउनु
एकदिन निस्कन्छ सत्य कुरा किन लुकाउनु
बर्सौका पीडा र यातनाको साक्षी छ यो मन
शिथिल बनाउन अर्कालाई ओखती किन खुवाउनु।
९) मुक्तक
खुसीले हास्ने ओठहरूमा खडेरी लागेको छ
सुकेर आँखाको पानी रसाउन छाडेको छ
न त दिन आफ्नो जस्तो लाग्छ न त रात नै
अभावको पीडाले जीवन ढल्न लागेको छ।
१०) मुक्तक
व्यवहारले जीवन पाक्तै गएपछि
शरीर शिथिल हुँदै थाक्तै गएपछि
ज्ञान र यथार्थको नजिक पुग्छ मान्छे
संसारिक मोहमाया त्याग्दै गएपछि।
प्रकाशित: १ कार्तिक २०८१ १२:०५ बिहीबार





-600x400.jpg)