२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

डा.रजनी ढकालकाे एघाराैं कृति ‘लैङ्गिकता र नेपाली साहित्य’ लाेकार्पण तथा स्रष्टा सम्मान

कवि, गीतकार, निबन्धकार तथा समालोचक डा.रजनी ढकालको ‘लैङ्गिकता र नेपाली साहित्य’ लोकार्पण भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानको पारिजात हलमा प्रमुख अतिथि, अतिथिसहित वक्ता तथा लेखकबाट सामूहिक रूपमा कृतिको लोकार्पण भएको हो।

मनकुमारी केदार शर्मा ढकाल प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष ई. इन्दु शर्मा ढकालको अध्यक्षतामा सञ्चालित कार्यक्रममा मनकेश प्रतिभा पुरस्कार समर्पण र उक्त ग्रन्थको पनि लोकार्पण तथा विमर्श भएको छ।

गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा गणेशमान गुरुङको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा स्याङ्जाका तीन जना स्रष्टा र अनुसन्धाता डा. महेश्वर शर्मा, प्राडा कृष्णप्रसाद न्यौपाने र कवि मित्रलाल पंज्ञानीलाई पुरस्कृत र सम्मानित गरिएको छ।

मनकुमारी र केदार शर्मा ढकालले २०६५ सालमा स्थापना गरेको उक्त पुरस्कारबाट हालसम्म स्याङ्जाका आठ स्रष्टा पुरस्कृत भएका छन्। यसअघि घनश्याम ढकाल, सुकुम शर्मा, चेतन कार्की, देवीप्रसाद वनबासी र गंगा कर्माचार्य पौडेल पुरस्कृत भएका हुन्।

केही वर्षदेखि विभिन्न कारणले रोकिएको उक्त पुरस्कार समर्पण काठमाडौंमा आयोजित एउटै कार्यक्रममा भएको हो। यसपटक २०७५, २०७९ र २०८१ सालका पुरस्कारहरू समर्पण गरिएका हुन्। बिस हजार नगद राशि, सम्मानपत्र र दोसल्लाबाट स्रष्टाहरूलाई पुरस्कृत र सम्मानित गरिएको छ। हरेक दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कार कोरोनाका कारणले २०७७ सालमा दिन नसकिएको कार्यक्रममा जानकारी गराइएको थियो।

उक्त कार्यक्रममा ’लैङ्गिकता र नेपाली साहित्य’ अनुसन्धानमूलक ग्रन्थबारे प्राडा रमेशप्रसाद भट्टराई र उपप्रा. अमृता शर्माले आफ्नो पाठकीय दृष्टिकोण राखेका थिए। प्राडा भट्टराईले लैङ्गिक चेतनाको विकास घरपरिवारभित्रैबाट हुने बताउँदै लेखकका बुबाले सानैमा दिएको कमला भासिनको पुस्तकको सन्दर्भ जोड्दै स्पष्ट पारेका थिए।

यसैगरी लैङ्गिक अध्ययन मानिसको समग्र विकाससँग जोडिएको अध्ययन भएको र यस्तो दृष्टिकोण राख्न समालोचक सफल भएको विचार भट्टराईले प्रस्तुत गरेका थिए। यसैगरी शर्माले पुस्तकमाथि सूचनामूलक टिप्पणी प्रस्तुत गरेकी थिइन्। पुस्तक लैङ्गिकताको अध्ययनका लागि उपयुक्त सामग्री बनेको पनि विचार प्रस्तुत गरिएको थियो।

प्रमुख अतिथिको मन्तव्यका रूपमा प्राडा गणेशमान गुरुङले आफू पोखरादेखि काठमाडौँ आएर गहन बौद्धिक कार्यक्रममा सहभागी हुन पाउँदा हर्षित भएको र समालोचकले निकै मिहिनेत गरेर नेपाली साहित्यको अनुसन्धान गर्दै अगाडि बढेकोमा खुसी प्रकट गरेका थिए।

पुरस्कार संस्थापकहरू मनकुमारी र केदार शर्माको देहावसानपछि पहिलोपटक उक्त कार्यक्रम भएको थियो। आफ्ना मातापिताले स्थापना गरेको पुरस्कारलाई निरन्तरता दिएर कार्यक्रम सम्पन्न गर्न सकेको खुसी प्रतिष्ठानका अध्यक्ष ई. इन्दु शर्माले प्रकट गरेका थिए।

प्रतिष्ठानका सचिव प्रेम लुइँटेलले सञ्चालन गरेकाे उक्त कार्यक्रममा मनकेश प्रतिष्ठानका बारेमा डा. तर्कन शर्माले परिचयात्मक प्रस्तुति दिएकी थिइन्। त्यस्तै डा.रमेश शुभेच्छुले पुरस्कृत तीन स्रष्टबारे परिचयात्मक मन्तव्य राखेका थिए। कार्यक्रममा प्रतिष्ठानकी कोषाध्यक्ष डा. रजनी ढकालले स्वागत मन्तव्य राखेकी थिइन्।

प्रकाशित: १५ आश्विन २०८१ ११:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App