६ पुस २०८१ शनिबार
image/svg+xml
कला

रमाइलो पर्व रौद्र प्रकृति

विसङ्ति

दसैं नेपालीको महान् पर्व त हुँदै हो, मान्छेको कृत्रिमताविरुद्ध विद्रोह गर्ने प्राकृतिक प्रतीक पनि हो दसैं। यो प्रकृतिसम्मत प्रतीकात्मक उत्सव हो। दसैं वर्षमा दुईपटक आउँछ, वसन्त र शरद् ऋतुमा। वसन्तमा आउने चैते दसैं अनि शरद्मा आउने बडा दसैं। संयोग भनौं वा सुयोग, प्राकृतिक सुन्दरताका दृष्टिकोणले यी दुवै ऋतु विशेष छन्। वसन्तलाई ऋतुराज नै भनिन्छ। सुन्दरतामा वसन्तभन्दा कुनै कोणबाट पनि कम छैन शरद्।

भनिन्छ, कहिल्यै नफुल्ने फूल पनि वसन्तमा फुल्छ, कहिल्यै नबसाउने फूल वसन्तमा बसाउँछ। अरू बेला कहिल्यै नबोल्ने कोइलीले वसन्तमै गीत गाउँछ, अरू बेला अस्वीकृत प्रेम वसन्तमा स्वीकृत हुन्छ। पाखाभरि लालीगुराँस, बारीभरि आरु, फाँटभरि आँप, वसन्तमा प्रकृति अद्भुत शृङ्गारसहित देखापर्छ। त्यही मध्यवसन्तमा चैते दसैं आउँछ।

शरद् ऋतु हेरौं, वसन्तभन्दा कम छैन। दसैं, तिहार, छठजस्ता पर्व यही मौसममा आउँछन्। वसन्तमा हुने हावाहुरी, धुलो, गर्मीबाट शरद् मुक्त हुनेहुनाले मनोहारी सुन्दरतामा शरद् विशेष हुन्छ।

उत्साह–उमङ्गले अद्भुत हुन्छ शरद्। वर्षा ऋतुपछि आउने हुनाले यो ऋतुमा वनपाखा, गाउँसहर अनि बाटाघाटा सफासुग्घर देखिन्छन्। वर्षाको हिलोमैलो हटेर वातावरण सङ्लिने याम हो शरद्। पिँढीभरि आफन्त, मनभरि चाडपर्व, भकारीभरि धान, कोदो, मकै अनि आँगनभरि मखमली। हुन त दुई ऋतु वसन्त र शरद्को के तुलना गर्ने, दुवै प्रकृतिका सुन्दर उपहार हुन्।

वसन्त र शरद् तुलनात्मक रूपमा मनोरमका साथै सुरक्षित ऋतु हुन्। सुन्दर अनि सुरक्षित भएकै कारण पनि यिनै ऋतुमा अनेक जात्रा पर्व मनाइने गरिन्छ। यद्यपि प्रकृतिको लीला अपरम्पार छ। प्रकृति रिसायो भने सारा सुन्दरताको लय एकैछिनमा भङ्ग हुन्छ, वर्षौं जोगाएर हुर्काएको जीवन प्रकृतिले एकैछिनमा तहसनहस बनाइदिन्छ। भर्खरै आएको बाढीपहिरोको परिघटनाले त्यही देखिएको छ।

दसैं नजिकिँदै छ। मान्छेको मनमा कहिले जन्मघर जाऔं, बुबाआमालगायत इष्टमित्रलाई कहिले भेटौं, वर्षभरिको दुःख भुलेर केही दिन रङ्गरमाइलोमा रमौं भन्ने लागिरहेका बेला बेमौसमी वर्षाले जनजीवन तहसनहस बनाइदियो। धेरैले दसैं बिदा हुने दिन कुरेर बसेका थिए, दसैंअघि सक्नुपर्ने कामको मैझारो गर्न मान्छे यात्रामा थिए। नयाँ चामलको टीका लगाउनुपर्छ भन्ने बुझेर खेतभरि धान लहलह गर्दै थियो।

शरद् ऋतुमा आएको एकाएकको अविरल भेलले फुटबल सिक्दै गरेका बालखेलाडीलाई बगायो, दसैंको मुखमा विदेश उड्न काठमाडौं आउँदै गरेका युवाको पाखुरी बगायो, एउटै कोखमा हुर्केका पढाइमा अब्बल दाजुबहिनीलाई भाइटीकाको मुखैमा बगायो, वर्षभरि काम गरेर दसैंमा चार छाक मिठोचोखो खान पर्खेका मुखलाई टहराको टिनमा बसेर मागेको गुहारसमेत नसुनी कठोर भेलले बगायो, दसैंमा करोडौं पाइला थाम्न छाती फुलाएर बसेका निर्दोष सडक बगायो, वर्षभरि पेट भर्छु भनेर आकासिँदै गरेको धान बगायो अर्थात् कतिको जीवन बगायो, कतिलाई टुहुरो बनायो, कतिको अपुताली भयो। जे भयो, सबै दसैंको मुखैमा भयो।

दुर्घटनाले समय हेर्दो रहेनछ, नत्र यस्ता दुर्घटना अलि पर सर्नुपर्ने। दसैंको मुखैमा यस्ता दुर्घटनाले दुनियालाई नरुवाउनुपर्ने। हामीलाई थाहा छँदैछ, जीवन एक दिन दुर्घटित हुने नै हो। दुर्घटनाले हामीलाई कहीं न कहीं पर्खिराखेकै छ। पाइलैपिच्छे घट्न सक्ने दुर्घटनाबाट क्षण क्षण बचेर जीवनलाई अगाडि बढाउने हो। जीवन त्यसैगरी अगाडि बढेकै छ।

आज विश्व विभ्रंश बन्दैछ। जीवन आफूले जोगाएर मात्र जोगिने रहेनछ, नत्र महिनौं बम, बन्दुक, गोलाबारीसहित भएको युक्रेन–रुस युद्धका योद्धा रणमैदानबाट बचेर बुबाआमासँग खुसी साट्न गाउँ जाँदै गर्दा पहिरोमा नपुरिनुपर्ने, भर्खरै लहलह बढ्दै गरेका मुनालाई बाढीले नभाँच्नुपर्ने, राम्रो घर बनाउने सपनासमेत देख्न नसक्ने गरिबकै टहरो नबगाउनुपर्ने। अर्थात् मृत्यु सहज र सोचेजस्तो हुँदो रहेनछ। ठुला ठुला युद्ध जितेका विजेताहरूलाई जीवनका साना परिघटनाले समाप्त पार्न पनि सक्दो रहेछ।

अहिले बाढीपहिरोपीडितको अनुभव हृदयविदारक छ। माथिबाट पहिरो खस्दै गर्दा यात्रुहरूको एउटै पुकार थियो, यो यात्रा पूरा गर्न पाए अरू केही चाहिँदैन। उनीहरूले सोच्दै थिए– हामीलाई दसैं, तिहार, रङ्गरमाइलो केही चाहिँदैन, बाँच्न पाए पुग्छ। भयानक भेलबिच टिनको छाप्रोमाथि बसेर गुहार मागिरहेका ती प्राणीले त्यतिबेला गरिबी, भोक, सुन्दरता, उमेर सबै भुलेका थिए। उनीहरूको एक मात्र उत्कण्ठा थियो– जीवन।

जीवन एक न एक दिन दुर्घटित हुने नै चिज भए पनि जीवनमा असामयिक दुर्घटना नआओस् भन्ने मनोकाङ्क्षा सबैको हुन्छ। उद्धार कुरिरहेका बाढीपीडितहरूको त्यही आकाङ्क्षा थियो। उनीहरूले मृत्युलाई स्वीकार गरिसकेका थिए, झिनो आशासहित अन्तिम लडाइँ लगिराखेका थिए। ओहो ! कस्तो हृदयविदारक दृश्य ! हेर्दाहेर्दै आफन्तलाई पहिरोले पुर्दैगरेको दृश्यको प्रत्यक्षदर्शी हुनुपर्ने विडम्बना। हालसालै घटित घटनाका यथार्थ हुन् यी।

हामीलाई सबैचिज ठिकठाक हुँदा लाग्छ– म उमेरदार छु, मसँग सम्पत्ति छ, मेरो परिपूर्ण परिवार छ, म पढाइमा पनि अब्बल छु, आहा ! मेरो स्वास्थ्य, म ठुलो पदमा छु, पदभएपछि प्रतिष्ठा हुने नै भयो। शरीर, उमेर, सम्पत्ति, परिवार, पद सबै हुँदाहुँदै मात्र एक चिज स्वास्थ्य बिग्रियोस् त, यी सबै चिज निरर्थक लाग्न थाल्छ। त्यतिबेला उमेर, पद, प्रतिष्ठा, सम्पत्ति, पढाइ केही होइनन्, सबैभन्दा ठुलो कुरा स्वास्थ्य रहेछ भन्ने लाग्छ।

कोरोना सङ्क्रमित भएर अस्पताल भर्ना भएपछिको मेरो अनुभव पनि यस्तै थियो। त्यतिबेला बिर्को लागेको चेतना खुलेजस्तो महसुस भएको थियो। अस्पताल बस्दा मलाई सधैं लागिरह्यो– बाँचेर घर फर्कन पाए मलाई केही चाहिँदैन, अहिलेसम्म त केही दुःख पाएकै रहेनछु, अब जति दुःख पाए पनि हाँसी हाँसी समाधान गर्छु, मलाई बचाउने आफन्त नै मेरा भगवान हुन्, उनीहरूको सेवामा जीवनभर लागिरहन्छु, उनीहरूलाई कहिल्यै नराम्रो गर्दिनँ।

अस्पताल बस्दाको मेरो अनुभूति हो यो। जब दुःख अर्थात् दुर्घटनाको नजिकबाट अनुभव हुन्छ, बल्ल जीवनका धेरै रहस्य बुझ्न थालिँदो रहेछ। हाम्रा विभ्रम प्रकृतिले नष्ट गरिदिँदो रहेछ। भनिन्छ, शरीर, उमेर, स्वास्थ्य, सुन्दरता, सम्पत्ति, पदप्रतिष्ठाको घमण्ड कहिल्यै नगरौं। यी सबै क्षणिक चिज हुन्। हिजो छन्, आज नहुन सक्छन्।

सुरक्षित भनिएको शरद् ऋतुमा झुक्याएर आएको बाढीपहिरोले दिएको सास्तीका सन्दर्भमा आएका चिन्तन हुन् यी। नेपाली संस्कृति विश्वमै उत्कृष्ट मानिन्छ। नेपाली संस्कृतिमा पनि पर्वसंस्कृति झनै विशेष छ। यतिबेला एकातिर दसैंको माहोलले छोपिसकेको छ भने अर्कातिर प्रकृतिको रौद्र रूपको त्रास हटिसकेको छैन। त्रासका बिच पनि राष्ट्रिय पर्व दसैंलाई कसरी मनाउने भन्ने योजना बनाउनुपरेको छ।

मान्यजनको आशीर्वाद, निधारभरि टीका र कानमा जमरा। असोज महिनाको शुक्ल पक्षको प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन पूजापाठ र मनोरञ्जन गरेर मनाइने दसैंमा दशमीलाई विशेष महत्त्व दिने गरिन्छ। चाडपर्वका बेला घरकोठा र शरीरको पनि शुद्धि गर्ने चलन छ। दसैं–तिहारअगाडि घर लिपपोत तथा सरसफाइमा विशेष ध्यान दिने चलन छ। फोहोर ठाउँमा लक्ष्मीको बास हुन्न भन्ने मान्यता धार्मिक भावनासँगै स्वास्थ्यप्रतिको सचेतनासँग पनि जोडिएको छ।

हाम्रा चाडपर्व र जीवनशैलीबीच प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ। चाडपर्वका मौलिक सुन्दरतालाई नाश हुन दिनुहुँदैन। यद्यपि चाडपर्वलाई आधुनिक अर्थात् समयसापेक्ष पनि बनाउँदै जानुपर्छ। त्यसै आफ्नो स्वास्थ्य, मन, हृदय र चेतनाको रक्षा गर्ने अवसरको रूपमा चाडपर्वलाई लिनुपर्छ। संस्कृति आफैमा सुन्दर हुन्छ। संस्कृतिका नाममा रहेका विकृतिले संस्कृतिलाई धुमिल बनाउने हुनाले यस्ता विकृति हटाउँदै जानुपर्छ। परिवारको सुख, समृद्धि, विद्या–बुद्धि र सम्पत्तिलगायत भौतिक प्राप्ति तथा आध्यात्मिक शान्तिको कामना गर्दै आस्था र गच्छेअनुसार चाडपर्व मनाउनुपर्छ।

हिजोआज चाडपर्वमा अनावश्यक खर्च गर्ने चलन बढेको छ। हुनेखाने र हुँदा खानेले मनाउने चाडपर्वमा फरक देखिन थालेको छ। आधुनिकताका नाममा चाडपर्वको मौलिकता नै उपेक्षामा पर्न थालेको छ। दिन प्रतिदिन मौलिक संस्कृति र परम्परा हराउँदै गएका छन्। सामान्य ढंगबाट चाडपर्व मनाउँदा पनि हुनेमा देखासिकीका कारण ऋण लिएर भए पनि फजुल खर्च गर्ने चलन बढ्दै गएको छ।

बाढी, पहिरो, भूकम्पका बीच पनि पर्वको मौलिकतालाई जोगाउनु छ। यस्ता संस्कृति हाम्रा पहिचान हुन्, हाम्रा चिनारी हुन्। दसैं हाम्रो संस्कृति हो, तिहार हाम्रो संस्कृति हो। तीज, बुद्ध पूर्णिमा, छठ, उधौली, उभौली, ल्होसार, गौरा, माघी, सिरुवा, इद सबै हाम्रा संस्कृति हुन्।

सबैलाई जीवन्त बनाउने हामीले नै हो। अबको पुस्तालाई पनि वास्तविक संस्कृतिको अनुभव गराउन र पुस्तौंसम्म हाम्रा संस्कृति हस्तान्तरण गर्न प्राचीन सांस्कृतिक धरोहरलाई जोगाउनुपर्छ। संस्कृति के हुन् ? विकृति के हुन् ? पहिचान गर्ने बेला आएको छ। रीतिरिवाज र चाडपर्वको मौलिकता बचाउन सकियो भने हाम्रो वास्तविक इतिहास बाँच्छ।

प्रकाशित: १९ आश्विन २०८१ ०६:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App