२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

पौराणिक पात्र ‘अहिल्या’ काे परिचर्चा

शाश्वत आचार्य स्मृति प्रतिष्ठान, नेपालगन्जले नेपालगन्जमा एक कार्यक्रम बीच किरण (पाैडेल) आचार्यको नवाैं कृति ‘अहिल्या’ उपन्यासकाे परिचर्चा गरेको छ।

कार्यक्रमका प्रमुख अतिथिको मन्तव्य राख्दै समालोचक प्राडा गोपालप्रसाद अधिकारीले स्रष्टाको सिर्जना स्वतन्त्र रहने भएकाले स्रष्टाको रूचि र क्षमता जुन विषयमा छ सोही विषयमा कलम चलाउँदा सिर्जना स्तरीय बन्ने बताए। प्राडा अधिकारीले हाम्रा प्राचीन अवशेषहरूमा पौराणिक र ऐतिहासिक विषयवस्तु रहेको बताए।

नेपाल प्रज्ञाप्रतिष्ठानका प्रज्ञा सभा सदस्य प्राज्ञ महानन्द ढकालले पछिल्लो समय पौराणिक तथा ऐतिहासिक विषयवस्तुमा सुन्दर सिर्जनाहरू आएको बताउँदै पौराणिक कथा र ऐतिहासिक विषयवस्तुमा सिर्जना गर्ने सर्जकहरूले विषय छनौट गर्दा ठूलो सोचविचार गरेर मात्र छनौट गर्नुपर्ने चुनौती रहेको बताए।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य प्राज्ञ शशिराम कार्कीले उपन्यास लेखन आफैमा गम्भीर विषय भएकोले उपन्यासकार गम्भीर हुनुपर्ने बताए।

त्यस्तै समालोचक प्राज्ञ हरिप्रसाद तिमिल्सिना पौराणिक विषयवस्तुमा लेखिएको ‘अहिल्या’  उपन्यासमा उपन्यासकारको मिहिनेत रहेको बताए।

समालोचक चरित्रा शाह ‘अहिल्या’ उपन्यास नारी प्रधान उपन्यास हो। यस उपन्यासमा लैङ्गिक विभेदलाई दह्रो रूपमा उठाइएको छ। यो उपन्यासले नारीवादको वकालत गरेको देखिन्छ।

समालोचक लेकप्रसाद प्याकुरेल अहिल्या उपन्यासको मुख्य पात्र अहिल्या हुनुपर्नेमा गौतम ऋषि मुख्य पात्रकाे रूपमा आएको र यो कृति दुखान्तमा टुङ्गिएको विचार व्यक्त गरे।

कृतिकार किरण आचार्यले पौराणिक ग्रन्थकी पौराणिक पात्र अहिल्या अन्यायमा  परेको महसुस भएकाले यही अन्यायलाई चिर्न अहिल्या लेखेको बताइन्।

कार्यक्रमको सभाध्यक्ष प्राडा जनार्दन शर्मा आचार्याले नेपालगन्ज साहित्यको उर्वर क्षेत्र बन्दै गएको बताउँदै स्तरीय सिर्जनामा ध्यान दिन सर्जकहरूलाई आग्रह गरे।

नवीन अभिलासी, खगेन्द्र गिरि कोपिला, जितबहादुर शाह, धिरेन अनुपम, खेम बगर, चन्द्रावती अधिकारी, भिम प्रज्वल, कोपिला सङ्ग्रौला, शाश्वत आचार्य, असविर रावत, नरेन्द्र स्वार, भिम प्रज्वल लगायतले रचना वाचन गरेको कार्यक्रममा  प्राध्यापक कमान सिङ बोहरा, डा. इन्द्रबहादुर भण्डारी, नरहरिनाथ योगी, भिमबहादुर शाही लगायत तीन दर्जन बढीको उपस्थित रहेको थियो।

उपन्यासकार किरण आचार्यको यो नवौं कृति हो। यसअघि उनका दुई थान उपन्यास जरत्कारू र परशुराम, ‘अनुभूति’ कवितासङ्ग्रह, ‘अस्तित्व’ मुक्तकसङ्ग्रह, ‘क्यान्टोनमेण्ट’ कथासङ्ग्रह, ‘सृष्टिचक्र’ लघुकथासङ्ग्रह, ‘हाम्रा देवदेवी धन र यथार्थ’ गद्यलेखसङ्ग्रह र थारू जातिका एउटा लोककथा थारू भाषामै लेखिएको कथासङ्ग्रह प्रकाशनमा आइसकेको छ।

प्रकाशित: २० आश्विन २०८१ ०९:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App