१० असार २०८३ बुधबार
image/svg+xml
कला

देखाइयाे सूर्यको ‘घामको पर्खाल’

कवि सूर्य लाकोजूको ‘घामको पर्खाल’ कवितासंग्रहकाे हालै एक समारोहबीच लोकार्पण भएको छ।

घामप्रिय कवि लाकोजूको उक्त कृति एक समारोहबीच साहित्यकार प्राडा गोविन्दराज भट्टराई, साहित्यकार मोहन दुवाल, समालोचक प्राडा कुमार कोइराला, ध्रुव मधिकर्मी र कवि लाकोजूले संयुक्त रूपमा लोकार्पण गरेका थिए।

कार्यक्रममा पुस्तकमाथि चर्चा गर्दै समालोचक ध्रुव मधिकर्मीले नेपाली कविता विधामा आफ्नो फरक प्रवृत्ति बनाइसकेका सूर्य लाकजूको प्रस्तुत कविता कृति वर्तमान नेपाली समाजको एउटा बिम्ब पनि हो। असन्तुष्टि र निराशामा बाँच्न विवश देशका युवाहरूको प्रतिनिधि आवाज पनि हो। मानवीय संवेदना र यथार्थबोधी भावनाले सम्पृक्त कविताहरू समेटिएको प्रस्तुत कवितासङ्ग्रह नेपाली साहित्यको पठनीय कृति हो भन्ने विचार पोखे।

त्यस्तै अर्का समालोचक प्राडा कुमार कोइरालाले सूर्यका कविता सरल देखिए तापनि त्यसभित्र गाम्भीर्य हुनु उनको विशेषता भएको मत राखे।

अर्का कार्यक्रमका विशिष्ट अतिथि साहित्यकार मोहन दुवालले लाकोजूका कविता बलशाली रहेको विचार व्यक्त गरे।

सूर्य चम्किलो र उज्यालो छ। उनको साहित्य यात्रा पनि निकै उज्यालो छ। उनको उज्यालो निकै पर पुगेको छ भन्दै समालोचक प्राडा गोविन्दराज भट्टराईले आफ्नो मन्तव्य पोखे।

‘घामको पर्खाल’ कवितासङ्ग्रहमा सङ्गृहीत कविताहरू अध्ययन र मननयोग्य छन्। लाकोजूको कवितासङ्ग्रहमा शासन कौशल, परोपकार, समयसापेक्ष सोच, हार्दिक कोमलता, देशको रक्षा, मानवीय विडम्बना, प्रेमभाव, क्रियाशीलता, आत्मीय सम्बन्ध, स्वच्छ शिक्षा, शोषणरहित समाज, सद्ज्ञान, गरिबी,परिश्रम, विवशता, देशभक्ति, प्रगति, शान्ति, उदारता, उत्साह, धैर्य, सहिष्णुता,संयम जस्ता मानव जीवनसम्बद्ध  विशिष्ट आशययुक्त कविताहरू समावेश छन्।

कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक, अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका तीन दर्जन बढी साहित्यिक कृति प्रकाशित छन्। त्यतिकै सङ्ख्यामा उनले साहित्यिक कृतिको सम्पादन समेत गरेका छन्।

प्रकाशित: १४ आश्विन २०८१ ०९:०३ सोमबार

# # Ghamko parkal # an anthology of poetry